२५ श्रावण २०८३, सोमबार
,
Latest
१० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिन्छ – ओली



अ+ अ-

लुम्बिनी । (नेकपा एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय टावरको आज उद्घाटन गर्नुभयो ।

तिलोत्तमा नगरपालिका–२ स्थित शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण गरिएको हो । तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो । वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ वार्षिक साढे तीन लाख आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

त्यस अवसरमा अध्यक्ष ओलीले उपलब्ध स्रोत साधनको अधिकतम उपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

उहाँले लुम्बिनी सबैको आँखामा पर्ने स्थान रहेको र त्यसको प्रवद्र्धनका लागि तिलोत्तमाले अघि बढाएका कार्यहरु प्रशंसनीय रहेको बताउँदै यसले नगरपालिकालाई नियमित आम्दानी दिने उल्लेख गर्नुभयो ।

उहाँले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको खुला पोलिथिन निषेध अभियानलाई व्यापक बनाइनुपर्नेमा जोड दिनुभयो । आधुनिक कृषिलाई ध्यान दिए उत्पादन बढ्ने बताउँदै उहाँले भान्सालाई औषधालयको रुपमा विकासगर्न सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

नगर प्रमुख वासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको आम्दानीको स्रोत हुने बताउनुभयो । नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

टावरमा होटल, रेष्टुराँ, कफिशप, डिपार्टमेन्टल स्टोर, लाईब्रेरी, अन्य विभिन्न सेवा केन्द्र तथा दुरदृश्यावलोकन सेवा उपलब्ध हुनेछ । एघार तल्ले उक्त टावर १३४ फिट अग्लो छ । विसं २०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले यस टावरको शिलन्यास गर्नुभएको थियो ।

टावरको भूइँ तलाको क्षेत्रफल तीन हजार ५९५ वर्ग फिट छ । टावर २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको योजना प्रमुख वनले जानकारी दिनुभयो । नगरपालिका र वनवाटिकाको लागत साझेदारीमा निर्माण भएको टावरको लागत रु ११ करोड ४५ लाख हो । टावरसँगै आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि विभिन्न संरचनासमेत निर्माण हुनेछन् । लिफ्ट सुविधासहित बनेको टावरसँगै दुई बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचना निर्माणको काम पनि अघि बढेको छ ।

टावरको उत्तरतर्फ स्विमिङ पुल र अगाडि म्युजिकल फाउन्डेस निर्माण गरिने योजना रहेको नगरपालिकाले जनाएको छ । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहर देख्न सकिने जनाइएको छ ।