१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

तरकारीखेतीबाट आत्मनिर्भर हुँदै धम्कापुरका थारु महिला

तरकारीखेतीबाट आत्मनिर्भर हुँदै धम्कापुरका थारु महिला
अ अ+ अ-

दाङ । तुलसीपुर उपमहानगरपालिका– १५ स्थित धम्कापुरका थारू महिला व्यावसायिकरुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । ती मध्येकी एक हुनुहुन्छ ४२ वर्षीया स्यानी चौधरी । उहाँले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नाका साथै आफूलाई  सफल महिला किसानको रुपमा चिनाउनुभएको छ । 

आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैँ एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर पुग्नुहुने स्यानीले धनियाँको पात बिक्री गरेर मात्र वार्षिक रु चार लाखसम्म बचत गर्ने गरेको बताउनुहुन्छ । यसपटक  मौसमी धनियाखेतीबाट मात्र रु दुई लाख ५० हजार आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ । विसं २०५८ देखि नै यो पेसा अपनाए पनि व्यावसायिकरुपमा भने विगत १३ वर्षदेखि गर्न थालेको बताउनुभएकी  स्यानीले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गर्नुभएको छ । एक वर्षमा दुई पटक मौसमी र बेमौसमी धनियाँखेती गरेर बिक्री गर्दै आएको बताउने उहाँले प्रतिमुठा धनियाँ रु २० मा बिक्री गर्दै आउनुभएको छ । 

धनियाँ बेचेर गरेको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन खरिद गर्नुभएकामा १० कट्ठामा धनियाँखेती र अरुमा अन्य खाद्यान्न उत्पादन गर्दैआएको बताउनुहुन्छ । अहिले बेमौसमको लागि उक्त खेती सुरु गरिसकेको उहाँको भनाइ छ ।यसैगरी सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले १५ कट्ठा जमिनमा चम्सुर, पालक, गोभी, टमाटरलगायत तरकारीखेती गर्नुभएको छ । रेखा पनि दैनिक बिहानै तरकारी छिटुवामा बोकेर पैदलै बिक्रीका लागि तुलसीपुर बजारसम्म आउने गर्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ पहिला हामीले धानखेती गर्दथ्यौँ तर त्यसबाट मात्र राम्रो आम्दानी लिन नसकेपछि धानखेती छाडेर छ वर्षदेखि तरकारीखेती गर्दै आएका छौँ, दुःख त धेरै भए पनि आम्दानी राम्रो हुन्छ । वर्षमा रु चार लाखसम्म आम्दानी गर्न सफल भएको उहाँ बताउनुहुन्छ । सिँचाइका लागि पानीको समस्या हुने गरेको बताउनुहुने रेखाले अहिलेसम्म तरकारी खेतीसम्बन्धी कुनै पनि तालीम लिनुभएको छैन ।  

त्यसैगरी सोही गाउँकी ४० वर्षीया राजपति चौधरी पनि १४ कट्ठा जमिनमा तरकारी खेती गरेर आत्मनिर्भर बन्नुभएको छ । वार्षिकरुपमा रु साढे तीन लाख तरकारी खेतीबाट आम्दानी लिन सफल भएको उहाँ बताउनुहुन्छ । तरकारीखेतीबाटै भएको आम्दानीले गर्दा दुई छोराछोरीलाई बाली विज्ञान विषय अर्थात् कृषि प्राविधिक विषय पढाउन सजिलो भएको राजपतिको भनाइ छ । बन्दा, फूलगोभी, गोलभेँडालगायत तरकारी खेती गर्दै आउनुभएकी उहाँ दिनभर तरकारी खेतीमा व्यस्त हुने र बिहानै छिटुवामा तरकारी राखेर पैदलै तुलसीपुर बजारसम्म बिक्रीका लागि आउने गर्नुहुन्छ । 

राजपति बन्दागोभीको मूल्य सस्तो भए पनि गोलभेँडा र फूलगोभी भने प्रतिकिलो रु ५० सम्म बिक्री गर्ने गरेको बताउनुहुन्छ । यस पेशामा टिकाइ राख्न सिँचाइका लागि पानी, तरकारीको उचित मूल्य र बजारीकरण तथा उन्नत जातको बीउ र कीटनाशक औषधि र तालिमको व्यवस्था स्थानीय निकायले उपलब्ध गराइदिनुपर्नेमा सामान्य लेखपढसम्म गर्नुभएकी उहाँ जोड दिनुहुन्छ । 

ती महिला तथा अन्य नगरपालिकाभित्र तरकारी खेती गर्ने सबै किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि तुलसीपुर बजारमा तरकारी बजार केन्द्र भवन निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य जानकारी दिनुहुन्छ । भवन निर्माण भएपछि किसानलाई बिहान ५ बजेदेखि ७ बजेसम्म सो भवनमा बसेर तरकारी बिक्री गर्नको लागि शुल्क नलाग्ने व्यवस्था मिलाइएको पनि उहाँको भनाइ छ । 

तरकारीखेतीबाट आत्मनिर्भर भएका  किसानलाई उपमहानगरबाट प्रोत्साहन गर्ने कृषि कार्यक्रम  ल्याउन  आवश्यक रहेको बताउँदै उपप्रमुख आचार्य अहिले जिल्लामा धेरै गाउँका किसान तरकारीखेतीमा  निर्भर भएर आर्थिक रुपमा सफल भएको देख्दा आफ्नै देशमा मेहनत गर्नसके आर्थिक रुपमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ ।