५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्चियन ‘ब्लेसिङ’ र समृद्धि



अ+ अ-
कृष्ण खनाल
नामै नसुनिएका संस्थाहरूबाट विद्यावारिधि लगायत डक्टरेट उपाधि घर–घरमै भिर्ने नेताहरू भएको देश हो– नेपाल । आफ्नै भाषणको संग्रहलाई पुस्तक भनेर पाहुनालाई उपहार दिनु अर्को हास्यास्पद नमुना हो ।

काठमाडौँ — इसाई धर्मको एउटा मत प्रतिनिधित्व गर्ने युनिफिकेसन चर्चको प्रचारका लागि त्यसैसँग आबद्ध गैरसरकारी संस्था, युनिभर्सल पिस फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिट सकियो । काठमाडौंको नागरिक जीवनले ट्राफिक राजबाट राहत पायो, एउटा ठूलो उपलव्धि यही हो । सम्मेलनमा के भयो ? उद्देश्य के थियो ? त्यो अझै विवादित छ । तर यसले हाम्रो राष्ट्रिय, अन्तर्राष्ट्रिय सोचको गिर्दो स्तर र सरकारको नेतृत्व गर्ने टोलीको नालायकीपनलाई हदैसम्म नङ्ग्याइदिएको छ । शंका लाग्न थालेको छ, यो मञ्चनमा के प्रधानमन्त्री केपी शर्मा ओली होसहवाससहित सहभागी भएका हुन् वा उनको नाममा काम गर्ने सहयोगी टोलीको स्वार्थरञ्जित फोहोरी र अस्वस्थ चलखेल ?

नेपालको अवस्था हेर्दा ठूलो अन्तर्राष्ट्रिय भेला आयोजना गर्ने हैसियत हामीसँग रहेनछ । गत भदौमा बिमस्टेक शिखर सम्मेलनकै बेला यो प्रस्ट भइसकेको थियो । उपलव्धि के हुन्छ, थाहा छैन । तर आम मानिसको दैनिकी थोरै दिनका लागि भए पनि लथालिङ्ग भएको अनुभव सबैको छ । सार्क, बिमस्टेकको अन्तर्राष्ट्रिय र क्षेत्रीय महत्त्व छ ।

यसको आयोजनामा राष्ट्रको प्रतिष्ठा र प्रतिबद्धता जोडिन्छ । त्यसमा विमति जनाउने कुरा हुँदैन । तर एउटा गैरसरकारी संस्था (एनजीओ) को समिटका लागि त्यसलाई दोहोर्‍याउने र आम नागरिकको दैनिकी बिथोल्ने काम सह्य हुँदैन । यो सन्देश यसपटक प्रभावकारी रूपमा प्रवाहित भएको छ । जोर–विजोर यातायात नियमन समिट नसकिंँदै फिर्ता भयो ।

युनिफिकेसन चर्च इसाई धर्मको एउटा मत प्रतिनिधित्व गर्ने कोरियाको धनाढ्य संस्था हो । आफ्नो मतप्रति धर्मान्तरण (इसाईकरण) यसको प्रमुख काम हो । ‘ब्लेसिङ’ त्यसैको एउटा रूप हो । जहाँ चर्चको नाम बिक्दैन, गैससको आवरणले काम गर्छ । नेपाल लगायत विभिन्न देशमा यसले गैसस जालोबिछ्याएको छ । यही पृष्ठभूमिमा परिवार दल भनेर राजनीतिक पार्टी पनि क्रियाशील छ ।

सैद्धान्तिक रूपमा दाबी नगरे पनि त्यो मतको राजनीतिक प्लेटफर्म हो– परिवार दल । त्यही दलको नाममा यसका नेपाल प्रतिनिधि एकनाथ ढकाल संविधानसभाकोसदस्य निर्वाचित भए, मन्त्री पनि भए । दल अहिले पनि क्रियाशील छ । यो समिटमा गैसस, राजनीति र एउटा धार्मिक मत मिसिएको प्रस्ट छ ।

