२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

मभन्दा चाँडै मात्छिन्

मभन्दा चाँडै मात्छिन्
अ अ+ अ-

दीपकराज गिरी, अभिनेता

पहिलेदेखि नै नाटकमा अभिनय गर्थें । सडक नाटक हुँदै रेडियो नेपालमा काम गर्न थालेँ, मदनदास श्रेष्ठको साथमा । एक दिन अचानक श्रेष्ठ सरले रेडियोभित्रै एउटी युवतीलाई साथै लिएर आउनुभयो । म भित्रै थिएँ । हामीबीच देखादेख भयो । बोलचाल भएन । न हाँस्छे, न बोल्छे । धुम्म परेर बसिरहने केटी देखेर मलाई लाग्यो, ‘कस्ती घमन्डी केटी रहिछे ।’
त्यो दिन त्यत्तिकै भयो । ऊ कतिवेला फर्केर गई थाहै भएन । मचाहिँ आफ्नै काममा व्यस्त थिएँ ।
भोलिपल्टदेखि रेडियोमा आउन थाली । खासमा त्यतिवेला, एउटा रेडियो नाटकमा ‘धनियाँ’ को आवश्यकता थियो । मचाहिँ रामविलासको भूमिकामा थिएँ । त्यसैले, मदनदास सरले उसलाई ल्याउनुभएको रहेछ । अन्ततः हामी रामविलास र धनियाँको भूमिकामा अभिनय गर्ने भयौँ । पहिले न हाँस्ने, न बोल्ने घमन्डी केटी भन्ने ठान्थेँ । तर, चिनजान र बोलचाल बढ्दै गएपछि उनलाई अर्कै रूपमा देख्न थालेँ । र, हाम्रो सम्बन्ध पनि बाक्लिन थाल्यो । कामको बाध्यताले गर्दा पनि हामी नजिक हुनैपर्ने भयो ।
दीपा काम र करिअरको विषयमा अति नै गम्भीर छिन् । पर्दामा उनलाई देख्ने अधिकांशले ‘कडा केटी’ भन्छन् । तर, वास्तविकतामा उनी धेरै फरक छिन् । अति नै कोमल मन र स्वभाव भएकी । सानो कुराले पनि उनलाई छिटै भावुक बनाउँछ, रुवाउँछ । सिनेमा हेर्न सँगै गइयो भने जानुअघि नै हातमा टिस्यु पेपर बोकेर जानुपर्छ । अर्थात्, चलचित्र हेर्दा पनि उनी सहजै रुन्छिन् । अस्ति भर्खरै तिजको सन्दर्भमा सामाजिक सेवामा सक्रिय पाँच महिलालाई सम्मानको आयोजना गरेकी थिइन् दीपाले । कार्यक्रमपछि उनका आँखा आँसुले डम्म भरिएका थिए । मैले त्योवेला याद गरिरहेको थिएँ । यतिसम्म कि बाटोमा हिँड्दा देखिने साना घटनाले पनि उनलाई स्तब्ध बनाउँछन् । यस्ता धेरै क्षणमा म आफैँ प्रत्यक्ष साक्षी बन्दै आएको छु । त्यसो त हामी एकले अर्कोलाई सघाउने र सम्झाउने पनि गर्छौं । एकअर्कालाई सुखदुःखमा साथ दिन्छौँ । मेरै अगाडि धेरैपटक दीपा रोएको याद छ ।
०६० साल भदौ ४ गते वर्षौंको संघर्षपछि हामीले नेपाल टेलिभिजनमा आफ्नो कार्यक्रम प्रस्तुत गर्न पाउने भयौँ । त्यो खबर सुन्दा हामी काठमाडौंकै एउटा कफीसपमा कफी पिउँदै थियौँ । साँच्चिकै त्यो हामी दुवैका लागि खुसीको क्षण थियो । त्यो खुसीमा पनि रोइन् दीपा । मैले पनि आँसु थाम्न सकिनँ ।
दीपा जति नम्र र भावुक स्वभावकी छिन्, त्यति नै कडा पनि । एउटा पुरुषमा हुनुपर्ने कडापन पनि उनीसँग छ । मलाई आफू छैन काम बिग्रने हो कि, भन्ने अनुभूति नै हुँदैन । १७ वर्षे यो सम्बन्धमा उनले मेरो अनुपस्थितिमा पनि राम्रो काम गरेर देखाएकी छिन् । त्यसो त मैले सडक तथा रेडियो नाटक गरिरहँदा उनी टेलिभिजनको अग्निपथ सिरियलमा अभिनय गर्थिन् । टिभीमा मभन्दा उनी पहिले प्रवेश गरिसकेकी थिइन् । हामी रेडियो नाटकमा जमिसकेपछि
बिस्तारै स्टेजमा गइयो, हाम्रो जोडी सफल बन्दै आयो । ‘डिडी जोडी’ भनेर प्रस्तुत हुन थाल्यो ।
हामीबीच आजसम्म कहिल्यै पनि नराम्रो या तितोपना आएको छैन । कहिलेकाहीँ ठाकठुक त पर्छ तर कामकै लागि, जुन सकारात्मक नै हुन्छ । तर, ईष्र्या, डाह र घमन्ड हामीबीच कहिल्यै देखिएको छैन । बरु, कहिलेकाहीँ रिस उठ्दा हामी जिस्क्याउने नामले बोलाउँछौँ । दीपाले मलाई ‘जोगी’ भनेर बोलाउँछिन् । मचाहिँ उनलाई ‘काली’ भनेर जिस्क्याउने गर्छु । अनि ‘बज्यै’ पनि । म गिरी भएकाले उनले मलाई जोगी भनेकी हुन्, उनी ब्राह्मण भएकीले मैले बज्यै । जे भनेर जिस्क्याए पनि हामीबीच नराम्रो भने कहिल्यै भएन । हाम्रो सम्बन्धकै कारण मेरो र उनको पारिवारिक सम्बन्धमा कुनै तिक्तता छैन । मेरो घरमा उनी आउँछिन्, म उनीकहाँ पनि जान्छु ।
पार्टी या विशेष अवसरमा हामी सँगै बसेर पिउँछौँ पनि । धेरै भने होइन । चियर्स मात्रै गर्ने । पहिले दीपा चार पेग पिउँथिन् । अचेल घटेको छ । मचाहिँ उनीभन्दा अलिक बढी नै पिउँछु । थोरै नै पिए पनि उनी मभन्दा चाँडै मात्छिन् । मातेपछि उनीसँग सिरियस कुरा गर्नै हुँदैन । मातेपछि उनलाई रमाइलो गरिरहनुपर्छ । नाचगान गर्ने पनि उनको बानी हो । एक त गम्भीर स्वभाव हुने मान्छेको अगाडि पिएपछि गम्भीर कुरा गर्नु हुँदैन भन्ने मान्यता भएकाले पनि होला ।
जे भए पनि, उनी काममा अति नै सचेत छिन् । परिश्रमी छिन् । कुनै पुरुषभन्दा कम नआँके हुन्छ उनलाई । चाँडै रिसाउने चाहिँ दीपाको असाध्यै नराम्रो बानी हो ।