बविन शर्मा
संविधानसभाको निर्वाचन आउन झण्डै २ हप्ता बाकी रहँदा एकीकृत नेकपा माओवादीले सुदूरपूर्वबाट ७ दिने मेची–काली चुनावी अभियान शुरु गरेको छ । एमाओवादीको यो अभियानको विभिन्न कोणबाट चर्चा परिचर्चा शुरु भईसकेका छन् । जुन स्वभाविक पनि छ । यस अभियानबारे हामीले पनि केही टिप्पणी गर्नु सान्दर्भिक छ ।
जुनसुकै पार्टीको होस्, पहिलोकुरा, चुनावको पक्षमा रहेर गरिने अभियानले त्यो पार्टीका नीति तथा कार्यक्रमलाई जनतासम्म पुर्याउन सहयोग गर्छ । एकीकृत नेकपा माओवादीले शुरुवात गरेको र अरु धेरैले समर्थन गरेको संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समानुपातिकता, लगायतका एजेण्डाको नेतृत्वकर्ता भएकाले पनि त्यसको मुल्यबोध जनतासम्म गराउनु एमाओवादीको दायीत्व थियो । देश पुरानै राज्य व्यवस्थामा फर्कने कतिपय चर्चाहरुलाई कमजोर बनाउन पनि अग्रगामी एजेण्डाका पक्षमा देशव्यापी अभियान चाल्नु पर्दथ्यो । त्यो दायीत्व एमाओवादीले पुरा गरेको छ । अझ यस्ता अभियानले कुन पार्टीले चुनाव गर्न चाहेको छ, कुनले छैन वा कसले बाहाना खोजिरहेको छ भन्ने कुरा जाँच्ने अवसर पनि मतदातालाई नै दिएको छ ।
दोश्रो कुरा यस्ता अभियानले चुनावी सुनिश्चतताका लागि पनि सकारात्मक भुमिका खेल्छ । चुनाव हुदैन की, बिथोलिन्छ की, भन्ने भयलाई यस्ता राष्ट्रिय स्तरका अभियानले एकहद सम्म चिर्नेछन् । त्यसैले हामी भन्छौं राष्ट्रकै एजेण्डा बनेको चुनावको पक्षमा काँग्रेस, एमाले लगायत अन्य पार्टीले किन मास स्केलको अभियान अझै नगरेका ? यदि उनीहरु पनि मैदानमा आफ्ना एजेण्डा लिएर उत्रेका भए मतदाताले सबैलाई छाम्ने अबसर पाउने थिए । कसको मुद्धा ठिक र कसको बेठिक ? कुन उमेदवार ठिक को बेठिक ? कसले देश बनाउछ कसले बनाउदैन ? कुन पार्टिको निति कार्यक्रम ठिक कसको बेठिक । यस्ता अभियान कुन दलका एजेण्डा के छन्, र त्यसलाई कार्यान्वयनमा लैजान कत्तिको सामथ्र्य राख्दछन् भन्ने कुराको मापन जनता आफैले गर्ने अबसर पनि हुन सक्छन् । यस्ता विषय आम मतदाताले जान्ने अबसर पाएनन् भने पनि त्यो चुनावको औचित्य र मर्ममाथि प्रश्न उठ्न सक्छ । जब मतदाताले सवैकुरा बुझेर निश्पक्ष मतदान गर्छन् अनिमात्रै सहि दूधको दूध पानीको पानी छुट्टिन्छ ।
अर्को कुरा अभियान चलाउनेहरुले पनि फगत हल्लाखल्ला मात्रै हैन जनतासमक्ष स्पस्ट ढंगले चुनावको पक्षमा मत बनाउनु पर्छ । आफ्ना पार्टिको संविधान बनाउने र देश चलाउने एजेण्डा के हो ? प्रष्ट भन्न सक्नु पर्छ । मतदातालाई आफ्ना कुरा थोपर्ने मात्र हैन सुझाव, गुनासा र आलोचना सुन्न पनि सक्नुपर्छ ।