१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घर्षको पर्याय ‘विद्या मिस’



अ+ अ-

काठमाडाैं । प्रत्येक वर्ष मार्च ८ लाई विश्वका विभिन्न क्षेत्रमा महिलाहरुप्रति सम्मान, प्रशंसा र प्रेम प्रकट गर्दै महिलाहरुको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धी र समस्याहरुको सापेक्षताको उपलक्ष्यमा महोत्सवका रुपमा मनाइन्छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला अधिकार आन्दोलनको एउटा ठूलो हिस्सा हो जसले लैङ्गिक समानता, प्रजनन अधिकार र महिलाहरुविरुद्ध हिंसा र दुव्र्यवहारजस्ता मुद्दामाथि ध्यान आकर्षित गर्छ ।

नेपालमा पनि आज यो दिवस मनाइँदैछ । राज्यका मुख्य पाँच पद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखमध्ये तीनवटामा महिला पुगिसक्नुभएको छ । राजनीति र दलहरुमा पुरुषहरुको वर्चश्व तोड्दै नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पदमा महिलाहरु पुगिसक्नुभएको छ । लोकतान्त्रिक गणतन्त्र नेपालमा अहिले मुलुकको सर्वोच्च पदमा पहिलो महिला राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी आसिन हुनुहुन्छ ।

प्रधानन्यायाधीशमा सुशीला कार्की र सभामुख पदमा ओनसरी घर्तीले नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ । नेपालमा लोकतान्त्रिक गणतन्त्रसहितको व्यवस्था आएपछि राजनीतिक दलहरुमा महिलाको पहुँच बढेको छ । लैङ्गिक समावेशीकरणका हिसाबले नेपाल विश्वका धेरै मुलुकभन्दा अघि छ । नेपालमा महिलाको राजनीतिक प्रतिनिधित्व आफूलाई विकसित ठान्ने मुलुकको भन्दा उत्कृष्ट देखिन्छ ।

नेपालको पूर्वी पहाड भोजपुर जिल्लाको एउटा रमणीय गाउँ मानेभञ्ज्याङको आमबोटेमा विसं २०१८ असार ५ गते बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा विद्यादेवी भण्डारीको जन्म भयो । आमा मिथिलाका अनुसार आफ्नो पाँच सन्तानमध्येकी जेठी छोरी उहाँ बाल्यकालदेखिनै अनुशासित, सहयोगी र निडर हुनुहुन्थ्यो । काठको फल्याकमाथि फिँजाइएको माटोको मसिनो धुलोमा सिन्काले कोरेर हजुरबुबासँग क, ख लेख्न सिक्नुभएकी विद्यादेवी भण्डारीले औपचारिक प्रारम्भिक शिक्षा भने गाउँकै बेहेरेश्वर प्राथमिक विद्यालयबाट पूरा गर्नुभयो ।

त्यसपछि घरबाट केही टाढा भूल्केस्थित पञ्चकन्या मिडिल स्कुलमा डेरामा बसेर निम्न माध्यमिक तहको अध्ययन गर्नुभयो भने माध्यमिक शिक्षा भोजपुरको सदरमुकामस्थित विद्योदय व्यावसायिक माध्यमिक विद्यालयबाट पूरा गर्नुभयो । राजनीतिक चेतनाले ओतप्रोत देशको पूर्वी भाग भोजपुरमा रहेको उहाँको परिवार पनि राजनीतिसँग अछुतो थिएन । गाउँकै शिक्षित परिवार भनेर चिनिएको पाण्डे परिवार राजनीतिकरूपमा समेत सचेत थियो । हजुरबुबा गाउँकै कहलिएको समाजसेवी प्रधानपञ्च हुनुहुन्थ्यो । विद्यादेवी भण्डारी पनि कक्षा ८ मा अध्ययन गर्दागर्दै कम्युनिष्ट राजनीतितर्फ आकर्षित हुनुभयो र पार्टी नेतृत्वको सम्पर्कमा पुग्नुभयो ।

एसएलसी दिने बेलासम्म त उहाँ सक्रिय राजनीतिमा सहभागी भइसक्नुभएको थियो । उहाँले विसं २०३६/३७ सालमा भोजपुर बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभयो । त्यतिबेला उहाँ प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्ने गाउँकै प्रथम महिला हुनुहुन्थ्यो । त्यसपछि स्नातक तह अध्ययनका लागि उहाँ विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । विद्योदय व्यावसायिक माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)मा आबद्ध हुनुभएकी विद्यादेवी भण्डारीले भोजपुर क्याम्पसमा अध्ययनरत रहँदा अनेरास्ववियूको पूर्वाञ्चल क्षेत्रीय कमिटीको सदस्यका रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

