२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

५२ वर्षपछि आफन्तको सम्पर्कमा आए गङ्गाबहादुर



अ+ अ-

बेनी । सम्पर्कविहीन भएकोे ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ । घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर भनिने)को मङ्गलबारमात्रै आफन्तसँग भेट भएको हो ।

विसं २००३ मा जन्मिनुभएका गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुग्नुभएको खबर त्यतिबेला परिवारले पाएका थिए । त्यसपछि पनि उहाँ परिवारको सम्पर्कमा आउनुभएन । हालैमात्र स्थानीय युवाले सामाजिक सञ्जालमा गुरुङको तस्वीर राखेका र उहाँले बागलुङ, बेनी, तातोपानीको नाम लिएको जानकारी गराएका थिए । आफ्नो पुख्र्यौली थलो बेनी भएको र आफू त्यहाँ फर्कन चाहेको सन्देश राखेपछि नेपाल रेडक्रस सोसाइटी म्याग्दीले गुरुङको खोजी सुरु गरेको थियो ।

रेडक्रसअन्तर्गत रहेको खोज तथा उद्धार सेवा केन्द्रले गुरुङको अवस्था र जिल्लामा सम्भावित आफन्तबारे खोजी गरेको थियो । खोजीका क्रममा थामडाँडाबाट वर्षौँदेखि आफन्त हराएका परिवार सम्पर्कमा आएपछि गुरुङ र उहाँका आफन्तबीच टेलिफोनमा संवाद गराइएको थियो । आफन्तले झण्डै ६० वटा प्रश्नमार्फत आफन्तको नाम, तत्कालीन गाउँको अवस्था आदिबारे सोधेका प्रश्नमा उहाँले दिनुभएको जवाफले उहाँको यकिन गरेका थिए ।

कैलालीमा स्थानीय प्रतिष्ठित एक व्यक्तिको सहारामा बसोबास गर्दै आउनुभएका गुरुङ थामडाँडाका बलवीर गुरुङका हराएका माइला छोरा रहेको पुष्टि भएपछि रेडक्रस म्याग्दीको समन्वयमा उहाँका भाइका परिवारसँग मङ्गलबार पुनःमिलन भएको छ । गुरुङका भाइका छोरा शेरबहादुर र छोरी विसु गुरुङले रेडक्रस म्याग्दीको समन्वयमा कैलाली पुगेर आफ्ना माइला बुबालाई उद्धार गरी ल्याएका हुन् ।

रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमाल र अधिकृत धनञ्जयकुमार श्रेष्ठसहित रेडक्रसकर्मीको उपस्थितिमा गुरुङको पारिवारिक पुनःमिलन गराइएको थियो । ‘‘पचास वर्षभन्दा बढी समयदेखि परिवारबाट हराएका व्यक्तिलाई आफन्तको जिम्मा लगाइएको छ”, रेडक्रस म्याग्दीका सभापति हमालले भन्नुभयोे ।

साउन अन्तिम साता पूर्णानन्द पाण्डेले सामाजिक सञ्जालमा राखेको सन्देशका आधारमा खोजी गर्दै जाँदा असोज तेस्रो साता पारिवारिक पुनःमिलन भएको रेडक्रसले जनाएको छ । विभिन्न कारणले हराएका व्यक्तिको खोजी गर्ने काम रेडक्रसले गर्दै आए पनि विरलै यस्तो प्रकारको पुनःमिलन सम्भव हुने गरेको रेडक्रस म्याग्दीका शाखा अधिकृत श्रेष्ठले बताउनुभयो ।

घरबाट हराएपछि भाँैतारिएका गुरुङ तत्कालीन समयमा अत्तरियादेखि डडेल्धुराको महेन्द्र राजमार्गमा काम गर्दागर्दै ठेकेदारले पारिश्रमिक नदिएपछि पैदलै हिँडेर कैलालीको मस्यगाउँमा पुगेको गुरुङले बताउनुभयो । त्यहाँ पुगेपछि स्थानीयवासीसँग घुलमिल हुँदै स्थानीय एक जमिनदारको घरमा आश्रय लिएर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले माछा मार्ने पेशा अँगाल्नुभएको थियो । उहाँलाई लिन पुगेका आफन्तलाई गाउँलेहरुले भव्य सम्मानसहित बिदाइ गरेका थिए ।