१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट सीतागञ्ज शाखा नहर



अ+ अ-

सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत सीतागञ्ज शाखा नहर अहिलेसम्म सबैभन्दा उत्कृष्ट शाखाको रुपमा स्थापित भएको छ । 

कुशल व्यवस्थापन, नियमति उपभोक्ता उपसमितिको छनोट, पानी पोत, नहरको रेखदेख र किसानको समस्यामा व्यवस्थापन पक्षको चासो र जिम्मेवारी बहनले उत्कृष्ट भएको हो ।

विसं २०४९ मा नहर सञ्चालन र व्यवस्थापन जलउपभोक्ता समितिमार्फत आएपछि नहरको नियमित व्यवस्थापनमा जल उपभोक्ता समितिका तत्कालीन अध्यक्ष तपन दासले नेतृत्व सम्हालेपछि उहाँ लगातार समितिको अध्यक्ष बन्दै आउनु भएको छ । झण्डै १३ किमी लम्बाइको सो नहरको पानीले सात हजार ८०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ ।

 वर्षे धानबाली, गहुँबाली, मकै, दलहन र तेलहन बालीका लागि नियमित पानी सञ्चालन हुने सो नहरमा अहिले बालुवा थुप्रिने समस्या देखिएको छ । ६८ सेमी पानी बहाव हुने सो नहरमा बालुवा थुप्रिने समस्याले गर्दा अहिले ६२ सेमी मात्र पानी वहाब हुने भएकाले तत्काल बालुवा सफा गर्नुपर्ने आवश्यकता देखिएको छ ।
    
सिँचाइ कार्यविधि–२०७२ लाई पूर्णरुपमा पालना गर्ने यो शाखा आयोजनाको पहिलो र उत्कृष्ट शाखाका रुपमा रहेको विश्व बैंकको नजरमा छ । भर्खरै रु १० लाख पानीपोत सङ्कलन गर्न सफल व्यवस्थापन पक्षले यसलाई निरन्तरता दिने र सङ्कलित पानीपोत रकमबाट किसानकै हितमा र नहरको रेखदेख, व्यवस्थापन एवं सञ्चालनमा खर्च गर्ने बताइएको छ ।
    
चतरा मूल नहरको २० वटा शाखाअन्तर्गत सीतागञ्ज शाखा नहरको एक भाग शिरानदेखि तलसम्म ग्राभेल भएको छ । जसले गर्दा स्थानीयवासीलाई सवारी अवागमनमा निकै सुविधा पुगेको पाइन्छ । सीतागञ्ज शाखा नहर नजिकैबाट बगेको थलहा खोलाले नहरलाई बेलाबखतमा समस्यामा पार्ने गरेको अध्यक्ष दासले बताउनुभयो । यो खोला दिनप्रतिदिन गहिरो हुँदै गएको छ । धेरै पहिले बनेका नहरका संरचना खोलाको गहिराइले गर्दा संरचना ध्वस्त हुने अवस्था आउन नदिन समयमै यसको व्यवस्थापन गर्नु उचित रहेको उहाँको भनाइ छ ।
    
सुनसरी र मोरङ जलस्रोत समिति, स्थानीय पालिकासमेत सहभागी भई बनेको यो व्यवस्थापन समितिले नहरलाई टिकाई एवं जोगाई राख्न आयोजनाले पनि शाखाको समस्यामा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएको छ । समितिका सचिव इसराईल अन्सारी, एसएस–९ एफटि–१ का अध्यक्ष सियालाल यादवले भर्खरै गठित यो समिति नियम कानूनका आधारमा गठन भई नहर सञ्चालन, व्यवस्थापन र किसानको समस्या सम्बोधन गर्न प्रयत्नशील रहने विश्वास व्यक्त गर्नुभयो ।