४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

दृष्टिविहीनलाई देख्दैन सिंहदरबार

दृष्टिविहीनलाई देख्दैन सिंहदरबार
अ+ अ-

काठमाडौँ — तिहारअघिको एक दिउँसो, दृष्टिविहीन कपिल विक ७ वर्षका छोराको सहाराले सिंहदरबार पुगेका थिए । डोटी पूर्वीचौकीका उनी आफ्ना प्रतिनिधि पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई भेट्न चाहन्थे । तर मन्त्रीकक्षमा नेता, कार्यकर्ता र शुभेच्छुकको भीड भएकाले उनी पनि अलमलिए ।

पातलो टिसर्ट, सुरुवाल र फाटेको म्याजिक चप्पल लगाएका छोरा प्रसिद्धले बाबुलाई कुनाको सोफामा बसाए, बाबुले पनि छोरालाई काखमा राखे ।

सानोठिमीबाट १२ बजे निस्किएका कपिल एउटा हातले छोरा र अर्को हातले सेतो छडी समात्दै करिब १ बजे सिंहदरबार आइपुगेका थिए । दुई घण्टाको प्रतीक्षापछि मन्त्री कार्यकक्षमा आइपुगे । ‘मन्त्रीज्यू नमस्कार π’ ‘मन्त्रीज्यू बधाई छ π’ भीडको आवाज गुन्जिएपछि ३० वर्षीय कपिलले पनि मन्त्री आइपुगेको मेसो पाए । उनी पनि सजग भए । मन्त्री पनि भित्र नपस्दै बैठक कोठामै पालैपालो आगन्तुकलाई भेट्न थाले ।

कर्णालीका सांसदहरूको टोली पनि प्रतीक्षामा थियो । मुगुका सांसद गोपाल बमले रारामा र अछामका सांसद शेरबहादुर कुँवरले साँफेबगरको विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज चलाइदिन तथा कमलबजार विमानस्थल बनाइदिन माग राखे । मन्त्रीले कसैलाई पनि निराश बनाएनन् । अन्य शुभचिन्तकमध्ये कसैले खादा लगाइदिए, कसैले हात जोडेर शुभकामना दिँदै बिदा भए ।

करिब आधा घण्टामा मन्त्रीको नजर कपिलतर्फ सोझियो । ‘मन्त्रीज्यू रोजगारीका लागि अनुरोध गर्न आएको, गुजारा चलाउनै गाह्रो भयो,’ उनले गुनासोको मात्र होइन, प्रमाणपत्रको पनि पोको फुकाए । डोटीको फुलौटस्थित साजेन्द्रस्वर माविबाट एसएलसी, सिलगढीको पद्म पब्लिक उच्च माविबाट प्लट टु र सानोठिमी क्याम्पस भक्तपुरबाट बीएड पास गरेका उनी अहिले सानोठिमीमै राजनीतिशास्त्रमा एमए पढ्दै छन् । शारीरिक र आर्थिक चुनौतीले उनको संघर्षको कथा लामो छ । तर, छोटो संवादमै मन्त्रीले सचिवालयमा रहेका भतिज भक्त आलेलाई कपिलको नम्बर टिप्न लगाए ।

त्यसो त मन्त्री आलेसँगको उनको यो दोस्रो भेट थियो । अघिल्लो दिन मात्रै पनि उनी छोराको हात समात्दै पौने १ बजे पर्यटन मन्त्रालय पुगेका थिए । मन्त्री साढे ३ बजे आइपुगे । व्यस्त मन्त्रीसँग हिँड्दाहिँड्दै ‘गौडे–भेट’ मात्रै भयो, उनले ‘कामका लागि आएको’ मात्रै भन्न भ्याएका थिए । मन्त्रीले ‘काम पाए त म आफैं गर्थें’ भनी ठट्यौली पारामा एक हजार रुपैयाँ खर्च दिई बिदाइ गरेका रहेछन् । पहिलो दिन मन्त्री कतै हिँडिहालेकाले दोस्रो दिन ‘जागिर पक्कापक्की गराउन’ उनी सानोठिमीबाट बस चढेर सिंहदरबार आएका थिए ।

उनका बाबुको ऊर्जाशील समय पनि भारतमा चौकीदारी गरेर बित्यो, आमा पार्वती पार्कीको बायाँ शरीर प्यारालाइसिसले चल्दैन । ७० नाघेका भूमिहीन बाआमालाई सरकारले दिने भत्ताले पुग्दैन । दृिष्टविहीनका रूपमा आफूले पाउने १६ सय रुपैयाँ भत्ता पनि उनले बाबुआमाका लागि छाडिदिएका छन् । त्योभन्दा धेरै सेवा गर्ने धोको छ, त्यसैले रोजगारीको खोजीमा छन् ।