भोजपुरबाट विराटनगर झरेपछि उहाँले महेन्द्र मोरङ क्याम्पसमा राजनीतिक क्रियाकलापलाई अझै सशक्तरूपमा अगाडि बढाउनुभयो । तत्कालीन अवस्थामा मुलुककै ठूला क्याम्पसहरू मध्येको एक महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा हजारौँ विद्यार्थी अध्ययनरत थिए । विसं २०४० मा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा उहाँ कोषाध्यक्ष पदमा निर्वाचित भएपश्चात् विद्यार्थी नेताका रूपमा अझ बढी सशक्त भूमिका खेल्नुभयो ।

विद्यादेवी भण्डारी विद्यार्थी राजनीतिमा सक्रिय रहँदारहँदै भूमिगत रूपमा कम्युनिष्ट राजनीतिसँग समेत जोडिन पुग्नु भएको थियो । विसं २०३५ मा नेपाल कम्युनिष्ट पार्टी ९माले०को स्थापनासँगै त्यस पार्टीको युथलिगमा आबद्ध भई उहाँ भूमिगत रूपले सक्रिय हुनुभयो । विद्यार्थी र पार्टी राजनीतिसँगै विद्यादेवी भण्डारी महिला मुक्ति आन्दोलनमा समेत सक्रिय हुन थाल्नुभयो । विसं २०३७ मा तात्कालीन नेकपा ९माले०सँग आबद्ध महिला सङ्गठन अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सदस्य बन्नुभयो । अनेमसङ्घको सदस्य भएपछि महिला अधिकारका मुद्दाहरूलाई समेत उहाँले निकै महत्वका साथ उठाउन थाल्नुभयो ।

पार्टी कामकै सिलसिलामा विसं २०३५ मा उहाँको भेट जननेता मदन भण्डारीसँग भयो । उहाँको विवाह विसं २०३९ मा पार्टीको स्वीकृतिमा पार्टीकै नेता मदन भण्डारीसँग जनवादी शैलीमा सम्पन्न भयो । प्रगतिशील विचारधारा बोकेरै अगाडि बढ्ने दृढ सङ्कल्पका साथ उहाँले गृहस्थी जीवनको सुरुआत गर्नुभयो । त्यसबेला तानाशाही निर्दलीय पञ्चायती व्यवस्थाले दलहरूमाथि लगाएको कडा प्रतिबन्ध र पञ्चायती व्यवस्थाका विरुद्घ उभिने नेता कार्यकर्तामाथि चरम दमन र धरपकडकोे परिस्थिति थियो । त्यस अवस्थामा नेपाल कम्युनिष्ट पार्टी ९माले०ले पञ्चायती व्यवस्थाविरुद्ध जनआन्दोलन र जनसङ्गठन निर्माणको कामलाई प्राथमिकता दिने कार्यनीति अवलम्बन गरेकोे थियो ।

तसर्थ जनतालाई पार्टी र जनसङ्गठनहरूमा आबद्घ गर्नका लागि त्यसताका युवा नेता मदन भण्डारी भूमिगत जीवन विताइरहनुभएको थियो । जसका कारण विवाहपश्चात् उहाँहरूको वैवाहिक जीवन झनै चुनौतीपूर्ण र कठीन बनेको थियो । तर पनि विद्यादेवी भण्डारीका राजनीतिक पाइलाहरू कहिल्यै डगमगाएनन् ।

यस्तै पारिवारिक उतारचढाव र राजनीतिक यात्राकै क्रममा उहाँहरूका दुई छोरीहरू – उषाकिरण र निशाकुसुमको जन्म भयो । काखका दुई छोरीलाई च्याप्दै र आश्रयस्थलहरूमा राख्दै उहाँ प्रहरी र प्रशासनको आँखा छलेर पार्टीको काम र सङ्गठन विस्तारमा सक्रिय भइ नै रहनुभयो । छोरीलाई कोक्रोमा बोकेर दिउँसो विद्यालय पढाउन जाने र राति पार्टीको काममा हिँड्ने साहस बटुली मोरङकोे नक्सलबारीस्थित जनता माध्यमिक विद्यालयमा ०४३ सालदेखि ०४६ सालसम्म उहाँ शिक्षण पेशामा आबद्ध रहनुभयो ।

