१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा शान्ति स्थापनार्थ कतारी प्रयास



अ+ अ-

काठमाडौँ । कतार सरकारले अफगानिस्तानमा शान्ति स्थापनार्थ काम गर्दै आएको छ । गत भदौ २ देखि फागुन २२ गतेसम्म कतारले ७५ हजारभन्दा बढीको उद्दार गरेको छ । गत वर्षको अगष्टमा तालिवानले अफगानिस्तानमा शक्ति सङ्घर्ष गर्दै राजधानीलगायत सबै शहर कब्जामा लिएपछि तनाव सृजना भएको थियो । लामो समयदेखि नेटो सेनाको सुरक्षा घेरामा रहेको अफगानिस्तानमा तालिवानले हरेक वर्ष विदेशी सेनासँग लड्ने योजना सार्वजनिक गर्ने गरेको थियो । केहि समयअगाडि अमेरिकाले आफ्नो सेना फिर्ता लगेसँगै तालिवानले सिङ्गो अफगानिस्तान कब्जामा लिन सफल भयो ।

तालिवानी कब्जासँगै रणभुमि बनेको अफगानिस्तानमा शान्ति स्थापना गर्न कतार सरकारले सरोकारवाला पक्षलाई कतारमै सुरक्षितरूपमा राखी वार्ता र संवादबाट समस्या समाधान गर्न प्रेरित गर्यो । तालिवानले कब्जामा लिएसँगै अफगानिस्तानमा शरिया कानून लागू गर्ने घोषणा गरेपछि महिलाहरूलाई घरबाहिर निस्किनै मुस्किल हुने विषय विश्वव्यापीरूपमा उठिरहेको छ। यसबाहेक तालिवानको सत्ता कब्जापछि मुलुक छोड्न चाहनेहरूको ठूलो भिड देखियो। अन्य देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कूटनैतिक निकाय बन्द गरेर आफ्ना नागरिक तथा कर्मचारीको उद्दार गरे ।

अफगानिस्तानमा रहेका विदेशी नागरिक तथा अफगानी नागरिकलाई राहत तथा उद्दारमा विश्वले कतार एयरवेजको सहायता प्राप्त गर्यो । कतार एयरवेजले सन् २०२१ अगष्ट १८ देखि सन् २०२२ फेब्रुअरी ६ सम्म ७५ हजारभन्दा बढीको विभिन्न उडानमार्फत उद्दार गरेको छ । तीमध्ये धेरैजसो त अफगानी विद्यार्थी, शिक्षक, अधिकारकर्मी, वकिल, कलाकार, सङ्गीतज्ञ तथा अन्य छन् । विदेशी नागरिकमध्ये नेपाली नागरिकको समेत कतार सरकारले उद्दार गरी कतारमै आश्रय प्रदान गरी नेपाल पठाएको थियो । कतार सरकारले अफगानिस्तानबाट बाहिर जान चाहनेहरूको उद्दार मात्र नगरी उनीहरूका लागि बस्ने खाने व्यवस्थासँगै उपचारको आवश्यकता हुनेहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्यो ।

स्वास्थ्यका कारणले विशेष आवश्यकता हेरचाह गर्नुपर्नेहरूका लागि ह्वीलचेयर र विशेष वासस्थानको व्यवस्था कतार सरकारले गरिरहेको छ । उद्दारकै क्रममा परिवारविहीन २०८ जना बालबालिका कतार पुगेका थिए । तिनीहरुलाई कतार फाउण्डेशनले युनिसेफसँगको सहकार्यमा आश्रय तथा शिक्षा तथा स्वास्थ्यका सबै जिम्मेवारी पूरा गरिरहेको छ । विभिन्न क्षेत्रमा शिक्षा लिन चाहने अफगानी विद्यार्थीहरूलाई कलेज तथा विद्यालयमा पढाइरहेको छ । तालिवानी आक्रमणपछि अफगानिस्तानमा संयुक्त राज्य अमेरिकालगायत पश्चिमा राज्यहरू प्रवेश गर्न सक्ने अवस्था रहेन जसले गर्दा कतारी सहयोगमा ती देशहरूले आफ्ना नागरिकको सुरक्षा गरेको थियो । त्यसबेला अमेरिका र कतारबीच एउटा सहमतिमा हस्ताक्षर नै भयो जसले कतारलाई अफगानिस्तानको संरक्षक शक्तिको रूपमा खडा गर्यो । तालिवानी आक्रमणका कारण क्षतविक्षत भएको काबुलस्थित हामिद कार्जाइ विमानस्थल कतार सरकारले ९ दिनमा मै मर्मत गरी पुनः सञ्चालनमा ल्याएको थियो ।

कतार सरकारले तालवानीसँग सम्बन्ध सुधार गरी अहिले पनि हामिद कार्जाइ विमानस्थलमा अन्य देशका विमान अवतरण गर्न सहकार्य गर्ने गरेको छ । नेपाल सरकारले केही समयअगाडि कतार सरकारकै सहयोगमा अफगानिस्तानमा राहत पुर्याउन सफल भएको थियो । कोभिड–१९ महामारीकै बीचमा अफगानिस्तानमा भीषण सङ्घर्ष भएका कारणले मानवीय सहायताको महसुस गरी कतार सरकारले डब्ल्युएचओसँग सहकार्य गरी कतार एयरवेजमार्फत राहत सामग्रि पुर्याएको थियो ।