२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

माध्यमिकी यात्राको डोला महोत्तरी प्रवेश



अ+ अ-

महोत्तरी । श्रीराम र सीताका डोलासहित मिथिला माध्यमिकी यात्राका सहभागी आज जिल्ला प्रवेश गरेका छन् । यात्राको तेस्रो दिन भारतको विहार राज्यमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान)मा रात्रिविश्राम गरेका यात्री आज चौथो दिन एकाबिहानैदेखि महोत्तरीको भारतीय सीमावर्ती मटिहानी आइपुग्ने क्रम सुुरु भएको हो । यसअघि गत बिहीबार धनुषाको ठेराकचुरीबाट यात्रा सुुरु गरेका माध्यमिकी परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी र भारतको मधुवनीको कल्याणेश्वर (कलना)मा पहिलो र दोस्रो दिनको रात्रिविश्राम गरिसकेका छन् ।

गिरिजास्थानबाट सीमावर्ती भारतीय बजार मधवापुर हुँदै दशगजा  कटेर महोत्तरीको मटिहानी प्रवेश गरेका यात्रीलाई मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल, जिल्लास्थित प्रशासनिक तथा सुरक्षा निकायका अधिकारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र मटिहानी नगरवासीले स्वागत गर्नुभयो । अहिले गिरिजास्थानबाट मटिहानीसम्म १५ दिने धार्मिक यात्राका सहभागीको अटुट पङ्क्ति देखिएको छ । मध्याह्नअघि सबै यात्री मटिहानी आइपुग्ने छन् ।

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी आज चौथो दिन मटिहानीमै रात्रिबास गर्नेछन् । विश्रामस्थलमा श्रीराम र जानकीजीको डोला (प्रतिमा रखिएको डोली) आइपुगेपछि मटिहानी वरिपरिका बस्तीबाट डोला दर्शन गर्नेको घुँइचो लागेको छ ।
    
डोलाको आगमनसँगै मटिहानीमा भक्तालुले दर्शन गर्ने र विश्रामस्थलमा भजन, कीर्तनसहित धार्मिक मेला आयोजन हुँदै आएको परम्परा छ । यात्रीहरुको भोजन, आवास, खानेपानी र प्राथमिक उपचार र आइपर्ने अन्य कुनै कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध गरिएको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो । डोला आफ्नो ठाउँ आइपुगेको अवसरमा दर्शन, आराधना र यात्रीवर्गको स्वागतका लागि आज मटिहानी नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ ।

यात्राको चौथो दिन मटिहानी आइपुगेका यात्री अब आठौँ दिनसम्म महोत्तरी छन् । चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रिविश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् । नेपाल र भारतको गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । ती मध्ये भारततर्फ २६ किमी र बाँकी धनुषाका क्षेत्र पर्छन् ।

अघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात मिथिलाका बिभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा १८औँ  शताव्दीमा सुुरु भएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । रामसीताका पदचाप पछ्याउँदै उहाँहरुकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःख, कष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य  ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यात्रामा नेपाल र भारतका बिभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठहरुले संयोजन, समन्वय गर्दै आएका छन् । फागुन औँशीबाट सुरु भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरी सम्पन्न गरिने मिथिला माध्यमिकी परिक्रमा मिथिलाको महाकुम्भ पनि भनिन्छ । यस यात्रामा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रात्रिविश्रामस्थलको परम्परा रहँदै आएको छ । रासस