त्यतिबेला शिक्षण पेशा उहाँका लागि जीविकोपार्जनको उपायभन्दा पनि निरकुङ्श पञ्चायती व्यवस्थाको आँखामा छारो हाल्ने माध्यम बनेको थियो । देखावटी रूपमा शिक्षण पेशामा आबद्घ रहेता पनि उहाँको अन्तर्निहित उद्देश्य भने पार्टी सङ्गठन विस्तार नै रहेको थियो । वनभोज वा अन्य विभिन्न बहानामा गाउँका महिला दिदीबहिनीहरूलाई भेला गरेर महिला जागरण र हकहितका बारेमा सुसूचित गराउँदै निरङ्कुश पञ्चायती व्यवस्थाका बिरुद्धमा सङ्गठित गर्ने काम गरिरहनुभयो । गाउँले महिला दिदीबहिनीको हरेक सुख दुःखमा “विद्या मिस” सदैव अग्रपङ्क्तिमा उभिनुभयो ।

निर्दलीय तानाशाही पञ्चायती व्यवस्थाको क्रुर दमन र अत्याचारले नेपाली जनता आक्रान्त भइसकेका थिए । विश्व परिवेश र राजनीतिक जागरणसँगै नेपालमा पनि पञ्चायती व्यवस्थाका बिरुद्ध  भित्रभित्रै आवाजहरू उठ्न थालिसकेका थिए । जनताका विद्रोही भावनालाई समेटेर राजनीतिक परिवर्तन ल्याउन सशक्त भूमिका खेल्नुपर्ने नैतिक दवाव दलहरूमाथि पर्न थाल्यो । जसको फलस्वरुप विभिन्न खेमामा विभक्त छ वटा कम्युनिष्ट पार्टीहरू मिलेर बनेको संयुक्त बाममोर्चा र नेपाली कांग्रेससहितको संयुक्त जनआन्दोलन परिचालन कमिटी गठन गरी २०४६ साल फागुन ७ गतेबाट पञ्चायती व्यवस्थाविरुद्घ निर्णायक आन्दोलनको घोषणा गरियो । विशाल जनसहभागिता र जनउभारलाई थेग्न नसकेर तत्कालीन राजा वीरेन्द्रले २६ चैत्र २०४६ मा दलहरूमाथिको प्रतिबन्ध फुकुवा गरी प्रजातन्त्र पुनःस्थापनाको घोषणा गरे । निरङ्कुश पञ्चायती व्यवस्था फाल्ने उक्त ऐतिहासिक जनआन्दोलनमा विद्यादेवी भण्डारीले आफ्नो मोर्चाबाट सशक्त रूपमा अग्रपङ्क्तिमा उभिएर नेतृत्व प्रदान गर्नुभयो ।

प्रजातन्त्रको पुनःस्थापनापछि २०४६ सालमा कीर्तिपुरमा भएको अखिल नेपाल महिला सङ्घको पहिलो राष्ट्रिय सम्मेलनमा उहाँ मोरङबाट प्रतिनिधि बन्नुभयो भने २०५० देखि २०५४ सालसम्म नेपाल ट्रेड यूनियन महासङ्घ (जिफण्ट)को राष्ट्रिय कमिटी सदस्य तथा महिला विभाग प्रमुखका रूपमा समेत कार्य गर्नुभयो । इतिहास र समय एक अर्काका साक्षी हुन् । यस्तै एक दःुखद् इतिहासको साक्षी विसं २०५० जेठ ३ गतेको दिन बन्न पुग्यो ।

पार्टी सङ्गठनको कामको सिलसिलामा पोखराबाट चितवन जाँदैगर्दा चितवनको दासढुङ्गा भन्ने ठाउँमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव मदन भण्डारी सवार रहेको गाडी दुर्घटना भई त्रिशुली नदीमा खस्यो । सो त्रासदीपूर्ण दुर्घटनामा सोही पार्टीको सङ्गठन विभागका प्रमुख जीवराज आश्रित पनि साथै हुनुहुन्थ्यो । उक्त दुर्घटनामा जनताका प्रिय दुवै होनहार नेतालाई देशले एकैसाथ गुमायो । मदन भण्डारी त्यतिबेला प्रतिनिधिसभाको सदस्य हुनुहुन्थ्यो । उहाँ अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइलाई पराजित गरेर काठमाडौँ क्षेत्र नं १ र ५ बाट निर्वाचित हुनुभएको थियो ।

