१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा पर्यटकको चाप बढ्यो



अ+ अ-

गलेश्वर । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ । त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन देखिन्छ ।

विगत दुई वर्षयता कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थलमार्ग दुवैबाट बाक्लो बनेको पर्यटन व्यवसायीले बताएका छन् । विगतका वर्षमा यो बेलामा कोभिडको जोखिमका कारण पर्यटक जान नपाएको भए पनि यस वर्ष घुम्ने मौसम सुरु भएको छ भने कोभिडको जोखिम कम हुँदै गएको छ ।

चैतेदसैँ नजिकिएसँगै मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदान गर्नेको समेत मुस्ताङमा बाक्लो उपस्थिति देखिन्छ । केही दिन मुस्ताङ घुम्ने र तिथिमा पिण्डदान गरेर फर्कने मनसायले २२ जनाको टोली लिएर मुस्ताङ आउनुभएका नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरका देवलाल पौडेलले मुस्ताङ आफूले सोचेभन्दा धेरै सुन्दर रहेको र अहिले पर्यटकको चाप बढेका कारण होटल पाउनै मुस्किल परेको बताउनुभयो ।

मुस्ताङ घुम्नका लागि उपयुक्त मौसम सुरु भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको यहाँ भीड बढ्न थालेको जोमसोमका तीर्थबहादुर शेरचनको भनाइ छ । त्यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा लगाउने तिजी मेलाको रौनक पनि सुरु भएकाले देश विदेशमा रहेका मुस्ताङ्गी पनि जिल्ला फर्कन थालेका छन् ।

मुस्ताङको जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माले गत फागुन २२ गतेबाट मुस्ताङ–पोखरा उडान पुनः सञ्चालनमा आएपछि अहिले दैनिक १५ सम्म उडान भएको जानकारी दिनुभयो ।

एउटा उडानमा १८ जनाको क्षमता रहेकाले हवाई मार्गबाट मात्रै दैनिक साढे दुई सयभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गरिरहेको उँहाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार स्थलमार्गबाट मुस्ताङ छिर्नेको पनि उस्तै भीड छ । केही दिनयता दैनिक दुई हजार बढी पर्यटक बस, जिप र मोटरसाइकलमा मुस्ताङ आइरहेको उँहाले जानकारी दिनुभयो ।

कोभिडका कारण पर्यटक नआएपछि लामो समयसम्म सुनसान बनेको मुस्ताङको पर्यटन र होटेल व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको कागबेनीका होटल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो ।

पाहुनाको आगमन बढेसँगै होटेलमा बास बस्न नपाउन सक्ने भएकाले मुस्ताङ आउन लागेकाले पहिले नै बुकिङ गर्ने क्रम बढेको पनि उहाँको भनाइ छ । होटलमा भित्रिएका पर्यटकमध्ये धेरैको सङ्ख्यामा भारतीय र नेपाली रहेको जानकारी दिँदै गुरुङले अन्य मुलुकका पर्यटक पनि विस्तारै देखिन थालेको बताउनुभयो । पर्यटकको आगमन बढेपछि विगत दुई वर्षदेखि सुस्ताएको मुस्ताङको होटल व्यवसायले पुर्नजीवन पाएको व्यवासायीले बताएका छन् । रासस