एजेन्सी । आइसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ ।
बुधबार साँझ भएको खेलमा बंगलादेशले दिएको १२५ रनको लक्ष्य इंग्ल्यान्डले १४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
इंग्ल्यान्डका जेसन रोयले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन जोडेका हुन् । यस्तै जोस बटलरले १८ बलमा १८ रन जोड्दा डेभिड मलान २८ रनमा अविजित रहे भने जोनी बेयरेस्टो ८ रनमा अविजित रहे । बंगलादेशका शोरुफुल इश्लाम र नासुम अहमदले १–१ विकेट लिए ।
त्यसअघि शेख जायद स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले इंग्ल्याण्डसामु १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बंगलादेशले २० ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो । बंगलादेशका लागि मुशफिकर रहिमले सर्वाधिक २९ रन जोडे । यस्तै कप्तान महमुदुल्लाहले २४ रनमा १९ रन जोड्दा नुरुल हसनले १८ बलमा १६ रन जोडे ।
यस्तै महेदी हसनले १० बलमा ११ रन जोडे भने नासुम अहमदले ९ बलमा १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
यता इंग्ल्यान्डका टिमाल मिल्सले ३ विकेट लिँदा मोइन अली र लियाम लिभिंस्टनले २–२ विकेट लिए भने क्रिश वोक्सले १ विकेट लिए ।