१८ माघ २०८१, शुक्रबार
,
Latest
अध्यक्ष राउतको आरोपः संसदको साँचो सरकारसँग हुँदो रहेछ, सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ उपसभापति वाग्लेद्वारा संसदीय छानबिन समिति गठनको माग भूमिगत वितरण प्रणालीमार्फत पोखरामा विद्युत् आपूर्ति दिन सुरु मुलुकमा आशा र विश्वास जगाउन आवश्यकः अध्यक्ष राई दुई तिहाईको सरकार छ भन्दैमा मनलाग्दी गर्न पाइँदैनः वरिष्ठ उपाध्यक्ष पाण्डे भ्रष्टाचार, कालोबजारी र महंगीबिरुद्ध संयुक्त प्रदर्शन माईतीघरमा आवासीय चिकित्सकहरुको प्रदर्शन शनिबार तीन इजरायली बन्धक रिहा हुँदै गायिका एलिना चौहानबाट सम्वन्ध विच्छेद मुद्दा दर्ता भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागेको छः अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम प्रतिस्थापनलाई अवसर तर पूर्वाधार कमजोर



अ+ अ-

काठमाडौँ — विद्युत् प्रयोगलाई प्राथमिकता दिन भन्दै सरकारले २०७८/७९ को बजेटमार्फत विद्युतीय सामग्रीमा लाग्ने भन्सारदर घटायो । इन्डक्सन चुलो, रेफ्रिजेरेटर, हिटरजस्ता घरायसी प्रयोगका विद्युतीय सामग्रीमा १० प्रतिशतसम्म भन्सार घटाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत्को उपभोग बढाउन किस्ताबन्दीमा सस्तो मूल्यमा इन्डक्सन चुलो उपलब्ध गराउने योजना बनाइरहेकी छन् । उनका अनुसार मन्त्रालयले यसको प्रारम्भिक चरणका प्रक्रियागत काम थालिसकेको छ । मन्त्रालय तथा मातहतका निकायमा विद्युतीय सवारी मात्रै खरिद गर्ने र देशभर चार्जिङ स्टेसन बनाउने घोषणा पनि मन्त्री भुसालले गरिसकेकी छन् । अर्कातिर नेपाल आयल निगमले पछिल्ला १० दिनमै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढायो । खाना पकाउने ग्यासमा मात्रै कात्तिक १५ मा प्रतिसिलिन्डर ५० र कात्तिक २४ मा ७५ रुपैयाँ मूल्यवृद्धि गरी १ हजार ५ सय ७५ पुर्‍याइएको छ ।

सरकारको तयारी हेर्दा पेट्रोलियम पदार्थलाई नेपालमै उत्पादित विद्युत्ले प्रतिस्थापन गर्ने नीति अघि सार्न खोजेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भएअनुरूप निगमले समेत भाउ बढाउनुपर्ने बाध्यताबीच उपभोक्तालाई विद्युत्को प्रयोगमा बानी पार्ने अहिले उपयुक्त अवसर पनि छ । सम्बन्धित मन्त्रालय र निकायहरूसँगको छलफलपछि सरकारले पनि यही नीति लिएको छ । ऊर्जा, अर्थ, उद्योग तथा वाणिज्य मन्त्रालय, निगम र योजना आयोगका सम्बद्ध अधिकारीहरूबीच भएको छलफलमा सहभागी एक अधिकारीले इन्धनमा गरिएको मूल्यवृद्धिले विद्युत् उपयोगतर्फ उपभोक्ता लाग्ने बताए । ऊर्जामन्त्री भुसालले पनि पेट्रोलियमको विकल्प विद्युत् हो भनेर जोड दिइरहेको बताइन् । ‘तर विद्युत् प्रयोगलाई बढावा दिने सरकारको नीतिकै कारण पेट्रोलियम पदार्थका मूल्यवृद्धि गरिएको होइन,’ उनले भनिन् ।

पेट्रोलियम पदार्थ विस्थापन गर्ने सरकारको नीति कार्यान्वयनका लागि विद्युत् वितरण प्रणाली भने निकै कमजोर र अस्तव्यस्त छ । सहरी क्षेत्रमा विद्युत् लोड व्यवस्थापन गर्न नसक्दा ट्रान्सफर्मर पड्किने, तार जल्ने, उपभोक्ताको घरमा बिजुलीको लोड धेरै हुँदा मिनियचर सर्किट ब्रेकर ९एमसीबी० झर्नेलगायत समस्या छन् । ‘हिटर र पानी तान्ने पम्प एकैचोटि चलाउँदा एमसीबी झर्छ,’ काठमाडौं शंखमूलकी लक्ष्मी भण्डारीले भनिन् । साँझ ५ देखि १० सम्म र बिहान ५ देखि १० बजेसम्म विद्युत्को माग बढ्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्प, राइसकुकर, टेलिभिजनलगायत घरायसी विद्युतीय सामग्री यही बेला बढी प्रयोग हुन्छन् ।

