७ श्रावण २०८३, बिहीबार
,
Latest
‘कानून निर्माण तथा सुधार वर्ष’ सफल बनाउन उच्चस्तरीय समिति गठन चलचित्र क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिन सञ्चारमन्त्रीको पहल, सिनेकर्मीसँग विस्तृत छलफल राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनका आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू



अ+ अ-

चितवन । जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको छ ।

भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाको खैरहनी नगरपालिका वडा नं २ स्थित किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रालि, भरतपुर महानगरपालिका वडा नं ८ को मदनकृष्ण मानन्धरको कमर्सियल लेयर्स फार्म र भरतपुर महानगरपालिका वडा नं २३ मा अवस्थित खेमलाल भुषाल र चन्द्र भुषालको कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो ।

यसैगरी भरतपुर महानगरपालिका वडा नं १६ स्थित एजे पोल्ट्री फार्म, भरतपुर २३ का अविशेक रामदामको फार्म, खैरहनी नगरपालिका वडा नं १० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं ३ स्थित ध्रुव अधिकारीको कुखुरा फार्म र खैरहनी नगरपालिका वडा नं ६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लू देखिएको हो ।

ती फार्ममध्ये कँडेल, मानन्धर र भुषालको फार्मलाई अनुगमन गरी त्यसको परिधि क्षेत्रभित्रका पक्षी नष्ट गर्ने निर्णय भएको कार्यालयका अधिकृत प्रभात न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ६ वटा फार्ममा टोलीले अनुगमन गरेर परिधि तय गर्न बाँकी रहेको छ ।

बर्डफ्लू नियन्त्रण समिति चितवनले निर्णय गरेपछि थप ती ठाउँहरूमा पक्षी नष्ट गरिने उहाँले जानकारी दिनुभयो । ती सबै ठाउँको नमूनाको नतिजा बिहीबार आएको हो । जनशक्ति अभावका कारण काममा ढिलाई भएको उहाँले बताउनुभयो । यस अघि जिल्लामा पाँच ठाउँमा बर्डफ्लू देखिएको थियो ।

बर्डफ्लू बढेपछि महानिर्देशकको टोली चितवनमा

जिल्लामा बर्डफ्लू बढेपछि पशु सेवा विभागका महानिर्देशक डा।रामनन्दन तिवारी सहितको विज्ञ टोली यहाँ आएको छ । बर्डफ्लू नियन्त्रण समितिको आज यहाँ सम्पन्न बैठकमा तिवारीले देशभरको बर्डफ्लूको अवस्थाबारे जानकारी दिँदै चितवन थप संवेदनशील बनेको बताउनुभयो ।

हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू देखिएको उहाँले जानकारी दिनुभयो । मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्डफ्लू देखिएको हो । ती जिल्लामा ८८ हजार ८०० पक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको उहाँको भनाइ छ ।

सरकारले दिने राहत रकमको सरदर हिसाब गर्दा आजसम्म रु आठ करोडभन्दा बढी भएको भन्दै उहाँले विभागसँग रु एक करोड २१ लाख मात्रै बजेट रहेको बताउनुभयो । यद्यपी प्रदेश र सङ्घका निकायहरूले राहात रकम उपलब्ध गराउने विश्वास दिलाउँदै यथासक्य छिटो पक्षी नष्ट गर्न निर्देशन दिनुभयो । यसका लागि व्यवसायी, प्रशासन र सरोकारवालाहरूको सहयोगको आवश्यक भएको उहाँको भनाइ थियो ।

बैठकमा पोल्ट्री महासङ्घका उपाध्यक्ष टिकाराम पोखरेलले कुखुरा बिक्री गर्नु पहिला परीक्षणका लागि आवश्यक किट उपलब्ध गराउन अनुरोध गर्नुभयो । रोग फैलिँदै जाँदासमेत सरकारी तवरबाट काममा ढिलासुस्ती भएको भन्दै उहाँले तिब्ररूपमा पक्षी नष्ट गर्न र परीक्षण गर्न अनुरोध गर्नुभयो ।

बैठकले बर्डफ्लू नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा स्रोत साधन परिचालन गरी रोग अन्यत्र फैलिन नदिन सो क्षेत्रको ७ किलोमिटर भित्र रोगको निगरानी जारी राख्ने निर्णय गरेको छ । बर्डफ्लू नियन्त्रण नियमावली २०७८ को नियम ११ अनुसार नष्ट गरिएको पक्षी तथा पक्षीजन्य पदार्थ उत्पादन सामग्रीको हानिनोक्सानी भएको व्यक्तिलाई राहात दिन पशु सेवा विभाग र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा बर्डफ्लू बढेकाले नियन्त्रणका लागि थप जनशक्ति र साधन स्रोतका लागि पशु सेवा विभाग र प्रदेश निर्देशनालयमा अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।

चितवन जिल्लालाई बर्डफ्लू प्रभावित क्षेत्र वा प्राविधिक ९इडिट० समितिले तोकेको निगरानी क्षेत्रबाट पक्षी तथा पक्षीजन्य पदार्थ वा उत्पादन सामग्री र रोग सार्न सक्ने अन्य वस्तुको ओसारपसारमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ बमोजिम प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बजारमा शङ्कास्पद रोगी पक्षीको प्रवेशमा रोक लगाउने प्रयोजनका लागि रोगको प्रारम्भिक यकीन गर्न रेपिड रेष्ट किट परीक्षण गर्ने निर्णय बैठकले गरेको छ ।

नेपालमा विसं २०६५ मा पहिलो पटक बर्डफ्लू देखापरेको हो । त्यसैगरी २०७० सालमा यो रोग भयावह भएको थियो । तत्कालिन समयमा भक्तपुर जिल्लाका सबै पक्षी मारिएका थिए ।

यस वर्ष माघ १४ गते पहिलो पटक मोरङमा रोग देखिएको हो । चितवनमा माघ २८ गते पहिलो पटक रोग पुष्टि भएको थियो । सरकारले बर्डफ्लू देखिएका ठाउँमा नष्ट गरिएका पक्षी र सामग्रीको राहात दिने गर्दछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने मूल्य निर्धारण समितिको बैठकले तोकेको दररेटको ७५ प्रतिशत राहात रकम दिने मापदण्ड अन्तिम चरणमा पुगेको छ । रासस