२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । 

सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह हुनुहुन्छ । आईतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्धय गोकुलप्रसाद बास्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनु भएको हो । 

पूर्वसञ्चारमन्त्री समेत रहनु भएका सांसद बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस्भन्दै समितिका सभापति भरत शाहको राजीनामा समेत माग गर्नु भयो । उहाँले भन्नु भयो, ‘हामी लोकतान्त्रिक अभ्यासमा छौं । यो हाम्रो प्रणाली मात्रै होईन् जीवन पद्धति पनि हो । र हाम्रा परम्पराहरु, व्यवस्थाहरुको कारणले गर्दा पनि अरुलाई हाम्रा अभ्यासहरुको कारणले पनि अपवादबाहेक लेखा समितिको नेतृत्व सामान्यतयाः संसार भरीनै प्रतिपक्ष दलले गर्ने व्यवस्था छ । यस सम्बन्धमा म ध्यानाकर्षण मात्रै गराउन सक्छु सभापतिज्यूसँग व्यक्तिगत भन्दा पनि आफूले प्रणालीको कुरा उठाउन चाहे । म अनुरोध गर्न चाहन्छु, सन्देश दिन चाहन्छु–अहिलेको सत्ता पक्षलाई लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्ने कुरा । त्यसको अर्थ हाम्रो परम्परागत प्रणाली र मर्यादालाई नभत्काईयोस् भन्ने कुरा चाहन्छु ।’

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाईप्रति ऐक्यवद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गर्नु भयो । उहाँले प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिई राख्न नपाउने बताउनु भयो । सांसद गौतमले भन्नु भयो, ‘संसदीय अभ्यासमा संसद र सार्वजनिक लेखा समितिको भूमिका र यसले सम्पादन गर्नुपर्ने कार्य सम्पादनको क्षेत्रमा प्रमुख प्रतिपक्षको रोल सरकार भएपछि सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने यी दुईटा संस्थाहरुको नेतृत्व र अगुवाईको सन्दर्भमा सैद्धान्तिक अभ्यास र परम्पराको हिसावले नेकपा एमालेका तर्फबाट यी कुराहरु राखि राखेका छौं । त्यस हिसावले चाहे परादर्शिताको, चाहे जवाफदेहीताको कुरा गर्नुहुन्छ भने सरकार एउटा अथोरिटी हो भने त्यसलाई संसद वा सार्वजनिक लेखा समितिको ठाउँबाट चेक एण्ड ब्यालेन्स गर्ने विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउनका निमित्त त्यसको अगुवाई र नेतृत्व प्रमुख प्रतिपक्षले गर्नुपर्छ भन्ने कुरा म यहाँ दर्ज गर्न चाहन्छु । दोस्रो कुरा प्रमुख प्रतिपक्षको रचनात्मक भूमिकाको माग भईरहेको बेलामा हाम्रा अभ्यास र परम्परालाई फलो गरेर जानु पर्दछ ।’

यता, सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिनु भयो । उहाँले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ समेत दिनु भयो । सभापति शाहले आफू २०५६ सालदेखि संसदमा रहेको तर समितिका विगतका सभापतिहरुले राजीनामा नदिएको प्रसंग उल्लेख त्यसै गरेर अघि बढने धारणा समेत राख्नु भयो ।

सभापति शाहले विपक्षले सो कुरा उठाउनु धर्म भएको भन्दै त्यसले प्रजातन्त्र सुदृढ भएर जाने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, ‘म २०५६ सालबाट छु–यहाँ । सायद राजीनामा गरेको मलाई थाहा छैन । मन्त्री भएपछि छोडेको तर राजीनामा गरेको थाहा छैन मलाई । तर सुन्दाखेरी सभापति विपक्षबाटै भएका छन । यसबारे मलाई धेरै भन्नु छैन । यो विषयको उठान गर्नु विपक्षको धर्म हो । यसले प्रजातन्त्र सुदृढ हुन्छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

समितिका सभापति शाहले सो सम्बन्धमा संसदमा कुरा उठाउन पनि एमालेका सांसदद्धय बास्कोटा र गौतमलाई सुझाव दिनु भयो । उहाँले यस्ता विषयहरु कुरा उठाउन विपक्षहरुको धर्म भएको टिप्पणी समेत गर्नु भयो ।