विद्युत् उत्पादन र माग बर्सेनि बढ्दो छ । काठमाडौं उपत्यकाको वितरण प्रणालीलाई ६२३ एमभीए क्षमताका ट्रान्सफर्मरले धानिरहेका छन् । प्राधिकरणको वितरण प्रणालीमा १३२/११ केभी क्षमताका ६ वटा ट्रान्सफर्मरबाट १५० एमभीए र ६६/११ केभी क्षमताका २३ वटा ट्रान्सफर्मरले ४७३ एमभीए लोड धान्न सक्छन् । यी ट्रान्सफर्मरबाट ५ सयदेखि साढे ५ सय मेगावाटसम्म विद्युत् लोड गर्न सकिन्छ । प्राधिकरणका अनुसार सामान्य अवस्थामा ४ सय मेगावाटसम्म हुने उपत्यकाको विद्युत् माग हिउँदको पिक आवरमा साढे ४ सयभन्दा माथि पुग्छ ।

जबकि, ट्रान्सफर्मरलाई ५० प्रतिशत क्षमतामा मात्रै चार्ज गर्ने हो भने अहिले नै लोड धान्न नसक्ने अवस्था वितरण प्रणालीको देखिन्छ । प्राधिकरणले २ वर्षअघि सार्वजनिक गरेको रणनीतिक योजनाले कुनै पनि वितरण केन्द्रमा ट्रान्सफर्मरको लोड क्षमता ५० प्रतिशतभन्दा बढी नहुने गरी व्यवस्थापन गर्ने उल्लेख गरेको छ । तर काठमाडौं उपत्यकालगायत मुख्य सहरमा ट्रान्सफर्मर पड्किनुको प्रमुख कारण विद्युत् लोड व्यवस्थापन हुन नसक्नु नै हो ।

सुक्खायाममा वितरण प्रणालीमा अझ बढी समस्या छन् । प्राधिकरणले पोल सार्ने, ट्रान्समिटर बदल्नेलगायत काम यही बेला बढी गर्छ । हिउँदयाममा हावाहुरीका कारण प्रसारण र वितरण प्रणालीमा हुने ट्रिपिङ अर्को समस्या हो । विद्युत्को माग पनि वर्षात्मा भन्दा सुक्खायाममा बढ्छ । ‘लोड व्यवस्थापन सुक्खायाममा बढी चुनौती हुन्छ । किनकि अहिले मानिसको जीवनशैली बदलिएको छ,’ प्राधिकरणका उपकार्यकारी निर्देशक एवं वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख मनोज सिलवालले भने, ‘जाडोयाममा हिटर, वाटर गिजरलगायत सामान बढी चलाइन्छ । तर सबस्टेसनको क्षमताअनुरूप ट्रान्सफर्मर हामीले राखेकै छौं । काठमाडौं उपत्यकामा अहिल्यै आत्तिनुपर्ने स्थिति छैन ।’ काठमाडौं उपत्यकामा सबस्टेसनले धानेको सबै विद्युत् वितरण प्रणालीमा पठाउन सकिने संरचना रहेको उनले दाबी गरे । ‘कतै ओभरलोड हुने र कतै लोड नै नपुग्ने समस्या छैन,’ सिलवालले भने, ‘हामीले केही समयअघि मात्र फिडरहरू मिलाएका छौं । ओभरलोड भएको लोड अन्यत्र सारेका छौं ।’ अहिले प्राधिकरणका कुनै पनि फिडर ६० प्रतिशतभन्दा बढी लोड नभएको समेत उनको भनाइ छ ।

