१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठकः धानबालिमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन



अ+ अ-

काठमाडौं । सरकारले बाढी तथा डुबानबाट धानबालिमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल बनाएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धान बालिमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । 

कार्यदलका अन्य सदस्यहरुमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेको पनि उहाँले जानकारी दिनुभयो । 

त्यसैगरी बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजिनामा स्वीकृत गर्ने, नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।   

त्यसैगरी नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्नुका साथै कोभिड – १९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।