काठमाडौं । विवेकशील साझा पार्टी ले अध्यक्ष रवीन्द्र मिश्रको “मार्ग परिवर्तन” सम्बन्धी प्रस्ताब लाई दुईतिहाई मतले पारित गरेको जनाएको छ । मिश्रको प्रस्तावमा स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने रहेको छ ।
यसैगरी धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने कुरा पनि प्रस्तावमा उल्लेख गरिएको छ । मिश्रले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा दस्तावेज आन्तरिक छलफल र बहसका लागि श्राबण ११ गते सार्वजनिक गरेका थिए ।
यो पनि पढनुहोस्-रवीन्द्र मिश्रको प्रस्तावः संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह
प्रस्तावमा मिश्रले संघीयता देशमा थप भ्रष्टाचार र आर्थिक भारतको स्रोत भएको उल्लेख गरेका छन् । साथै यो नेपालको अखण्डताका लागि समेत घातक हुने तथा नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकरण गर्ने अर्को कडी भएको उनको ठहर छ ।
उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको विवेकशील साझा पार्टीकाप्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो । त्यसै गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।
बैठकले पार्टीलाई तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको पनि प्रवक्ता पाठकले जानकारी दिनुभयो ।