तनहुँ । नेकपा एमालेको भिमाद नगर अध्यक्षमा इमान बहादुर थापा चयन भएका छन् ।
मंगलबार सुरु भएको नगर अधिवेशनले इमान थापाको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन गरेको हो ।
यस्तै नगर उपाध्यक्षमा चतुर्भुज सुबेदी, सचिवमा उमाकान्त श्रेष्ठ, उपसचिवमा पदम सेन ठकुरी र भिमसिंह थापा (बलु) चयन भएका छन् ।
मंगलबार सुरु भएको अधिवेशनमा अध्यक्षमा इमान बहादुर थापा र पदम सेनबीच सहमति जुट्न नसक्दा बुधबारसम्म अधिवेशन लम्बिन पुगेको थियो । यसअघि नेकपा एकता भंग भएपछि गठित नगर अध्यक्षमा रहेका इमान पुनः अध्यक्ष चयन भएका हुन् । योसँगै तनहुँका ६ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।
जसमा व्यास नगर अध्यक्षमा वीरेन्द्र अधिकारी, भानु नगर अध्यक्षमा प्रेम कुमार राना, शुक्लागण्डकी अध्यक्षमा मुक्ति तिम्सिना, बन्दिपुर पालिका अध्यक्षमा सुरेन्द्र थापा, आँबुखैरेनी पालिका अध्यक्षमा मिना अधिकारी सर्वसम्मत चयन भइसकेका छन् ।