१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिद परिवारका घरमा लुटपाट



अ+ अ-

जलेश्वर । डाँकाको एक समूहले आज बिहान यहाँ सहिद परिवारको घरबाट लाखौँको धनमाल लुटपाट गरेको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आज बिहान अन्दाजी ३ बजे चार÷पाँच जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र रू  २५ हजार  लुटेका हुन् ।
    
धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौँमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रण लिइ लुटपाट गरी भागेका थिए । 

लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकामा हतियारले हिर्काएर  घाइते बनाएका थिए ।  जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको  टाउकोमा  ११ वटा टाँका लगाइएकोे र  थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।