उहाँ समकालीन राजनीतिका अत्यन्त चर्चित नेता, कम्युनिष्ट दर्शनका ज्ञाता, कुशल वक्ता र नेकपा ९एमाले०ले अवलम्बन गरेको कार्यक्रम÷नीति÷सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता र व्याख्याता हुनुहुन्थ्यो । विसं २०५० जेठ ३ गतेको दासढुङ्गा काण्डपश्चात् नेपालको राजनीतिमा विद्यादेवी भण्डारीको नयाँ ढङ्गले अवतरण हुनपुग्यो । यो दुःखदायी घटना नै उहाँको जीवनको नयाँ यात्राको थालनी बन्न पुग्यो ।

सात र पाँच वर्षका कलिला अबोध छोरीहरूका लागि आमाको मात्र नभई बाबुको कर्तव्य र जिम्मेवारीसमेत अब उहाँमाथि नै थपियो । मदन भण्डारीको निधनपश्चात् २०५० साल माघमा भएको उप–निर्वाचनमा जननेता मदन भण्डारीले आफ्नोे संसदीय निर्वाचनको विजयी यात्रा सुरु गर्नुभएको काठमाडौँ क्षेत्र नं १ मा उहाँकै जीवनसँगिनी विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पार्टीले लियो । आफु प्रत्यक्ष राजनीतिमा लाग्दा छोरीहरूमाथि आमाको नाताले गर्नुपर्ने लालनपालन र रेखदेखमा कहीँ कतै कमी पो हुन्छ कि भन्ने चिन्ताले उहाँलाई सताएको थियो ।

तर पार्टीको इमान्दार कार्यकर्ता विद्यादेवी भण्डारीलाई आफ्ना दुई छोरीको भन्दापनि देशका सम्पूर्ण छोराछोरीको भविष्य निर्माणको हुटहुटीले सतायो । पार्टीले सुम्पेको जिम्मेवारी र स्वर्गीय पतिले कोर्नुभएको राजनीतिक मार्ग र राष्ट्र निर्माणको अभियानमा थप इट्टा थप्ने पवित्र उद्देश्यले शोकलाई शक्तिमा परिणत गर्दै उहाँले आफ्नोे उम्मेदवारीलाई सुनिश्चित गर्नुभयो । त्यतिबेलाका निकै शक्तिशाली उम्मेदवार मानिएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईविरुद्घ चुनावी मैदानमा होमिनु चानचुने कुरा भने पक्कै थिएन । उहाँको यो अदम्य साहस, देश र जनताप्रतिको कर्तव्य र परिवर्तनकारी सोचले जनमानसलाई अचम्भित तुल्यायो ।

त्यसपछि उहाँ नेपाली जनताका बीच झनै लोकप्रिय हुनुभयो । अकल्पनीय दुर्घटनामा आफ्नो प्रिय नेता गुमाएका क्षेत्र नं १ का जनताले उहाँकै धर्मपत्नी, जुझारु नेतृ विद्यादेवी भण्डारीलाई आफ्नोे क्षेत्रको उम्मेदवारका रूपमा पाउँदा गौरवको अनुभूति गरे । ‘जनताकी छोरी विद्या भण्डारी’ भन्ने स्वःस्फूर्त नारासहित घरघरबाट मतदाताहरू सडकमा निस्किए । फलस्वरुप परिणाम उहाँकै पक्षमा आयो । अर्थात् २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा आफ्नोे प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शक्तिशाली मानिएका नेता कृष्णप्रसाद भट्टराईलाई १,८२९ मतले पराजित गर्दै विद्यादेवी भण्डारी प्रथम पल्ट प्रतिनिधिसभाको सदस्य बन्नुभयो । यसैगरी २०५१ साल कात्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएकी विद्यादेवी भण्डारीले पूर्वसभामुख दमननाथ ढुङ्गानालाई पराजित गरी अर्को विजयी कीर्तिमान कायम गर्नुभयो । २०५४ सालमा नेपालगञ्जमा भएको नेकपा ९एमाले०को छैठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनुभएकी विद्यादेवी भण्डारी सोही वर्ष अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को अध्यक्षमा समेत निर्वाचित हुनुभयो ।