सत्तारुढ नेकपाको प्रमुख घटक तत्कालीन नेकपा (एमाले) लाई एनजीओ पार्टी भनेर मानिसहरू कुरा काट्छन् । वरिष्ठदेखि विभिन्न नेताका पटक–पटक विदेश भ्रमण यसै संस्थाको प्रायोजनमा हुने गरेको छ भनी आलोचना पनि गरिन्छ । समिट आयोजक समितिका संयोजक माधवकुमार नेपाल स्वयम् थिए भनेर चर्चा छ । संविधानसभाबाट संविधान बनाइरहँदा केपी शर्मा ओली एनजीओ/आईएनजीओप्रति कटाक्ष गर्थे, यसको विपक्षी धारमा आफूलाई उभ्याउँथे ।

प्रधानमन्त्री भएपछि तिनका गतिविधिमाथि कठोर नियमन गर्ने प्रधानमन्त्री कार्यालयको तयारी रहेको चर्चा आयो । उनको पार्टी र टिमलाई हेर्दा यो आफैंमा अन्तरविरोधी कुराजस्तो लाग्थ्यो । सम्पन्न समिटले यसको पुष्टि गरेको छ । यसले गैससको स्वस्थ नियमन होइन, अनुचित लाभको केन्द्रीयकरणका लागि सरकार र सत्तारुढ पार्टी लागिपरेको छ भन्न ठाउँ दिएको छ ।

राजनीतिक दलको क्रियाकलापमा एनजीओ/आईएनजीओ कनेक्सन सम्बन्धित दल आफैंले विचार गर्ने विषय हो । तर प्रधानमन्त्री वा सत्तारुढ दल कसैले त्यसको प्रभावमा काम गर्छ, त्यसको प्लेटफर्म उपयोग/दुरुपयोग गर्छ भने त्यो आम चासोको विषय बन्छ, बन्नुपर्छ । प्रधानमन्त्री र उनको सरकारी टोलीमात्र होइन, सभामुख, वरिष्ठ नेता, मन्त्रीहरूसमेतलर्को लागेर ‘ब्लेसिङ’ थाप्न पुगे ।

जब सिङ्गो कार्यक्रम ‘ब्लेसिङ’ लक्षित थियो भने चर्को आलोचनाको भयबाट पन्छिन अन्तिम क्षणमा अनुपस्थित रहेर कोही चोखिने कुरा हुँदैन । पुनर्गठित नेकपाको ठूलो माउ घटक एमाले नै हो । गैसस जालोका हस्तीहरूको पार्टी र सरकारका महत्त्वपूर्ण निकायमा प्रभावशाली उपस्थिति छ । नारायणकाजीहरूको निरीह विरोधले नेकपाको त्यो कनेक्टिभिटी कमजोर हुँदैन, बरु उनी आफै पाखा लाग्ने अवस्था बन्छ ।

यो समिटको धार्मिक वा राजनीतिक पक्ष मेरो त्यति सरोकारको विषय होइन । मानिसका धार्मिक आस्थालाई म सम्मान गर्छु । तर धार्मिक आवरणमा राजनीति गर्न हुँदैन भन्ने मेरोमान्यता छ । हामी एउटा खुला राजनीतिक अभ्यासभएको समाजमा छौं । आस्था र विचारको स्वतन्त्रता छ । कुनै आस्था र विचारसंँग जोडिएको राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ–संस्थाले यस्ता सम्मेलन आयोजना गर्नुमा खासैआपत्ति जनाउनुपर्ने कुरा होइन । तर यो समिटका सन्दर्भमा सरकारले जसरी आफ्नो कूटनीतिक हैसियतको खुलेआम दुरुपयोग गरेको देखियो, त्यो गम्भीर सरोकारको विषय हो ।

यो समिटको आयोजक नेपाल सरकार होइन, उसको कार्यक्षेत्रभित्र पनि पर्दैन । तर प्रोक्सी आयोजक भने मजैसँंग बन्यो । नेपालमा काम गर्न अनुमति पाएका कुनै पनि संघ/संस्थाले आफ्नो उद्देश्य र कार्यक्रमको सिलसिलामा यहाँ सम्मेलन गर्न सक्छन् । सरकारले त्यसलाई अनुमति दिन सक्छ । त्यसो भन्दैमा जुनसुकै संस्थाको कार्यक्रममा सहआयोजक भनेर मुलुक र सरकारको नाम जोड्नु उचित होइन । संवेदनशील र विवादित संस्था तथा विषयमा सरकारले अनुमति दिने कुरा हुँदैन । यो समिटमा सरकारको सहभागिताको निर्णय र औचित्य पुष्टि भएको पाइन्न । परराष्ट्र मन्त्रालय बेखबर देखिन्छ । सरकारकै भनाइ पनि एकरूपमा आउन सकिराखेको छैन ।