अहिले धेरैजसो घरायसी ग्राहकले सिंगल फेजमार्फत पाँच, पन्ध्र र तीस एम्पियरबाट विद्युत् प्रयोग गरिरहेका छन् । एकैपटक दुई–तीनवटा विद्युतीय सामग्री प्रयोग गर्दा यसले लोड धान्न सक्दैन । तर उपभोक्ताले सधैं थ्री फेज मिटर सजिलै नपाएको गुनासो गरिरहन्छन् । पटक–पटक प्राधिकरणको कार्यालय धाउँदा पनि थ्री फेज मिटर नपाएको मैतीदेवीका सुमन महर्जनले गुनासो गरे । ‘मैले फर्निचर उद्योगका लागि थ्री फेज मिटर जोड्न खोजें । तर प्राधिकरणले विभिन्न बहानामा महिनौं अल्झायो,’ महर्जनले भने ।

प्राधिकरणका उपकार्यकारी निर्देशक सिलवाल भने यो तथ्य स्विकार्न तयार छैनन् । ‘थ्री फेज जडानमा अहिले ढिलाइ हुँदैन । थ्री फेज लिन चाहने ग्राहकलाई ७ देखि १० दिनभित्र जोडिदिने भनेर सार्वजनिक सूचना नै जारी गरेका छौं,’ उनले भने, ‘निजी क्षेत्रका छाता संगठनहरूलाई पत्र पठाएरसमेत यसबारे जानकारी गराएका छौं । विद्युत् मिटरको क्षमता बढाउन अहिले समस्या छैन ।’ थ्री फेज जडानका लागि कर्मचारीले आर्थिक लेनदेन गर्ने गरेको गुनासोबारे पनि प्राधिकरण सचेत रहेको उनले बताए ।

चार वर्षअघिसम्म विद्युत् माग धान्न नसक्ने अवस्थामा रहेको प्राधिकरणका लागि अहिले उत्पादित विद्युत् खपत सबैभन्दा ठूलो चुनौती बनेको छ । कार्यकारी निर्देशकका रूपमा दोस्रो कार्यकालका लागि आएलगत्तै कुलमान घिसिङले ऊर्जा खपतका लागि ‘उज्यालो र सफा सहर अभियान’ लागू गर्ने घोषणा गरे । सहरका सार्वजनिक स्थललाई उज्यालो बनाउने योजना कार्यान्वयनका लागि २० वटा नगरपालिकासँग सम्झौता भइसकेको उनी बताउँछन् । विद्युत् खपत बढाउने यो योजना कार्यान्वयन गर्न लाग्ने खर्चको ४० प्रतिशत प्राधिकरणले व्यहोर्ने गरी सम्झौता गरिएको उनको भनाइ छ ।

विद्युत् खपत बढाउनकै लागि वितरण प्रणाली सुदृढीकरण गर्नुपर्ने विषय प्राधिकरणको पहिलो प्राथमिकतामा रहेकोसमेत उनले बताए । प्राधिकरणले २०७६ कात्तिकमै विद्युत् खपत बढाउने रणनीतिक योजना सार्वजनिक गरेको थियो । तर वितरण प्रणालीको संरचनागत सुधार हुन सकेको छैन । वितरण लाइनलाई ओभरहेड प्रणालीबाट सुधार गर्न असम्भव भएपछि प्राधिकरणले अन्डरग्राउन्ड गर्ने काम थालेको छ । त्यसको कार्यप्रगति भने सन्तोषजनक देखिँदैन ।

पेट्रोलियमलाई विद्युत्ले प्रतिस्थापन गर्ने विषय सकारात्मक छ । तर विद्युत् प्रयोगलाई बढावा दिने नीतिकै कारण पेट्रोलियम पदार्थको मूल्य बढाइएको विषयलाई सरकारले सोझै नभई घुमाउरो ढंगले मात्र स्विकार्छ । त्यसको कारण हो, मूल्यवृद्धिप्रति उपभोक्ताको आक्रोश । विद्युत् उपभोग बढाउने सरकारको नीति भए पनि पेट्रोलियम पदार्थको मूल्य थपघटमा कुनै हस्तक्षेप नगरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताइन् । ‘आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियमको मूल्य थपघट गर्छ । त्यसमा सरकारको कूनै भूमिका रहन्न । तर यसको विकल्प विद्युत् हो भनेर हामीले जोड दिइरहेका छौं,’ उनले भनिन् ।

नेपालभित्रै उत्पादित विद्युत् प्रयोग गर्दा आयातित पेट्रोलियमको खपत कम हुने र त्यसले व्यापार घाटा पनि कम गर्ने भएकाले विद्युतीय सामग्रीको बढी जोड दिइएको मन्त्री भुसालको भनाइ छ । ‘पहिलो, विद्युत् नेपालकै उत्पादन हो र दोस्रो, ग्यासभन्दा सस्तो भएकाले पनि मैले यसको प्रयोगलाई बढावा दिएकी हुँ,’ उनले भनिन्, ‘अझ बढी प्रचार–प्रसार पनि गर्छु । तर हाम्रो यो नीतिले पेट्रोलियमको मूल्य बढेको होइन ।’