२०५४ साल चैत १२ लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा गठित मन्त्रिपरिषद्मा उहाँ जनसङ्ख्या तथा वातावरणमन्त्री बन्नुभयो । विसं २०५६ मा सम्पन्न भएको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट तस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । २०५९ सालमा जनकपुरमा भएको नेकपा ९एमाले०को सातौँ महाधिवेशनमा पुनः केन्द्रीय कमिटी सदस्यमा उहाँ निर्वाचित हुुनुभयो । एक सक्रिय जुझारु र सङ्घर्षशील महिलाको रूपमा मात्र नभई कुशल, दूरदर्शी र लोकप्रिय नेताका रूपमा पनि उहाँ स्थापित बन्दै जानुभयो । फलस्वरुप २०६६ सालमा बुटवलमा भएको नेकपा ९एमाले०को आठौँ महाधिवेशनबाट उहाँ पार्टीको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो भने २०६६ साल जेठ ११ गते माधवकुमार नेपालको नेतृत्वमा बनेको सरकारमा उहाँ नेपालको पहिलो महिला रक्षामन्त्री बन्नु भई इतिहासमा अर्को एउटा कीर्तिमान कायम गर्नुभयो ।

दोस्रो जनआन्दोलन २०६२/६३ को सफलतापश्चात् स्थापित गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशमा थुप्रै राजनीतिक उतारचढावहरू देखापरे । पहिलो संविधानसभाले २०६५ साल जेठ १५ गते नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरी २४७ वर्ष लामो राजसंस्थाको इतिहास नेपालबाट समाप्त भएको घोषणा ग¥यो । उक्त संविधानसभाले २०६५ साल साउन ६ गते बहुमतका आधारमा नेपाली कांग्रेसका नेता डा .रामवरण यादवलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिकोे रूपमा निर्वाचित गर्यो ।

गणतन्त्र स्थापनाको पक्षमा एक ठाउँमा उभिएका दलहरूको एकता त्यहाँसम्म आइपुग्दा टिक्न सकेन । फलस्वरुप संविधान जारी गर्न नसकी २०६९ साल जेठ १४ गते पहिलो संविधानसभा विघटन भयोे । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले २०७० साल मङ्सिर ४ गते दोस्रो संविधानसभा निर्वाचनको घोषणा ग¥यो । दोस्रो संविधानसभामा विद्यादेवी भण्डारी समानुपातिक तर्फबाट सभासद् चुनिनुभयो । संविधान निर्माणताका संविधानसभामा उहाँले अग्रणी भूमिका खेल्नुभयोे । संविधानसभा सदस्यको हैसियतमा महिलाअधिकार र समानताको पक्षमा उहाँ निरन्तर सङ्घर्षरत रहनुभयो ।

लैङ्गिक समानता, महिला शिक्षा, समान ज्याला र महिला हिंसाका न्यूनीकरणका विषयमा उहाँले संसद्मा विशेष प्रस्ताव नै प्रस्तुत गर्नुभयो । त्यसैको जगमा टेकेर नेपालमा आमाको नामबाट पनि नागरिकता पाउने संवैधानिक व्यवस्था भइसकेको छ । राजनीति र सरकारी सेवामा महिलाको सहभागिता न्यूनतम ३३ प्रतिशत हुनैपर्ने कुरालाई सुनिश्चित गर्ने सन्दर्भमा पनि उहाँको भूमिका अग्रणी रह्यो । विद्यादेवी भण्डारी नेपालको वामपन्थी आन्दोलन, लोकतान्त्रिक आन्दोलनसँगै लैङ्गिक समानताको आन्दोलनमा समेत अग्रपङ्क्तिमा रहनुभयो । संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ मा सरकारी सेवा र राजनीतिक प्रतिनिधित्वमा महिला सहभागिता ३३ प्रतिशत रहने व्यवस्थाका लागि उहाँले गर्नुभएको सङ्घर्षपूर्ण नेतृत्व अविस्मरणीय रहेको छ ।

