११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि



अ+ अ-

धनुषा। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्दै सङ्गठनात्मक एकता कायम राख्नुपर्नेमा जोड दिनुभएको छ ।

आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित ‘नेपाली कांग्रेस एकता, पार्टी सुदृढीकरण तथा देशको समसामयिक राजनीतिक विषयमा छलफलका लागि मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उहाँले विचार र दृष्टिकोणमा फरकपन हुनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भए पनि त्यसलाई विभाजन वा टकरावका आधार बनाउन नहुने विचार व्यक्त गर्नुभयो ।

उहाँले पार्टीभित्र देखिएको असन्तुष्टि, सङ्गठन सञ्चालनका विषयमा उठेका प्रश्न तथा नेतृत्वप्रतिको गुनासोलाई खुला छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसको मुख्य शक्ति यसको लोकतान्त्रिक संस्कार, कार्यकर्ताको समर्पण र सङ्गठनात्मक एकतामा रहेको बताउनुभयो । पार्टीलाई आगामी दिनमा थप सशक्त, प्रभावकारी र जनमुखी बनाउन सबै पक्षले साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

निधिले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको आवश्यकता रहेको उल्लेख गर्दै कांग्रेसले संविधान, लोकतन्त्र, सङ्घीयता, समावेशिता र सामाजिक न्यायका पक्षमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक एकता बलियो भए मात्र कांग्रेसले जनताको अपेक्षाअनुसार काम गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।

भेलाका संयोजक तथा राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुङ्गानाले भेलाको उद्देश्यबारे जानकारी गराउँदै पार्टीभित्र देखिएका विभिन्न धारणा र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाबाट व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कांग्रेसको सङ्गठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउने, कार्यकर्ताको भावना नेतृत्वसमक्ष पु¥याउने तथा समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले कांग्रेसभित्र उठेका प्रश्नहरूलाई निषेध वा बेवास्ता गरेर होइन, खुला बहस र छलफलमार्फत समाधान खोज्नुपर्ने बताउँदै पार्टी एकता नै सबैको साझा प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । लोकतान्त्रिक पार्टीभित्र फरक मत रहनु अस्वाभाविक नभएको उल्लेख गर्दै उहाँले ती मतलाई सम्मानपूर्वक व्यवस्थापन गर्न सकिए सङ्गठन थप बलियो बन्ने विचार व्यक्त गर्नुभयो ।

नेता उमाकान्त चौधरीले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई व्यवहारमा उतार्न नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध थप मजबुत हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीको निर्णय प्रक्रिया पारदर्शी, सहभागितामूलक र कार्यकर्तामैत्री हुनुपर्ने धारणा राख्दै सङ्गठनलाई चलायमान बनाउन तल्लो तहका कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नेता मोहनबहादुर बस्नेतले कांग्रेसलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित राख्न सङ्गठनात्मक सुधार, नेतृत्वको उत्तरदायित्व, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेता  गुरुप्रसाद बरालले कांग्रेसभित्र उठेका आवाज र बहसलाई पार्टीको लोकतान्त्रिक जीवनको अभिन्न अङ्गका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले फरक विचार राख्नेहरूलाई विरोधीका रूपमा नभई पार्टीलाई थप सुदृढ बनाउन योगदान गर्ने पक्षका रूपमा हेर्नुपर्ने धारणा राख्दै अन्ततः सबैको लक्ष्य कांग्रेसलाई बलियो बनाउने नै रहेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले मधेस प्रदेशका कार्यकर्ताको भावना, सङ्गठन विस्तार, जनसम्पर्क अभिवृद्धि र पार्टी सुदृढीकरणका विषयमा आफ्नो धारणा राख्नुभयो । उहाँले पार्टीको सङ्गठनात्मक संरचनालाई सक्रिय र प्रभावकारी बनाउन कार्यकर्ताको भूमिका निर्णायक हुने बताउनुभयो ।

भेलाको अध्यक्षता नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले गर्नुभएको थियो । अध्यक्षीय मन्तव्यमा उहाँले कांग्रेसभित्र एकता कायम राख्दै सङ्गठनलाई बलियो बनाउने दिशामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्रको संवाद र सहकार्यलाई सुदृढ गर्दै लोकतान्त्रिक संस्कारलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । रासस