१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी सस्तो होइन, गुणस्तरीय काम गर्न चाहन्छौँ, यसका लागि कानुनका केही प्रबन्ध परिमार्जन गर्नुपर्ने अवस्था छ — प्रमुख शाक्य



अ+ अ-

काठमाडौँ । आज ‘बागमती दोभान’ र ‘अमरावती’ गरी २ वटा पार्कको शिलान्यास भएको छ । काठमाडौँ महानगरको वडा ३२ को भौगोलिक क्षेत्रभित्र निर्माण हुने यी पार्कहरुको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली वडाध्यक्ष नवराज पराजुलीसहित कार्यपालिका सदस्य, वडा सदस्य र स्थानीयहरु सहभागी हुनुहुन्थ्यो ।  

 

शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले, महानगर सस्तो नभइ गुणस्तरीय काम गर्ने नीतिमा रहेको उल्लेख गर्नुभयो । ‘लागत इष्टिमेटभन्दा ३० प्रतिशत ४० प्रतिशत कममा योजना कार्यान्वयनको कबोल गर्ने पद्धतिले काम हुन्छ तर टिकाउ हुँदैन । हाम्रो कानुनले कम लागतमा कवोल गर्नेलाई छान्नुपर्ने व्यवस्था गरेको छ । यसले गर्दा विकास सिकारुहरुले प्रयोग गर्ने ठाउँ बनेको छ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘गुणस्तरीय कामका लागि उसको क्षमता मुल्याङ्कनको पहिलो शर्त हो ।’ 

‘सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने हामीले लिएको नीति हो । जग्गा कम भए पनि त्यसलाई खुल्ला राख्ने कार्यक्रम छ । हाम्रा नीति र कार्यक्रम स्थानीय सहभागिताले मात्र कार्यान्वयनमा आउँछन् । यसकारण हामी भौतिक पूर्वाधार विकास गरेर समुदायलाई हस्तान्तरण गर्दै आएका छौँ । ता कि स्थानीय दायित्वबाट विकासको दिगो उपयोग हुन सकोस् ।’ शाक्यको भनाइ थियो । 

त्यस क्रममा सभामुख श्रेष्ठले, वागमती नदी किनारामा पार्क तथा हरियाली बढाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा जम्मा भएको राजस्व पर्याप्त भएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभयो । स्थानीय विकासका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटै तहका सरकारले लगानी गरिरहेका छन् । आवश्यक पर्दा थप पनि हुन सक्छ । तर, नदीको बचावट, त्यस क्षेत्रको सुधार र संरक्षणका लागि लगानीको पहिलो दायित्व समितिले बोक्नुपर्छ । 
त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले, सार्वजनिक जग्गा संरक्षण र हरियाली विकास गर्ने महानगरको नीति व्यवहारिक रुपमै कार्यान्वयनमा आएको महसुस भएको अनुभूति राख्नुभयो । महानगरले बनाएका पार्कहरुको दिगो व्यवस्थापनका लागि स्थानीय सहभागिता हुने बताउँदै खड्गी श्रेष्ठले भन्नुभयो, ‘भित्री सहरमा पार्क बनाउन असम्भव भइसक्यो । त्यहाँ जग्गा नै छैन । पैसा भएर मात्र पनि नहुने रहेछ । त्यसैले बाहिरी सहरमा जहाँ सम्भव छ । त्यहाँ पार्क विकास गरौँ ।’

जनताले जे देख्नु भएको छ । जे महसुस गर्नुभएको छ । हामीले गरेको काम त्यही हो । कार्यक्रममा वडाध्यक्ष नवराज पराजुलीले, समयमा निर्माण सकिनु पर्ने बताउँदै गुणस्तरमा प्रश्न उठाउनु पर्ने दिन नआओस् भनेर निर्माण व्यवसायीलाई सचेत गराउनुभयो । घर बनाउँदा व्यक्तिले जति निगरानी गर्छ । आफ्नो ठाउँमा विकास हुने सार्वजनिक निर्माणका लागि पनि स्थानीयले त्यत्तिकै मात्रामा खवरदारी गर्नुपर्छ । त्यस क्रममा कार्यपालिका सदस्य हीरादेवी पोखरेलले धारणा राख्नुभयो । 

अमरावती पार्क उपभोक्ता समितिका अध्यक्ष सरोज नेपालले पार्क निर्माणको निगरानी गर्न समितिकातर्फबाट २ जना इञ्जिनियर र २ जना सामाजिक परिचालकलाई नियमित खटाउने योजना सुनाउनुभयो । त्यसैगरी बागमती दोभान विकास समितिका अध्यक्ष चेतबहादुर थापाले, पार्कको निर्माण सम्पन्न भइसकेपछि दोभान क्षेत्रको सुन्दरतामा निखार आउने अपेक्षा गर्नुभयो । 

दोभान पार्क करीव ११ आना जमिनमा निर्माण हुँदैछ । १ करोड ११ लाख ७१ हजार ६४९ रुपैयाँ लागत इष्टिमेट गरिएको पार्क निर्माणका लागि यगन विल्डर्स प्रा. लि. ले ६७ लाख ४०९ रुपैयाँ ३५ पैसाका निर्माण कबोल गरेर छनौट भएको छ । भदौ २९ गते काम गर्न अनुमति दिइएको योजना ०७९ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । 

अमरावती पार्क करीव ४ रोपनी क्षेत्रफलमा निर्माण हुँदैछ । महानगरले यसको निर्माणका लागि १ करोड ३६ लाख ४६ हजार ७९७ रुपैयाँ इष्टिमेट गरेको थियो । बोलपत्रमा प्रतिस्पर्धा हुँदा के. वि. सन्स एण्ड सप्लायर्स प्रा. लि. ले ८९ लाख ८२ हजार १७७ रुपैयाँमा निर्माण कवोल गरेर छनौट भयो । ०७८ असोज १० गते निर्माण कार्यका लागि महानगर र निर्माण पक्षविच सम्झौता भएको हो । काम ०७८ चैत मसान्तभित्र सक्नु पर्नेछ ।