• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन ★   आगामी बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन सांसदहरुको माग ★   नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास ★   ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न ★   विपद् व्यवस्थापनका लागि तीन तहकै सरकार जिम्मेवार हुनुपर्नेमा सांसदहरुको जोड ★   दुबईमा पुन: भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द

दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि



देउखुरी । सरकारले हात्तीपाइले रोग प्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रमअन्तर्गत दाङमा बुधबारसम्म करिब ५० प्रतिशत नागरिकले औषधि खाएका छन् ।

हात्तीपाइले रोग मानिसलाई शारीरिक समस्या गराउने र अशक्त, अपाङ्गता बनाउने एक सरुवा रोग हो । यो सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म तीन लाख ७४ हजार १४४ जनाले औषधि खाएका छन् । जिल्लाका १० वटै पालिकामा आम औषधि सेवन कार्यक्रम जारी छ । यस वर्ष छ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको थियो ।

हालै घोराही–२ रामपुरमा ३३० जनाको नमूना जाँच गर्दा ११ जनामा र देउखुरीको सिसहनियामा ३१४ जनाको नमूना जाँच गर्दा १५ जनामा हात्तीपाइलेको परजीवी भेटिएको थियो । कार्यालयको आँकडाअनुसार हातखुट्टा सुन्निएका २८९, हाइड्रोसिल भएका एक हजार ६१४ र दुवै भएका १३२ जना हात्तीपाइलेका रोगी रहेका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

एक हजार स्वास्थ्यकर्मीहरू औषधि खुवाउन घरदैलोमा रहेका छन् । लगातार छ वर्षसम्म औषधि सेवन गरेमा यो रोगबाट बच्न सकिन्छ तर दाङमा आम मानिसले औषधि सेवन नगरिदिँदा १२औँ वर्षका रूपमा यस वर्ष पनि औषधि खुवाउने अभियान सञ्चालन भएको उहाँले बताउनुभयो । गत वर्ष दाङमा ६४ प्रतिशत नागरिकले मात्रै औषधि खाएका थिए । सबै नागरिकले नियमित औषधि सेवन नगर्दा अभियान नै प्रभावित हुँदै आएको छ ।

सबै पालिकाहरुको पूर्ण विवरण आउन बाँकी रहेकाले अहिलेसम्म ५० प्रतिशतले औषधि खाएको फोकल पर्सन चन्दले जानकारी दिनुभयो । पालिकाहरूले औषधि खुवाउनका लागि एकदेखि दुई हप्ताको समय छुट्याएका छन् । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिमा हात्तीपाइले रोगको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दछ भनेर बुझ्नुपर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो ।

ती लक्षणहरु केही घण्टाभित्र आफैँ हराएर जाने उहाँले बताउनुभयो । आगामी दुई वर्षमा जिल्लाबाट हात्तीपाइले रोगलाई निवारण गर्ने लक्ष्य लिइएको प्रमुख शाहीको भनाइ छ । अहिले पनि जिल्लामा चार प्रतिशतमा हात्तीपाइलेको परजीवी रहेको छ । कम्तीमा दुई प्रतिशतभन्दा तल झार्ने गरी आमऔषधि सेवन कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । रासस