१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक आन्दोलनका नाममा पार्टीको एजेण्डामात्रै कहिले सम्म बोक्ने ?



अ+ अ-

काठमाडौ । नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।  बिहीवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तह सम्मको शिक्षा जिवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने उहाँले बताउनुभयो ।

स्थानीय तहहरुले आफ्नो तहको स्रोत र साधन प्रयोगगरी स्थानीय आवश्यकतालाई ध्यान दिई विषय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘अब हामीले हाम्रा नीतिहरुमा परिवर्तन गर्नुपर्छ । राष्ट्रिय शिक्षा नीति अनुसारका विश्वविद्यालयमा भएका कार्यक्रमहरु छन् ।

१२ कक्षा अध्ययन सकेर बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किदैन हाम्रो सबैभन्दा ठुलो चुनौतीको विषय यो हो । आफ्नो स्थानीय तहको स्रोत, साधन झल्किनेगरी स्थानीय तहले शैक्षिक नीति निर्माण गर्नुपर्छ । शैक्षिक क्यालेन्डरलाई चुस्त दुरुस्त बनाउँदै विद्यालय शिक्षा जीवनोपयोगी शिक्षा र विश्वविद्यालय शिक्षा विज्ञ उत्पादन बनाउने शिक्षा बनाउनु चुनौती र आवश्यकता बनेको छ । शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्छ । विश्वविद्यालयहरुलाई प्रविधिमैत्री बनाउनुपर्छ ।’

उहाँले विद्यार्थी संगठनहरुले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । समय फेरिएको उल्लेख गर्दै उहाँले परिवर्तित समयानुकुल संगठनले भुमिका र कार्यशैली बदल्नुपर्ने बताउनुभयो । पछिल्ला दिनहरुमा राष्ट्रिय राजनीतिमा देखा परेका उतारचढावका कारण विद्यार्थी संगठनहरु ओझेल परेजस्तो देखिएको भन्दै उहाँले अब भने संगठनको कामलाई व्यवस्थित गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘पछिल्लो ४ वर्ष यताको राष्ट्रिय राजनीतिको अवस्था, कोभिडको समस्याको कारणले विद्यार्थी संगठनहरु कतै अल्मल्लिएकी भन्ने कुरा स्वभाविक छ । किनकी हामी आफैलाई चित्त बुझ्नेगरी भुमिका निर्वाह गर्न सकेका छैनौँ । तर अब विद्यार्थी संगठनको मुख्य कार्यक्षेत्र भनेको शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय नै हो । कहिकतैँ अल्मल्लिएजस्तो भएको हाम्रो सांगठनिक संरचना, जीवन र कामहरुलाई व्यवस्थित गर्दै अगाडी जानुपर्नेछ ।’

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेकपा(माओवादी केन्द्र) निकट अनेरास्ववियु(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले देशको मुख्य समस्या राजनीतिमा भएकाले विगतमा विद्यार्थी संगठनहरु राजनीतिक विषयमा केन्द्रीत हुनुपरेको उल्लेख गर्नुभयो । तर आगामी दिनमा भने रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्धामा केन्द्रीत हुने उहाँले बतानुभयो । उहाँले भन्नुभयो – ‘विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्ने । यो रचनात्मक र सिर्जनशील आन्दोलन पार्टीको एजेण्डामात्रै बोक्ने आन्दोलन जे बनेको छ । यो कुरा हामीले गम्भिर अनुभुति गरेका छौँ । विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौँ । स्वभावैले पार्टीपनि संकटको अवस्थामा थियो । जटिल अवस्थामा हुँदा पार्टीलाई कहीँ न कहीँ बोक्नुपर्ने हुन्छ, त्यो बोक्यौ पनि तर आजका दिनमा परिस्थिति बदलिएको छ । हामी समाजसँग जोडिएर समाजका जल्दाबल्दा विषयहरुलाई हाम्रो सरोकारका विषय पनि बनाएर लैजान्छौँ र यसलाई रचनात्मक बनाउनेगरी बढी नै मेहनत गछौँ ।’

अध्यक्ष सिंहले आफ्नो संगठनलाई वैचारिक र राजनीतिक रुपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको बताउनुभयो । उहाँले अखिल(क्रान्तिकारी)को विघटित पदाधिकारी, प्रदेश पदाधिकारी र विघटित आयोजक समितिसँगको छलफल र समन्वयमै केन्द्रीय कमिटीलाई पूर्णता दिने बताउनुभयो ।