• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

असुरक्षित गर्भपतनले मृत्युसँग लडिरहेकी छन् सुनिता



खोटाङ, भदौ ५ । प्रेम र त्यसपछिको आनन्दले मृत्युको संघारमा पुर्‍याउँछ भन्ने थाहा थिएन बुइपा–४की १५ वर्षीया सुनिता राईलाई ।

महेन्द्रोद्धय उच्च मावि हलेसीस्थित कक्षा ८ मा अध्ययरत सुनिता मंगलटार–९ का १९ वर्षीय दीपेन्द्र राईसँग प्रेम बन्धनमा गाँसिएपछि यतिखेर जिल्ला अस्पताल खोटाङको श्ययामा मृत्युसँग लडिरहेकी छन् ।

दीपेन्द्रसँग प्रेम सम्बन्ध बसेपछि सुनिता गर्भवती भइन् । त्यसपछि आफ्नो पेटमा हुर्कदै गरेको करिब तीन महिनाको गर्भ खोल्न प्रेमी दीपेन्द्रले आग्रह गरे । सँगै मर्ने र सँगै बाँच्ने बाचा गरेको प्रेमीको आग्रहलाई अस्वीकार गर्न नसकेर सुनिताले प्रेमीले दिएको गर्भ फाल्ने औषधि खाइन् ।

औषधि खाएपछि अत्यधिक रक्तस्राव भयो र त्यसैले सुनिता मृत्युसँग लडिरहेकी हुन् । गत साउन ३२ गते जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी सुनिताको अवस्था गम्भीर रहेको अस्पतालका प्रमुख चिकित्सक माधवप्रसाद लम्सालले बताए ।

चिकित्सक लम्सालका अनुसार अत्यधिक रक्तस्रावका कारण सुनिताको दुबै मिर्गौलाले काम गर्न छाडेको छ । भर्ना भएको चार दिनपछि अस्पतालले थप उपचारका लागि पठाएपनि उडान अवरुद्ध र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सुविधा सम्पन्न ठाउँमा उपचारमा लैजान सकेका छैनन् ।

सुनितालाई माया जालमा फसाएर गर्भ फाल्ने औषधि खुवाउने दीपेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । दीपेन्द्रलाई कारबाही गर्नुको साटो सुनिताको उपचारमा भएको सम्पूर्ण खर्च बेहोराउने पक्षमा सुनिताको आफन्त लागिपरेका छन् ।

सुनिताका काका हिमाल राईका अनुसार आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च खेपाउनुका साथै सुनितालाई जिम्मा लगाउने तयारी गरिएको छ ।

पक्राउ परेका दीपेन्द्रले सुनिताको उपचार खर्च बेहोर्नुका साथै विवाह गर्ने बताएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।

‘सुनिताको कम उमेर भएकाले सहमतिमा गर्भपतन गर्ने औषधि खुवाएको दीपेन्द्रले स्वीकारेका छन्, त्यसैले पीडित सुनिताको आफन्तको कुरा बुझेर कारबाही अगाडि बढाइनेछ’–उनले भने ।

त्यसो त जिल्लामा भएको यो प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय जिल्लामा यस्ता थुप्रै घटना भएका छन् । गाउँमा गर्भपतनका लागि औषधि सेवन गर्ने र पार नलागेपछि जिल्ला अस्पताल आउने गरेको प्रमुख चिकित्सक लम्सालको भनाइ छ ।

‘गाउँमा गर्भपतनका लागि जाथाभावी औषधि सेवन गर्ने र पार नलागेपछि अस्पताल आउनेको संख्या मासिक पाँच/६जना हुन्छ’–लम्सालले भने–‘अस्पतालमा वैधानिक तवरले सुरक्षित गर्भपतन गर्ने सुविधा हुँदाहुँदै जथाभावी गर्भपतन गराउनाले ज्यान जोखिममा परेको छ ।’

‘अस्पतालमा गोपनीयता नहुने भन्ने भ्रम छ, त्यो निराधार हो, यसका लागि गाउँगाउँमा सूचना दिनु जरुरी छ’–उनले अगाडि थपे ।

अस्पताल स्रोतका अनुसार पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि भएको पाइएको छ । गत आर्थिक वर्ष २०७१/७२ मा मात्रै १२९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स उर्मिला राईले बताइन् ।

अस्पतालमा भन्दा बाहिरी क्लिनिकमा गर्भपतन गराउनेको सङ्ख्या दोब्बर रहेको स्रोतको दाबी छ । यसमा स्वास्थ्यकर्मीकै मिलेमतोमा अनधिकृत क्लिनिकमा गर्भपतन हुने गरेको जनाइएको छ ।

स्रोतका अनुसार निजी क्लिनिक सञ्चालकले एकपटक गर्भपतन गरिदिएबापत रु ५० हजारसम्ममा लिएको तथ्य खुलेको छ । जिल्लामा १९ वटा निजी क्लिनिक सञ्चालनमा छन् । प्रत्येक क्लिनिकबाट प्रतिदिन पाँच/६ वटा गर्भ रहन नदिने इकोन बिक्री हुने गरेको क्लिनिक सञ्चालकले बताएका छन् । रासस