७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मभन्दा चाँडै मात्छिन्



अ+ अ-

दीपकराज गिरी, अभिनेता

पहिलेदेखि नै नाटकमा अभिनय गर्थें । सडक नाटक हुँदै रेडियो नेपालमा काम गर्न थालेँ, मदनदास श्रेष्ठको साथमा । एक दिन अचानक श्रेष्ठ सरले रेडियोभित्रै एउटी युवतीलाई साथै लिएर आउनुभयो । म भित्रै थिएँ । हामीबीच देखादेख भयो । बोलचाल भएन । न हाँस्छे, न बोल्छे । धुम्म परेर बसिरहने केटी देखेर मलाई लाग्यो, ‘कस्ती घमन्डी केटी रहिछे ।’
त्यो दिन त्यत्तिकै भयो । ऊ कतिवेला फर्केर गई थाहै भएन । मचाहिँ आफ्नै काममा व्यस्त थिएँ ।
भोलिपल्टदेखि रेडियोमा आउन थाली । खासमा त्यतिवेला, एउटा रेडियो नाटकमा ‘धनियाँ’ को आवश्यकता थियो । मचाहिँ रामविलासको भूमिकामा थिएँ । त्यसैले, मदनदास सरले उसलाई ल्याउनुभएको रहेछ । अन्ततः हामी रामविलास र धनियाँको भूमिकामा अभिनय गर्ने भयौँ । पहिले न हाँस्ने, न बोल्ने घमन्डी केटी भन्ने ठान्थेँ । तर, चिनजान र बोलचाल बढ्दै गएपछि उनलाई अर्कै रूपमा देख्न थालेँ । र, हाम्रो सम्बन्ध पनि बाक्लिन थाल्यो । कामको बाध्यताले गर्दा पनि हामी नजिक हुनैपर्ने भयो ।
दीपा काम र करिअरको विषयमा अति नै गम्भीर छिन् । पर्दामा उनलाई देख्ने अधिकांशले ‘कडा केटी’ भन्छन् । तर, वास्तविकतामा उनी धेरै फरक छिन् । अति नै कोमल मन र स्वभाव भएकी । सानो कुराले पनि उनलाई छिटै भावुक बनाउँछ, रुवाउँछ । सिनेमा हेर्न सँगै गइयो भने जानुअघि नै हातमा टिस्यु पेपर बोकेर जानुपर्छ । अर्थात्, चलचित्र हेर्दा पनि उनी सहजै रुन्छिन् । अस्ति भर्खरै तिजको सन्दर्भमा सामाजिक सेवामा सक्रिय पाँच महिलालाई सम्मानको आयोजना गरेकी थिइन् दीपाले । कार्यक्रमपछि उनका आँखा आँसुले डम्म भरिएका थिए । मैले त्योवेला याद गरिरहेको थिएँ । यतिसम्म कि बाटोमा हिँड्दा देखिने साना घटनाले पनि उनलाई स्तब्ध बनाउँछन् । यस्ता धेरै क्षणमा म आफैँ प्रत्यक्ष साक्षी बन्दै आएको छु । त्यसो त हामी एकले अर्कोलाई सघाउने र सम्झाउने पनि गर्छौं । एकअर्कालाई सुखदुःखमा साथ दिन्छौँ । मेरै अगाडि धेरैपटक दीपा रोएको याद छ ।
०६० साल भदौ ४ गते वर्षौंको संघर्षपछि हामीले नेपाल टेलिभिजनमा आफ्नो कार्यक्रम प्रस्तुत गर्न पाउने भयौँ । त्यो खबर सुन्दा हामी काठमाडौंकै एउटा कफीसपमा कफी पिउँदै थियौँ । साँच्चिकै त्यो हामी दुवैका लागि खुसीको क्षण थियो । त्यो खुसीमा पनि रोइन् दीपा । मैले पनि आँसु थाम्न सकिनँ ।
दीपा जति नम्र र भावुक स्वभावकी छिन्, त्यति नै कडा पनि । एउटा पुरुषमा हुनुपर्ने कडापन पनि उनीसँग छ । मलाई आफू छैन काम बिग्रने हो कि, भन्ने अनुभूति नै हुँदैन । १७ वर्षे यो सम्बन्धमा उनले मेरो अनुपस्थितिमा पनि राम्रो काम गरेर देखाएकी छिन् । त्यसो त मैले सडक तथा रेडियो नाटक गरिरहँदा उनी टेलिभिजनको अग्निपथ सिरियलमा अभिनय गर्थिन् । टिभीमा मभन्दा उनी पहिले प्रवेश गरिसकेकी थिइन् । हामी रेडियो नाटकमा जमिसकेपछि
बिस्तारै स्टेजमा गइयो, हाम्रो जोडी सफल बन्दै आयो । ‘डिडी जोडी’ भनेर प्रस्तुत हुन थाल्यो ।
हामीबीच आजसम्म कहिल्यै पनि नराम्रो या तितोपना आएको छैन । कहिलेकाहीँ ठाकठुक त पर्छ तर कामकै लागि, जुन सकारात्मक नै हुन्छ । तर, ईष्र्या, डाह र घमन्ड हामीबीच कहिल्यै देखिएको छैन । बरु, कहिलेकाहीँ रिस उठ्दा हामी जिस्क्याउने नामले बोलाउँछौँ । दीपाले मलाई ‘जोगी’ भनेर बोलाउँछिन् । मचाहिँ उनलाई ‘काली’ भनेर जिस्क्याउने गर्छु । अनि ‘बज्यै’ पनि । म गिरी भएकाले उनले मलाई जोगी भनेकी हुन्, उनी ब्राह्मण भएकीले मैले बज्यै । जे भनेर जिस्क्याए पनि हामीबीच नराम्रो भने कहिल्यै भएन । हाम्रो सम्बन्धकै कारण मेरो र उनको पारिवारिक सम्बन्धमा कुनै तिक्तता छैन । मेरो घरमा उनी आउँछिन्, म उनीकहाँ पनि जान्छु ।
पार्टी या विशेष अवसरमा हामी सँगै बसेर पिउँछौँ पनि । धेरै भने होइन । चियर्स मात्रै गर्ने । पहिले दीपा चार पेग पिउँथिन् । अचेल घटेको छ । मचाहिँ उनीभन्दा अलिक बढी नै पिउँछु । थोरै नै पिए पनि उनी मभन्दा चाँडै मात्छिन् । मातेपछि उनीसँग सिरियस कुरा गर्नै हुँदैन । मातेपछि उनलाई रमाइलो गरिरहनुपर्छ । नाचगान गर्ने पनि उनको बानी हो । एक त गम्भीर स्वभाव हुने मान्छेको अगाडि पिएपछि गम्भीर कुरा गर्नु हुँदैन भन्ने मान्यता भएकाले पनि होला ।
जे भए पनि, उनी काममा अति नै सचेत छिन् । परिश्रमी छिन् । कुनै पुरुषभन्दा कम नआँके हुन्छ उनलाई । चाँडै रिसाउने चाहिँ दीपाको असाध्यै नराम्रो बानी हो ।