कपिलको सिंहदरबार यात्रा यो पहिलो थिएन । २०७० जेठमा बीएड पढ्न र सीप सिक्न डोटीको पोखरीबाट पहिलोपल्ट काठमाडौं उत्रिएका उनी विपन्नताले पिल्सिएका थिए । ‘दृष्टिविहीनहरूलाई विमानस्थलमा टेलिफोन अपरेटर’ को जागिर पाइन्छ भन्ने कसैले सुनाइदियो ।

त्यसैले २०७२ सालमा उनले तत्कालीन पर्यटनमन्त्री कृपाशुर शेर्पालाई भेटे । मन्त्रीले उनको माग सुने, सुनुवाइ गरेनन् । शेर्पापछि आनन्द पोखरेल र जीवनबहादुर शाही पर्यटन मन्त्रालयमा आए । ‘बायोडाटा’ सहित उनले ती मन्त्रीहरूसमक्ष पनि निवेदन चढाए ।

पछि उनले केपी शर्मा ओलीलाई बालकोटमा र शेरबहादुर देउवालाई बूढानीलकण्ठ पुगेर भेटे, उद्देश्य उही थियो– गुजारा चल्ने जागिर ।

‘ओलीले राजेश ९बज्राचार्य० भन्ने पीएलाई मेरो फोन नम्बर टिपाएका थिए,’ मंगलबार सानोठिमी डेरामा भेटिएका कपिलले कान्तिपुरसँग भने, ‘देउवाले विचार गरौंला भनेका थिए । तर, कतैबाट केही जवाफ आएन । फेरि भेट्न पहुँच भएन ।’

मन्त्री, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न उनी सिंहदरबार धाउन थालेको आठ वर्ष भयो, त्यही निरन्तरतामा उनी पयर्टनमन्त्री आलेको सचिवालय पुगेका थिए । विगतका आश्वासन खेर गए पनि यसपालि उनी बढी आशावादी छन् । किनकि पर्यटन मन्त्रालयमा आफ्नै जिल्लाका सांसद पुगेका छन् ।

संक्षिप्त संवादपछि कपिलसँग फोन नम्बर आदानप्रदान भएको थियो । सञ्चारकर्मी भएको थाहा पाएपछि आफ्नो गुनासो सुनाइदिन सक्छ भनेर होला, उनले बारम्बार फोन गर्न थाले । उता सिंहदरबारस्थित मन्त्रीको सचिवालयबाट उनले कुनै ठोस जवाफ पाएका थिएनन् । पटकपटकको संवादपछि मंगलबार सानोठिमीस्थित उनकै डेरामा भेट भयो । कपिललाई सुनाउन मसँग खास खबर केही थिएन, उनीसँग भने दुःखैदुःखको फेहरिस्त थियो ।

सानोठिमी क्याम्पस पछाडि दाहाल गाउँका विष्णु दाहालको घरको भुइँतलामा ८ वर्षदेखि बसिरहेका कपिल सुरुका वर्ष १५ सय भाडा तिरेर एक्लै बस्थे । एक गैरसरकारी संस्थाको सीपमूलक तालिममा खोटाङ राजापानीकी एक युवतीसँग भयो । प्रेमपछि २०७१ असारमा उनीहरूले बिहे गरे ।

तर २०७६ कात्तिक २५ देखि श्रीमतीले उनलाई छाडिन् । ‘उनकी दिदीको मृत्यु भएछ, त्यसैले भिनाजुसँग बिहे गरिछन् । दृष्टिविहीन र दलितसँग जीवन गुजार्न उनलाई पनि गाह्रो भयो होला,’ उनी भन्छन्, ‘तर, म एक्लो छैन, सात वर्षको छोरा प्रसिद्ध मसँग छ ।’

उनकी श्रीमती सिलाइकटाइ गर्थिन्, कपिल धुप बेचेर दिनमा २र४ सय जोगाउँथे । तर, कोरोना र लकडाउनका कारण जीवन कोठामै ‘बन्धक’ भयो । त्यसपछि उनको व्यापार चौपट र जीवन अँध्यारो भयो ।

छोरा हुर्काउन उनलाई गाह्रो थियो । साथ जुटाउन उनले गत वर्ष आफ्नै जिल्लाकी दीपाश्री पार्कीसँग दोस्रो बिहे गरे । उनीबाट पनि तीन महिनाअघि छोरा जन्मिएको छ । तीनतले घरको भुइँतलाको अँध्यारो कोठा चिसो छ । ‘शिशु छोरा बिरामी भइरहन्छ । महिनाको २५ सय रुपैयाँमा योभन्दा राम्रो कोठा पाउन पनि गाह्रो छ,’ उनी भन्छन्, ‘पानी तताउन बिजुली वा ग्यास खर्च गर्न सकिँदैन, इनारको पानी नतताई पिउँछौं ।’

