२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँमा माटो पनि बिक्री हुन्छ !



अ+ अ-

काठमाडौं । दसैँको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै । 

नवरात्रको पहिलो दिन रातो माटो बेच्न उनीहरुले दिनभर सडक कुरे । मध्यपहाडी लोकमार्ग भएर आउजाउ गर्ने सवारीका चालक र यात्रुलाई माटो बेचे । 

बागलुङ बजार कटेपछि रातामाटा, मुलपानी, खहरेदेखि अछेतेसम्मै सडक छेउछाउ रातो माटो देखिन्छ । बर्सेनि दसैँमा त्यस आसपासका महिला रातो माटो बेच्न तम्सिन्छन् । लोकमार्ग किनारमा खसेका पहिरा र ढिस्काबाट रातो माटो झिक्छन् ।

घरकै कान्छोबुबाको जग्गाबाट खसेको पहिराबाट माटो झिकेर बेचेको पूजा विश्वकर्माले सुनाइन् । “पहिराको माटो मात्र बेच्न पाइन्छ, अन्त खन्न मिल्दैन”, उनले भनिन्। उनीसहित तीन महिलाले विगत छ दिनदेखि रातो माटो बेच्दै आएका छन् । चामलको थैला बराबरको माटो रु २०० मा बेच्ने गरिएको विश्वकर्माले बताइन् । कसैलाई घटाएर पनि बेच्नुपरेको उनको भनाइ छ । एक जनाको कमाइ दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्म निक्लने गर्छ । 

रातो माटो बेचेर दसैँ खर्च जोहो गर्ने गरिएको सोही ठाउँकी अविसा सुनारले बताइन् । “यहाँबाट नजिकका गाउँदेखि गलकोट, बुर्तिबाङसम्म रातो माटो जान्छ”, उनले भनिन् “गाडीका चालकले माटो बनाएर राख्दिनुस्, हामी लान्छौँ भनेपछि खनेर बेच्न थालेका हौँ, ढुङ्गा चालेर बोरामा भरेर दिन्छौँ ।” त्यस क्षेत्रका कैयन महिला रातो माटो बेचेर दसैँमा मिठामसिनो र लुगाफाटा किन्छन् । सुनारले आफ्ना आमा दिदीहरुले पनि माटो बेच्ने गरेको बताए । फुर्सदलाई सदुपयोग गरेर रातो माटो बेच्ने गरेको उनको भनाइ छ । रातो माटोको खोजी दसैँ, तिहारमा मात्र हुन्छ ।

रातो माटो पाइने भएपछि टाढाका गाउँलेले सवारी चालकलाई किनेर ल्याइदिन भन्छन् । कतिपय यात्रु आफैँले पनि माटो किनेर लान्छन् । चाडपर्वमा घर पोत्न रातो माटोको प्रयोग हुन्छ । पहिलेपहिले झैँ कमेरो र राता माटोले घर रङ्गाउने चलन भने घट्दै गएको छ । 

पक्की घर बन्न थालेपछि लिपपोतमा माटोको प्रयोग कम भएको हो । गाउँमा रहेका पुरानै शैलीका घरमा पनि अहिले सिमेन्ट र रङ लगाउन थालिएको छ । आधुनिक विकासले परम्परालाई ओझेलमा पारिदिएको छ । 

रातमाटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वैकुण्ठप्रसाद सापकोटाले रातो माटो पाइने भएकाले ठाउँको नामै रातमाटा राखिएको बताए । सदरमुकाम माथिपट्टि उक्त गाउँ छ । “यहाँका छोरीचेलीले घर जाँदा रातो माटो लिएर जाने चलन थियो”, अध्यक्ष सापकोटाले भने, “पहिले किनेबेच हुँदैनथ्यो, अहिले कहीँकतै त्यस्तो छ ।”

पहिराको जोखिम हुने भएकाले वन क्षेत्रमा भने माटो खन्न प्रतिबन्ध लगाइएको छ । खतरा नभएका सीमित ठाउँलाई गाउँलेले माटो खन्नका लागि तोक्ने गरेका छन् । बढीजसो पहिरा खसेर थुप्रिएका ठाउँबाट रातो माटो निकाल्ने गरिएको छ ।