विश्व चर्चित स्पेनिस क्लब बार्सिलोनाले निरन्तर खराब प्रदर्शन जारी राखेको भन्दै मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ ।
स्पेनी पहिलो श्रेणीको लिग ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १(० ले पराजित भएको थियो । यो हारपछि बार्सिलोना लिगमा १५ अंक जोड्दै नवौं स्थानमा पुगेको छ । क्लबका पछिल्ला वर्षहरुमा यो सबैभन्दा लज्जास्पद अवस्था हो ।
भालेकानोसँग हारपछि बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ ।
बार्सिलोनाको गृह मैदान क्याम्प नोउमा प्रशिक्षक बनेको १४ महिनापछि नेदरल्याण्ड्सका नागरिक कोम्यान बर्खास्तीमा परेका हुन् ।
बार्सिलोनाले युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणमा दुई खेल हारिसकेको छ ।
कोम्यानको बर्खास्तपछि अब फेरि बार्सिलोनामा को प्रशिक्षक आउने भन्ने प्रश्न उठेको छ । र, यसमा सबैभन्दा अघि आउने नाम क्लबकै पूर्व मिडफिल्डर तथा कप्तान जाभी रहेका छन् । एजेन्सी