घर बाहिर चौरमा गफ गरिरहँदा चिसोको स्याठ चल्दै गएपछि तीन महिनाको छोरा रोयो । तर, यो शिशुले लगाएको कपडा पनि सरकारी अस्पतालले सित्तैमा दिएको सुनाए । जन्मिनेबित्तिकै ७ घण्टा एनआईसीयूमा राखेर जगाएकाले शिशु बिरामी पनि भइरहने रहेछ ।

सम्झौता गर्दा पनि गुजारा चलेको छैन । २०७६ मंसिरदेखि भाडा बुझाएका छैनन् । करिब दुई वर्षको भाडा बक्यौता ६० हजार पुगेको छ । ‘दसैंमा घरबेटीबाले लामै भयो, धेरथोर जे छ देऊ भनेका थिए,’ कपिलले भने, ‘अहिले छैन भए दिइहाल्थे नि भनेपछि उहाँले मान्नुभयो ।’

घरभाडा मात्र होइन, छोराको स्कुलको फी पनि तीन वर्षदेखि बक्यौता छ । फी तिर्न नसकेपछि छोरा स्कुल जान छाडेका छन्, बक्यौता माग्न स्कुलबाट फोन आउन भने छाडेको छैन । ‘छोरा नगदेशको स्मल किड्स एकेडेमीमा पढ्छ । छुट दिएर ४५ हजार बाँकी छ,’ उनी भन्छन्, ‘पहिले एकाउन्टेन्टले फोन गर्नुहुन्थ्यो, आजभोलि प्रिन्सिपलले पनि फोन गरिरहनुहुन्छ । फिस तिर्न नसकेकाले छोरालाई स्कुल पठाउन सकेको छैन ।’

कपिलको डेराअगाडि खुला ठाउँमा हामी हिँड्दै संवाद गरिरहँदा स्मल किड्स एकेडेमीको भ्यान टोलमा आइपुग्यो । गुडिरहेको भ्यानबाट बालबालिकाहरूले प्रसिद्धलाई डाके । भ्यानको झ्यालबाट सिस्टरले ‘प्रसिद्ध, तिमी स्कुल किन नआ’को रु’ भनेर सोध्दै थिइन् । प्रसिद्ध भने लाजले बाबुको शरीरले छेलिए ।

केहीबेरमा ठेलामा जाडोको कपडा बिक्री गर्दै एक व्यापारी आए । छोराले टोपी किनिदिन ढिपी कसे । तर, बाबुले सामसुम पारे । केहीबेरपछि चटपटे बेच्दै अर्का व्यापारी आए । यसपालि भने प्रसिद्धलाई उनीहरूले मनाउन सकेनन् । छोरा र पत्नी ठेलातर्फ गएको मौकामा कपिलले बिस्तारै भने, ‘म हरेक रात ट्वाइलेटमा गएर रुन्छु । उनीहरूका अगाडि म विवश छु । काम पाए काठमाडौं बाहिर पनि जान तयार छु ।’ टेलिफोन अपरेटर हुने उनको ठूलो धोको छ, तर काम जे पाए पनि गर्न उनी तयार छन् ।

श्रीमती र छोराले पाएको दुःख सम्झँदै उनले यो पनि भने, ‘दसैंमा एक दिन एक सय रुपैयाँको कुखुराको मासु ल्याएर खुवाएँ । तिहारमा पनि सय रुपैयाँकै मासु ल्याइदिएँ । योभन्दा बढी के गर्न सक्थें र रु’

कपिलको साहित्यिक नाम हो– विरही । विरह लाग्दा लोकगायक राजु परियार अनि देउडामा भुवन दाहाल, भोजराज भट्ट, अन्तराम बिष्टका गीत सुन्छन् । कोठामा टीभी छैन । ‘टीभीको सपना पनि छैन । समाचार र गीत सुन्न यही मोबाइल काफी छ,’ खुइलिएको मोबाइल देखाउँदै उनले भने ।

एकदमै कम बोल्ने उनकी पत्नी दीपाश्रीले छुट्टिने बेलामा ‘काम पाए मै पनि गर्थें, कतै भए विचार गरिदिनुहोला’ मात्रै भनेर मलिन अनुहार बनाइन् । कोठाको कुनामा दीपाश्रीले हालै लक्ष्मीपूजा गरेको देखियो । समाजले दिने सद्भाव र ‘ठूलाबडा’ ले दिने सहानुभूति पक्कै पर्याप्त हुँदैन, अपांगता भएका नागरिकको अधिकार रक्षा गर्न राज्यले नीति बनाए मात्र कपिल र दीपाश्रीको परिवारमा ‘लक्ष्मी’ ले प्रवेश पाउनेछन् । (आजको कान्तिपुर दैनिकमा समाचार छ)