९ मंसिर २०८१, आईतवार
,
Latest
चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटक घटे आईपीएल अक्सनः रबाडा १० करोड ७५ लाखमा गुजरातमा अनुबन्धित आईपीएल अक्सनः अर्शदीप सिंहलाई पञ्जाव किंग्सले १८ करोडमा किन्यो खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती चिकित्सा शिक्षा आयोगको बैठक: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कोहलीको ३०औँ टेस्ट शतक, डन ब्राडम्यानलाई पछि पारे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लै देखिन थाले बाघ



अ+ अ-

चितवन । मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नुभयो ।

 निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट नजिकै उहाँ चढेको जिप र बाघको जम्काभेट भयो । बाघको गतिविधिलाई उहाँले नजिकबाट नियाल्ने अवसर पाउनुभयो । उहाँसँगै उक्त जिपमा रहेका अरुले पनि यो अवसर प्राप्त गरे । एकसिङ्गे गैँडाका लागि प्रख्यात निकुञ्जमा भाग्यमानीले मात्रै बाघ देख्न पाउने भए पनि यतिबेला निकुञ्ज घुम्न जाने धेरैले बाघ देखेको बताउने गरेका छन् ।

 घिमिरेले भन्नुभयो, “अहिले निकुञ्ज घुम्न जाने धेरैले बाघ देख्ने अवसर पाउँछन् ।” विगतको भन्दा बाघको चहलपहल अहिले बढेको उहाँको भनाइ छ । निकुञ्जभित्र पर्यटकीय जिपका चालक वीरजङ्ग मुसहरले दसैँको बेला एकै दिन दुई ठाउँमा बाघ देखेको बताउनुभयो ।

 असोज २८ गते आफू र जिपमा रहेका पर्यटकले भिम्ले पोष्ट नजिकैको नन्दभाउजु तालमा पानी खान जाँदै गरेको बाघ देखेको बताउनुभयो । त्यसै दिन रानीखोलाको बीच बाटोमा पनि बाघ देखिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन/चार वटा जिपमा रहेका पर्यटकले बाघ देख्न पाउनुभयो ।” निकुञ्जभित्र झाँडी र गर्मी बढेकाले बाघ खुल्ला ठाउँमा आएको उहाँको भनाइ छ । विगत १९ वर्षदेखि निकुञ्जमा जिप चलाउँदै आउनुभएका मुसहरले यतिबेला बाघ हेर्ने राम्रो अवसर भएको बताउनुभयो ।  

सौराहा नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा गत महिना एक व्यक्तिलाई बाघले खाएपछि समाउने क्रममा राखिएको क्यामराको ट्यापिङमा पाँच वटा बाघ देखिएका थिए । वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले मानिस खाने बाघ समाएपछि पनि घुम्न जानेहरुले बाघ देख्ने गरेको बताएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हात्तीमा घुम्न जानेले बाघ देखेको बताएका छन् ।” उच्च सावधानी अपनाएर घुम्न वनले अनुरोध गरेको छ । सो वनमा जिप र हात्तीमा सफारी गर्ने गरिन्छ । पैदलरुपमा पनि पर्यटक वन र निकुञ्जमा घुम्ने गर्दछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले केही दिनयता बाघ देखिएको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो ।

 दसैँ अगाडि माडी जाने निकुञ्जभित्रको हुलाकी सडकमा मानिसले तीन/चार वटा बाघ देखेको जनाएपछि हिँड्डुल गर्नेलाई सावधानी अपनाउन भनिएको छ । केही दिन धेरै सवारी जम्मा भएपछिसँगै वारपार गराइएको पनि उहाँले बताउनुभयो । निकुञ्जमा सन् २०१८ मा गणना गर्दा २३५ बाघ भेटिएको थियो । तीमध्ये यस निकुञ्जमा मात्रै ९३ वटा बयस्क बाघ भेटिएका थिए । गणनापछि बाघको सङ्ख्या बढेको हुनसक्ने यसले देखाएको छ । लामो समयपछि निकुञ्ज खुलेका कारण वन्यजन्तुको चहलपहल पनि पर्यटकीय मार्गमा बढी देखिएको हो । निकुञ्जभित्र झाडी भएकाले बाटो नजिक मात्रै वन्यजन्तु देखिने गरेको छ । अबको एक महिनामा टाढाटाढासम्म खुल्ला हुने प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो ।
 
यस निकुञ्जमा मुख्य रुपमा एकसिङ्गे गैँडा हेर्न पर्यटक आउने गर्दछन् । पछिल्लो समय बाघ बढी सङ्ख्यामा देखिन थालेको हो । यससँग चितुवा, भालु, हरिण, गौरीगाई, चित्तल, गोही, बँदेललगायतका जनावरसँगै चराचुरुङ्गी हेर्न यहाँ पर्यटक आउने गर्दछन् । (रासस)