यसअघि मन्त्री भुसालले मन्त्रालय र मातहतका निकायले विद्युतीय गाडी मात्रै किन्ने योजना सार्वजनिक गरेकी थिइन् । त्यसका लागि ५० वटा चार्जिङ स्टेसन बनाउने सरकारको योजना छ । यसरी डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधन र ग्यासलाई इन्डक्सन चुलोले प्रतिस्थापन गर्ने सरकारको नीति रहे पनि त्यसका लागि तयार पार्नुपर्ने संरचना र पूर्वाधारमा नेपाल निकै पछि देखिन्छ । पेट्रोलियम विस्थापित गर्ने सरकारको नीतिको विरोध हुनुको मुख्य कारण पनि विद्युतीय संरचनाको समस्या नै देखिन्छ । आयातित इन्धनलाई हतोत्साही गर्ने नीति राम्रो भए पनि वितरण प्रणालीमा हुने अवरोधले उपभोक्ताले निर्धक्क भएर बिजुली प्रयोग गर्न नपाएको उपभोक्ता अधिकारकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । ‘गुणस्तरीय विद्युत् छैन । सरल र सहज विद्युत्को ग्यारेन्टी भयो भने कसैले पनि ग्यास प्रयोग गर्दैनन् । विद्युत्को समस्या औद्योगिक क्षेत्रमा अझ बढी छ,’ उनले भने ।

व्यापार घाटा कम गर्न सरकारले ग्यासको विकल्पमा विद्युत्र इन्डक्सन चुलो प्रयोग गर्ने बताइरहँदा ग्यास आयात बर्सेनि बढिरहेको छ । ग्यासको खपत औसतमा बर्सेनि १० प्रतिशत बढिरहेको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । ‘आयातको अवस्था हेर्दा ग्रामीण र सहरी क्षेत्रमा उस्तै वृद्धि भएको देखिन्छ । आयातसँगै निगमको घाटा पनि धेरै भएको छ,’ उनले भने । २०७५/७६ मा ४ लाख २९ हजार ५ सय टन ग्यास आयात भएकामा २०७६र७७ मा ४ लाख ४८ हजार ५ सय ४९ र २०७७/७८ मा ४ लाख ८१ हजार २ सय ५८ टन आयात भएको निगमको विवरण छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब १ लाख ३५ हजार टन एलपीजी आयात भइसकेको छ । ग्यास आयात वृद्धिसँगै अर्बौं रुपैयाँ बाहिरिएको छ । निगमले गत आर्थिक वर्षमा मात्रै ग्यास खरिद गर्न ३४ अर्ब २४ करोड रुपैयाँ खर्चिएको छ । पछिल्लो समय कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धि र डलरका कारण थप रकम बिदेसिएको छ । निगमकै कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल भने विद्युतीय चुलोको प्रयोग बढाउन निगम तयार रहेको बताउँछन् । ‘एलपी ग्यासबाट हुने घाटा कम हुनु राष्ट्रका लागि राम्रो हो । यसले सरकारी घाटा पनि कम हुन्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा निगमले धान्नै सक्दैन । मूल्य समायोजन नहुँदा समग्र अर्थतन्त्र र निगमले धान्दैन । त्यही भएर मूल्य बढायौं ।’

विद्युतीय चुलोको बजारीकरण (मार्केटिङ) बिना अहिलेकै अवस्थामा यसको प्रयोग सहज नहुने एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेको भनाइ छ । ‘बिजुलीको भाउ सस्तो हुनुपर्‍यो, आयात विस्थापन गर्ने भनेको इन्डक्सन चुलो स्वदेशमै बन्नु हो । यसका लागि पूर्वाधार पनि चाहिन्छ । तर त्यो बनिसकेको छैन,’ उनले भने, ‘धेरै ठाउँमा बिजुली पुगेको छैन । पुगेको स्थानमा गुणस्तरीय छैन । रातारात परिवर्तन हुन सम्भव पनि छैन ।’ तयारी थाल्नु भने राम्रो भएको उनले बताए । त्यसका लागि चुलो पनि स्वदेशमै उत्पादन हुनुपर्ने उनको भनाइ छ । (कान्तिपुर दैनिकमा समाचार छ)