युनिभर्सल पिस फाउन्डेसन देखिने आयोजक भए पनि युनिफिकेसन चर्चकी प्रमुख हक जा मुनले सहभागी दम्पतीलाई ‘पवित्र माता’को रूपमा आशिर्वाद दिनु यो समिटको मुख्य कार्यक्रम देखिन्छ । प्रधानमन्त्रीलाई प्रारम्भमै यसको सबै पक्षमा ब्रिफिङ भयो कि भएन, प्रश्न गर्न सकिन्छ ।

अन्यथा एउटा संस्थाले ५० भन्दा बढी देशका प्रधानमन्त्री लगायत उच्चपदस्थ सरकारी पदाधिकारी, राजनीतिक व्यक्तिहरूलाई आमन्त्रण गरेर आफूखुसी नेपालमा यस्तो कार्यक्रम गर्न सकिने र हुने कुरा होइन । म्यानमारकी आङसाङ सुकी, कम्बोडियाका प्रधानमन्त्री हुनसेन लगायत उच्चपदस्थ सहभागीहरू नेपाल सरकारको निमन्त्रणाबेगर आउने कुरा हुन सक्तैन ।

संयुक्त राष्ट्रसंघीय कार्यक्रममा न्युयोर्क वा जेनेभा गएजस्तो होइन । प्रश्न उठ्छ, सरकारले कुन निर्णय र नीतिका आधारमा उनीहरूलाई आमन्त्रण गर्‍यो, निमन्त्रणापत्र लेख्यो ? मुलुकको प्रधानमन्त्री र सरकारले कसैका लागि प्रोक्सी भएर काम गर्नु भनेको राष्ट्रिय लज्जाको विषय हो । सार्वभौम संसदले यसबारे विस्तृत जानकारी माग्नुपर्छ, स्वतन्त्र छानबिन गर्नुपर्छ ।

समृद्धिको नारामा सरकारको नेतृत्व गर्न पुगेका प्रधानमन्त्री ओली आगन्तुक पाहुनासंँगै ३ दिन होटलमा बसे । जतिसुकै उच्चस्तरको सम्मेलन भए पनि राजधानीमै सम्पन्न कार्यक्रममा प्रधानमन्त्री होटलमा बस्तैनन् । प्रधानमन्त्री भनेको पाहुनाको चौबिसै घन्टा साथ दिने ‘इस्कोर्ट अफिसर’ होइन । प्रधानमन्त्री आफैं हलुका हुने र सरकारको कुनै बित्दो काम छैन भन्ने संकेत हो यो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारले ट्राफिक जाम छल्न, सबैसँंग भेटघाट भ्याउन होटलमा बसेको भन्नु भ्वाङ परेको टालोले खुस्केको धोती छोप्ने प्रयत्न गर्नु जस्तै हो । आफ्नै भाषणको संग्रहलाई पुस्तक भनेर पाहुनालाई उपहार दिनु अर्को हास्यास्पद नमुना हो । यत्रोविधि पर्यटकीय महत्त्वका प्राकृतिक एवं कलात्मक सम्पदा छन् । के तिनका प्रतिकृति उपहारयोग्य छैनन् ?

प्रधानमन्त्री ओलीले १ लाख डलरसहित फाउन्डेसनको ‘लिडरसिप एन्ड गभरन्यान्स अवार्ड’ पनि थापे । प्रशंसा गर्नेका लागि समृद्धिको मानक पनि होला यो । नामै नसुनिएका संस्थाहरूबाट विद्यावारिधि लगायत डक्टरेट उपाधि घर–घरमै भिर्ने नेताहरू भएको देश हो– नेपाल । तर प्रधानमन्त्रीले स्वीकार गर्ने उपाधिसँग मुलुकको इज्जत, प्रतिष्ठा जोडिएको हुन्छ । उपाधिभन्दा पनि प्रदान गर्ने संस्थाको उद्देश्य र मान्यता महत्त्वपूर्ण हुन्छ ।

यो उपाधि ग्रहण गरेर प्रधानमन्त्री ओलीको अन्तर्राष्ट्रिय मर्यादाबढ्यो कि प्रदान गर्ने संस्थाको प्रचारबाजी, प्रश्न गर्ने ठाउँ दिएको छ । अहिले चर्चा छ, त्यसको पूर्वजानकारी उनकै मन्त्रीमण्डललाई छैन । प्रधानमन्त्रीको नाम प्रयोग हुँदैमा संविधान र कानुनको व्यवस्था कसैले उपेक्षा गर्न मिल्दैन ।

