१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 1.54

Humidity: 64

Latest
कर वृद्धिमा कुनै पनि देशलाई छोड्दैनौँः अमेरिकी राष्ट्रपति ट्रम्प केटी पेरी महिला उडानमा अन्तरिक्षमा उडान भर्न तयार शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा बलियो सरकारको बजेट कार्यान्वयन फितलो, अबको तीन महीनामा ८ खर्ब ६२ अर्ब बजेट खर्च होला… एमालेले ७ जनालाई ‘कम्युनिस्ट योद्धा’बाट सम्मान गर्ने समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासबाट अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ: पूर्व राष्ट्रपति भण्डारी कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो शिक्षक आन्दोलनको १३ दिनः सरकार र शिक्षक दुवै नैतिक दबाबमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा एवं दर्शन



अ+ अ-

काठमाडौँ, २७ भदौ (रासस) ः नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका (तीज)का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न जानुहुँदा उहाँलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कोष सञ्चालक परिषद्का सदस्य एवं कर्मचारीले स्वागत गर्नुभएको थियो । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टले फूल एवं प्रसाद दिनुभएको थियो ।

सात लाखभन्दा बढी भक्तजन

तीजका अवसरमा पशुपतिनाथ मूल मन्दिरभित्र प्रवेश गरेर सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेको कोषका सदस्यसचिव डा ढकालले जानकारी दिनुभयो । बेलुकी ८ बजेसम्म भक्तजन लाममा बसेर पशुपतिनाथको दर्शन गरेका थिए । राष्ट्रपति भण्डारी मन्दिर प्रवेश गर्नुअघि एक घण्टा लाम बसेका दर्शनार्थीलाई मन्दिर प्रवेश गर्न दिइएको थिएन ।

यस वर्ष लाम व्यवस्थित गरिएकाले तिलगङ्गा–गौशाला–चावहिल मार्गमा दिनभर सार्वजनिक यातायात सञ्चालन भयो । यसले गर्दा पनि भक्तजन आवतजावत गर्न सहज भएको थियो । यस वर्ष एक घण्टामा मन्दिरभित्र पुगेर दर्शन गरी बाहिर निस्कन सकिएको झापाबाट आउनुभएकी दर्शनार्थी जानुका गुरागाईंले सुनाउनुभयो ।

दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको थियो । तीजका दर्शनार्थीलाई प्रवेश गराउन मन्दिरका चार ढोका बेलुकी ८ बजेसम्म खुला गरियो । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा दिनभर भीड लाग्यो ।

पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गरी रुद्रगाडेश्वर नयाँ फलामे भ¥याङ हुँदै कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको थियो । 

जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरिने र वनकाली–चारशिवालय–पञ्चदेवलपूर्व–बज्रघर–दक्षिणढोका हुँदै चौँसट्ठी लिङ्गको सानोढोकाबाट मन्दिर प्रवेश गरी दक्षिणढोकाबाट बाहिरिने व्यवस्था गरिएको थियो ।

दर्शनार्थीका सवारी पार्किङ गर्नका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भागमा स्थान छुट्याइएको थियो । पर्वसँग सम्बन्धित सरकारी निकायका कर्मचारीको सवारी भने कोषको कार्यालय र अमालकोट कचहरीको कार्यालय परिसरमा राख्ने व्यवस्था गरियो । पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर उपत्यकाबाहिर धनेश्वर, कुशेश्वर, हलेसीलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्यो ।
–––