
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जोन्टा क्लब अफ काठमाडौँले आइतबार “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका चौध जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । कार्यकममा पुरस्कृत महिलाहरुले आफ्नो सङ्घर्ष र सफलताको कथाहरु सुनाएका थिए । महिला सशक्तिकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।
क्लबका अनुसार प्रिन्सेस हेलेन शाह इनस्पीरेशनल वुमन अफ द इयर सुश्री प्रस्तुति भट्टराई र सुश्री वर्षा तामाङले प्राप्त गरेका छन् भने अमर राना गेम चेन्जर अवार्ड क्याप्टेन प्रिया अधिकारीले प्राप्त गरेकी छिन् । कोभिड हिरोहरुका लागि रत्न देवी अवार्ड सुश्री सुस्वप्न रिमाल, ज्योति स्कलरशिप अवार्ड वुमन इन बिजनेस स्कलरशिप वर्षा कटुवाल र वुमन इन टेक स्कलरशिप सुश्री सुक्रिती मास्केलाई प्रदान गरिएको छ ।
त्यस्तै इन्द्रकला स्कलरशिप अवार्ड योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठ र वुमन इन स्पेस मनिषा दावालाई प्रदान गरिएको छ । त्यस्तै “अनसँग हिरोज” विधाअन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पु-याएका अन्य ४ महिलालाई पनि उनीहरुको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५,००० रुपैयाँ प्रदान गरेको छ । त्यसरी पुरस्कृत हुनेमा साझा यातायातको टिकट कलेक्टर सुश्री रेजिना बस्नेत, २० वर्षमै छोरीको विवाह गरिने रोरङ गाउँपालिका–१० बाट पहिलो महिला नर्स सुश्री सरिता चेपाङ, विगत १० वर्षदेखि ट्याक्सी चलाउँदै आउनुभएकि महिला ट्याक्सी ड्राइभर सुश्री इश्वरी थापा र झ्याल–ढोका बनाउने काममा अब्बल महिला सिकर्मी सुश्री मनु थामी रहनुभएको छ ।
क्लबका अनुसार परम्परागतरुपमा पुरुष प्रधान मानिएका क्षेत्रमा यी महिलाहरुले आफ्नो अब्बल उपस्थिति जनाएका छन् । कठिनाई र चुनौतीका बावजुद आ–आफ्नो विधामा उत्कृष्ट काम गर्न सफल यस्ता महिलाहरुलाई सम्मान गर्न पाउनु आफैँमा एउटा गौरवको विषय भएको आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ । जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरुलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौँले नारी दिवस मनाउँदै आइरहेको बताउनुभयो । उहाँले नारी कामको इज्जत र उनीहरुको उपलब्धिलाई सम्मान गर्नुपर्छ भन्दै महिलाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपवाद नभई सामान्य चलनको रुपमा लिइनुपर्ने बताउनुभयो ।