एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले देशमा राजनीतिक स्थिरता र आर्थिक विकास आफ्नो पार्टीको मूल एजेण्डा भएको बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एनआरएनका प्रतिनिधिसँग भेटघाट गर्दै अध्यक्ष प्रचण्डले देश निर्वाचनको मुखमा गईरहेकाले सबैले निर्वाचन सफल पार्न आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
अघिल्लो पटक ठुलो पार्टी भएपनि स्पष्ट बहुमत नभएकाले स्थिर सरकार र संविधान बन्न नसकेको औंल्याउँदै उहाँले एमाओवादीलाई स्पष्ट बहुमत दिए मात्र नेपाली जनताले संविधान र देशले बिकास पाउने ठोकुवा गर्नुभयो । देशमा आर्थिक अभावका कारण विदेशमा नेपाली पलायन हुनु राम्रो नभएको बताउँदै अध्यक्ष प्रचण्डले सीप, दक्षतालाई बढाउनुपर्ने कुरामा जोड दिनु भयो ।