५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा ‘सुपरम्यान जिपलाइन’



अ+ अ-

गण्डकी । पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । माछापुच्छ्रे पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै चाँदीजस्तै टल्किएका हिमालको दृश्यले स्वदेशी एवं विदेशीको ध्यान पोखरामा खिच्ने गरेको छ । साहसिक पर्यटनका जिपलाइन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प आदिले साहसिक पर्यटनमा विशेष रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्य बनेको छ । 

साहसिक पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ विश्वकै भिरालो सुपरम्यान जिपलाइन हालै सञ्चालनमा आएको छ । जिप लाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्राण्ड ‘जिपफ्लायर’सँग आवद्ध हाइग्राउण्ड एडभेन्चर प्रालिले सुरुआत गरेको हो ।  भिरालो र छिटो जिपलाइनमा सुपरम्यान जिपलाइन खेलको सुरु गरिएको संस्थाका प्रमुख सञ्चालन अधिकृत(चिफ अपरेटिङ अफिसर) दिनेश महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन् २०१० मा नेपालमै पहिलो पटक जिपलाइनको सुरुआत गरेको हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकपछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन थालेको हो । सुपरम्यान जिपलाइन सुतेर गरिन्छ ।

“समुद्री सतहदेखि एक हजार ५५० मिटरको उचाइमा रहेको सराङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६०० मिटर दूरी छ”, उहाँले भन्नुभयो, “यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अन्य नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘विश्वकै भिरालो जिपलाइन’ का रुपमा दर्ता गर्न आवेदन दिएका छौं ।”

विश्वकै लामोमध्येको एक हजार ८५० मिटर दूरीको सुपरम्यान जिपलाइनमा पार गर्न  औसत १४० किमीप्रति घण्टाको गतिमा अधिकतम समय एक मिनेट लाग्छ ।जिपलाइनमा जाने पर्यटकले पोखराबाट नागबेली बाटो काट्दै सवारी साधनमार्फत करिब ४५ मिनेटको यात्रामा सराङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा सहर अनि सराङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालको दृश्यावलोकन गर्न पाउछन् । ३५ देखि १२० किलो तौलका साथै १२ वर्षदेखि माथिका व्यक्तिले जिपलाइन खेल्न सक्दछन् । तथ्याङ्क अनुसार बेलायतकी ९४ वर्षीय जुन स्कट अहिलेसम्म जिपलाइन गर्ने सबै भन्दा ज्येष्ठ नागरिकका रुपमा रहनुभएको सञ्चालन अधिकृत महर्जनले जानकारी दिनुभयो ।

“जिपलाइनलाई सुरक्षित गराउनका लागि हरेक दिन सबै उपकरणको सुरक्षा जाँच गरिने र हरेक महिना मर्मत गरिन्छ”, उहाँले भन्नुभयो,“हरेक वर्ष जिप फ्लायर अमेरिकाका प्राविधिकबाट सुरक्षा परीक्षण (सेफ्टी अडिट) गराउने गर्दछौं ।”

जिपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस् जिपलाइनको विश्वविख्यात, उत्कृष्ट र सुरक्षित रहेको जनाउँदै उहाँले कम्पनीबाट प्रयोग गरेको ट्रली, हार्नेस, वायर लगायतको  प्रविधि नेपालमा अरु कुनै जिपलाइनमा नभएको दाबी गर्नुभयो ।

नेपालीका लागि रु छ हजार ५०० र विदेशीका लागि आठ हजार ५०० कायम गरिएको सुपरम्यान जिपलाइनमा फोटो भिडियो र टिसर्ट प्याकेज लिन अतिरिक्त एक हजार ५०० राखिएको छ । अगाडि माछापुच्छ्रेको दृश्य तथा तल हेम्जा फाँटको ग्राउण्ड स्टेशन रहेको र हिमालको चिसो झोँकसँगै हुत्तिन पाउनु यस जिपलाइनको विशिष्टता हो ।

जिपलाइनकै ग्राउन्ड स्टेसन हेम्जामा क्यान्टिलिभर ब्रिजको नमूनामा बनाइएको टावरमा बन्जी गर्ने व्यवस्था मिलाइएको छ । नेपालकै पहिलो टावर बन्जीका रुपमा रहेको यहाँ जोडिसँगै अङ्गालो मारेर गरिने टेन्डम बन्जी पनि सञ्चालनमा छ । जिपलाइन र बन्जी गर्ने पर्यटकलाई लाने र लैजाने व्यवस्था पनि कम्पनीले नै गरेको र यसमा अतिरिक्त शुल्क नलाग्ने जानकारी दिँदै महर्जनले हेम्जामा छिट्टै विभिन्न साहसिक खेल थप्ने योजना रहेको बताउनुभयो ।

नेपाल आउने युरोपियन, अष्ट्रेलियन, कोरियन आदि देशका अधिकांश विदेशी पर्यटक साहसिक पर्यटनका लागि आउने गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो ।

“नेपालमा साहसिक पर्यटनका गतिविधि पर्वतारोहण, पदयात्रा, हाइकिङ, र्‍याफ्टिङ, कायकिङसँगै प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट आदिले पर्यटकलाई आकर्षित गरेका छन्”, उहाँले भन्नुभयो,“यी साहसिक पर्यटनका गतिविधिले पर्यटकलाई लोभ्यानुका साथै उनीहरूको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।”

पछिल्ला समयमा नेपालीमा पनि घुमफिर गर्ने संस्कृति बढ्दै गएको जनाउँदै उहाँले साहसिक पर्यटनमा पनि आन्तरिक पर्यटकको उत्तिकै आकर्षण बढ्दै गएको बताउनुभयो ।