• १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
  •   Unicode
Logo
Latest
★   बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए ★   मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु ★   नेपथ्य क्यानाडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न ★   चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा ★   परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी  ★   वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी ★   पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा ★   च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित ★   एमसिसी परियोजना: संसदबाट गरिएको व्याख्यात्मक घोषणामा सहमत छौं- सिइओ अल्ब्राइट ★   च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार

मिथिला संस्कृति वैभवपूर्णः मुख्यमन्त्री पोखरेल



महोत्तरी । मधेस प्रदेशको मैत्रीपूर्ण तीन दिने सद्भावना भ्रमणमा रहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मिथिला सभ्यता र संस्कृति अनुपम र गौरवपूर्ण भएको बताउनुभएको छ । 

 

भ्रमणको दोस्रो दिन आज आइतबार महोत्तरीको बर्दिबास पुग्नुभएका पोखरेलले  भ्रमणको अनुभव साट्दै मधेस धार्मिक पर्यटनको केन्द्र रहेको बताउनुभएको हो । मुख्यमन्त्री पोखरेल नेपाल होटल पर्यटन व्यवसायी सङ्घ, बर्दिबासका उद्यमी व्यवसायी र सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

“मैले मधेश प्रदेशका प्राचीन मिथिलाका धार्मिकस्थलको नजिकबाट अवलोकन गरें”, उहाँले भन्नुभयो, “यहाँ धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना रहेछ ।” जनकपुरधामका जानकी मन्दिर, राममन्दिर, मणिमण्डप, जनकमन्दिर र धनुषाधामको अवलोकन गर्नुभएका मुख्यमन्त्री पोखरेलले शनिबार जनकपुरदेखि कुर्थासम्म रेलयात्रा गरेको रमाइलो अनुभव सुनाउनुभयो । 

संसारका सबै ठाउँमा अतिथि सत्कारको परम्परा भए पनि मिथिलाको भने विशिष्ट रहेको उहाँको भनाइ छ । “रेल पछिल्लोकालमा थुप्रै नेपालीको मनमा रहेको सपना छ, अब चाँडै आम जनताले यो सेवा पाउने सम्भावना देखें”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “मधेशमा अन्न उत्पादन, पशुपालनसँगै धार्मिक पर्यटन विकास गर्नसके समृद्धि प्राप्त हुने अवस्था छ ।” विदेहराज जनकको कर्मभूमि, याज्ञवल्क्य, गार्गीसहितका विद्वान, विदूषिको तपोभूमि हुनुको गर्विलो इतिहास मधेशसँग रहेको उहाँले स्मरण गर्नुभयो ।

मधेश प्रदेश सरकारको निमन्त्रणामा शनिबार पोखरा–जनकपुर हवाई यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेल जनकपुर आइपुग्नु भएको हो । शनिबार प्रारम्भ भएको जनकपुर–पोखरा हवाई सेवा बुद्ध एयरले सातामा तीन दिन दिने भएको छ । आफ्नो भ्रमणमा गण्डकी र मधेश प्रदेशबीच धार्मिक पर्यटकीय सर्किट विकास र आपसी सद्भाव एवं समन्वय मुख्य छलफलका विषय बनेका उहाँले बताउनुभयो । 

मुख्यमन्त्री पोखरेलले बर्दिबास–५ स्थित श्री टुटेश्वरनाथ महादेव मन्दिरको दर्शन र बाराको गढीमाई मन्दिर अवलोकन पनि आजै गर्नुहुने कार्यक्रम छ । मुख्यमन्त्री पोखरेल सोमबार गण्डकी फर्कनुहुनेछ ।