• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

हतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन



खलङ्गा । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो ।

प्रशासनले एक सूचना जारी गर्दै एक महिनाभित्र आ–आफ्नो नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना प्रकाशित गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो । उहाँका अनुसार प्रहरी कार्यालयमा बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ ।

कोही–कसैले विनाइजाजतका भरुवा तथा एअर गन राखेको भए आगामी चैत २२ गतेभित्र स्वतस्फुर्त रूपमा नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनले सूचित गरेको छ । निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ । रासस