• १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
  •   Unicode
Logo
Latest
★   चार संसदीय समितिको बैठक बस्दै ★   आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली ★   बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए ★   मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु ★   नेपथ्य क्यानाडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न ★   चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा ★   परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी  ★   वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी ★   पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा ★   च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित

लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्वे रोकियो



गलेश्वर । लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम रोकिएको छ ।

लुलाङको ओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गका लागि रु दुई अर्ब छ करोड लाग्ने र सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष भकबहादुर छन्त्यालले बताउनुभयो ।

“सुरुङ मार्गको सर्वे अत्यधिक लागतका कारण प्रक्रियामा नै लैजान नसकिँदा अहिले अवरुद्ध भएको छ, सुरुआती प्रक्रियामा मात्रै रु साढे चार लाख खर्च भएको छ”, वडाअध्यक्ष छन्त्यालले भन्नुभयो, “स्रोत जुटाउन नसक्ने अवस्था देखिएपछि सुरुङ मार्ग सर्वेको काम अगाडि बढाउन सकिएन, सुरुङ मार्ग यहाँका लागि अति महत्वपूर्ण भए पनि आर्थिक अभावका कारण योजनाबाट नै हटाउन बाध्य भयौं ।” 

जिल्लाकै अति विकट गुर्जा गाउँमा सडक सञ्जालको विकल्पका रुपमा लिइएको सुरूङमार्गका बारेमा प्रदेश र सङ्घीय सरकारमा समेत जानकारी गराइए पनि चासो नदेखाएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

प्रारम्भिक सर्वेको जिम्मा पाएको स्टन्थ डललर्प प्रालिका इञ्जिनीयर कृष्ण गौतमको टोलीले पटक–पटक गरेको स्थलगत अनुगमनका आधारमा लुलाङदेखि गुर्जासम्मको पहाडमा भूकम्प र पहिराको सम्भावनासमेत रहेको बताएको थियो ।

फिजिविलिटी अध्ययनमा प्रस्तुत गरिएको लागतमा जलविद्युत्को टनेलको आकारमा एक मिटरलाई सुरुङ बनाउन रु १० लाख लागत लाग्ने देखिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । तत्काल छिमेकी वडाबाट सडक विस्तार गर्न सकिने अवस्था नभएकाले वडाध्यक्ष छन्त्याल उक्त प्रस्तावलाई  गाउँपालिकाबाट पारित गराइ प्रारम्भिक सर्वेको प्रक्रियाका लागि बजेटसमेत  विनियोजन गर्न सफल हुनुभएको थियो ।

गुर्जा सदरमुकाम बेनीबाट करिब २६ कोष टाढा रहेको छ । लुलाङबाट देउरालीको उकाली ओराली हुँदै गुर्जा पुग्न आठ घण्टा लाग्ने गर्छ । यस्तो दुर्गम ठाउँलाई सुरङ मार्गमार्फत करिब आधा घण्टाको दूरीमा जोड्न सकिने सम्भावना रहेको भए तापनि लगानीको अभावका कारणले हात झिक्नुपर्ने अवस्था आएकामा अध्यक्ष छन्त्यालले दुःख व्यक्त गर्नुभयो ।