प्रधानमन्त्री ओलीको व्यक्तित्व प्रदर्शन अहिले सडकमा अर्को नौटङ्ककी मञ्चन हुनथालेको छ । पोल–पोलमा उनका फोटा झुन्ड्याउने लहर चलेको छ । प्रधानमन्त्रीलाई लाग्दो होला वा उनका प्रियजनले सुनाउँदा होलान्, उनको अनुहारमै समृद्धिको तस्बीर धपक्क बलेको छ । प्रचार मोह बढेपछि मान्छेले आँखा देख्न छोड्छ भनिन्छ । आफ्नो बाहेक अरु कसैको अनुहार हेर्ने र यथार्थ सुन्ने, बुझ्ने धैर्य हुँदैन । यस्तो प्रवृत्ति सहनशीलताको दुश्मन हो, फासीवादको भ्रूण हो । जानी–जानी कोही पनि निरंकुश बन्दैन, व्यवहार र वातावरणप्रति सचेत नभए त्यो प्रवृत्ति मौलाउँदै जान्छ ।

अन्तत: कथाको बादशाहजस्तै चाटुकारहरूको चालमा प्रधानमन्त्री नै नाङ्गो हुने अवस्था बन्छ ।

प्रधानमन्त्रीको अनुहारमा स्वस्थताको होइन, सत्ताको चहक देखिन्छ । उनको स्वास्थ्य अवस्था कमजोर छ भन्ने सबैले बुझेका छन् । तथापि उनी अहोरात्र खटिराखेका छन् । प्रमुख कार्यकारीको जिम्मेवारीमा रहने नेताको स्वास्थ्य उनको लागिभन्दा मुलुकको लागि बढी महत्त्वको हुन्छ ।

विकसित देशमा राष्ट्रपति, प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे व्यापक चासो राखिन्छ । रोग बोकेको मान्छे ती पदमा निर्वाचित हुने सम्भावना रहँदैन । यसको मुख्य कारण हो, आफैं अस्वस्थ छ भने उसले देशका लागि के सोच्न सक्छ ? कसरी काम गर्न सक्छ ? सोच्ने प्रयत्न गरे पनि त्यो सोचाइ नै अल्प र दूषित हुने सम्भावना हुन्छ । उसका निर्णय देश र जनताका लागि जोखिमपूर्ण हुन सक्छन् । पदबहालीपछि बिरामी पर्दा त्यसलाई संवेदनशील र सार्वजनिक चासोको विषय हुन्छ । चिकित्सकले ठिक छ भनी प्रमाणित नगरेसम्म काममा फर्किंदैनन् ।

नेपालमा रोगी नेता पाल्नुपर्ने नियति छ । राज्यको कोषबाट पार्टी निकट नेता र कार्यकर्तालाई औषधोपचारका नाममा पैसा बाँड्ने व्यापक चलन छ । हो, राजनीतिक आन्दोलन र संघर्षका क्रममा उनीहरूले आफ्नो स्वास्थ्यको ख्याल गर्न पाएनन् । रोग लाग्दा उपचारको पनि राम्रो प्रबन्ध हुन सक्तैनथ्यो । त्यसैले नेताको स्वास्थ्य र शासन/प्रशासनको सम्बन्धबारे नेपालजस्ता मुलुकमा कहिल्यै सार्वजनिक छलफल हुँदैन ।

पार्टी भित्रको उछिनपाछिन, कार्यकर्तामाथिको पकड र चुनावी सफलतालाई नै हामीले ठूलो नेता बन्ने आधार मान्दै आएका छौं । तर स्वस्थ चिन्तन, विवेकपूर्ण निर्णय र शासन/प्रशासनमाथि कमाण्ड राख्न राजनीतिक नेतृत्व गर्नेको स्वास्थ्य अवस्था पार्टीको बहुमत र सिद्धान्तभन्दा महत्त्वपूर्ण मानिन्छ । अब सरकार र पार्टी दुवैमा चुनावको बेला निरोगी नेतालाई रोजाइको प्राथमिकतामा राख्न अहिलेदेखि नै सोच्ने बेला आएको छ ।
 साभार ः कान्तिपुर दैनिकबाट