२०७१ सालमा काठमाडौँमा सम्पन्न नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट पनि विद्यादेवी भण्डारी पार्टीको स्थायी कमिटीसहित पुनः उपाध्यक्षमा निर्वाचित हुनुभयो । दोस्रो संविधानसभाले २०७३ असोज ३ गते गणतन्त्र नेपालको संविधान जारी गर्यो । संविधान जारी गर्ने समयमा देशका तीन ठूला राजनीतिक दलले देखाएको राजनीतिक एकता, राष्ट्रिय मेलमिलाप र सहयात्रा प्रधानमन्त्रीको निर्वाचनमा आएर भङ्ग भएसँगै नेकपा ९एमाले०ले आफ्नोे दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिनुपर्ने अवस्था सिर्जना हुन पुग्यो । पार्टीभित्र राष्ट्रपतिका लागि उहाँको नाम चर्चामा आयो ।

पार्टीको कार्यकारी भूमिकामा रहेर सक्रिय राजनीति गर्ने चाहना राख्नुभएकी विद्यादेवी भण्डारी आफ्नोे चाहनाविपरीत दलीय राजनीतिभन्दा माथि उठेर समग्र राष्ट्रको सर्वोपरी हितका लागि देशकै अभिभावकत्व ग्रहण गर्न अग्रसर हुनुभयो । २०७२ साल कात्तिक ११ गतेका दिन सम्पूर्ण नेपालीहरूले गर्व गर्नुपर्ने गौरवशाली दिन बन्न पुग्यो । राष्ट्रपति निवार्चनमा व्यवस्थापिका संसद्मा खसेको कुल ५४९ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई २१४ मतका विरुद्घ ३२७ मतले पराजित गर्दै व्यवस्थापिका संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा ३७ को उपदफा १ बमोजिम विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा इतिहास रच्न सफल हुनुभयो । विश्वमा प्रथम महिला राष्ट्रपति पाउने देशको सूचीमा नेपालले आफूलाई सामेल गर्न सफल भयो ।

नेपालजस्तो देशमा संसद्बाट प्रथम महिला राष्ट्रपति चुनिनुले नयाँ संविधानको उत्कृष्टता प्रष्ट भएको भन्दै विश्वका थुप्रै देशले नेपालको प्रशंसासमेत गरे । २०७२ साल कात्तिक १२ गतेका दिन उहाँले राष्ट्रपति भवन, महाराजगञ्जमा देशकै पहिलो महिला राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्नुभयो । पूर्वी पहाडी जिल्ला भोजपुरको एउटा सामान्य किसान परिवारमा जन्मिनुभएकी महिला विद्यादेवी भण्डारी देशकै सर्वोच्च पदमा आसिन हुनु उहाँको लगन, दृढ इच्छाशक्ति र निष्ठाको अविचलित, अविरल राजनीतिक यात्राको प्रतिफल थियो । समयले उहाँलाई मुलुकको अभिभावक बनाएको छ, राष्ट्रको एकता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वाधीनताको रक्षा गर्ने सर्वोच्च पदमा आसिन गराएको छ ।

अत्यन्तै सफल र विवादरहित ढङ्गले आफ्नोे प्रथम कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई २०७४ साल फागुन २९ गते भएको राष्ट्रपति निर्वाचनका लागि तत्कालीन नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले उम्मेदवारका रूपमा अगाडि सा-यो ।

सङ्घीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूले उहाँको उम्मेदवारीमा समर्थन जनायोे । कुल ५२,५०१ इलेक्ट्रोरल भोटमध्ये राष्ट्रपति विद्यादेवी भण्डारीले ३९,७२५ इलेक्ट्रोरल भोट प्राप्त गर्नु भएको थियो भने उहाँकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईले ११,७३० इलेक्ट्रोरल भोट प्राप्तगर्नु भएको थियो । यसरी खसेको कुल मतको करिब तीन चौथाई मत प्राप्त गरी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालकोे राष्ट्रपतिका रूपमा आफ्नोे दोस्रो कार्यकालको लागि पुनः निर्वाचित हुनुभयो ।

नेपालको सर्वोच्च पदमा संसद्बाट निर्वाचित हुने उहाँ पहिलो नेपाली महिला हुनुहुन्छ । विश्वका सरकार प्रमुख तथा राष्ट्र प्रमुखका रूपमा रहेका महिलाहरूमा उहाँ २६औँ महिला हुनुहुन्छ । निरन्तरको सङ्घर्ष, त्याग र निष्ठापूर्ण समर्पण नै राजनीतिमा सफलताको आधार हो भन्ने उदाहरणलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्थापित गर्नुभएको छ । उहाँका यी सङ्घर्षपूर्ण एवं प्रेरणादायी जीवनका आयामहरू नेपाली महिलाहरूको मात्र नभई विश्वका सम्पूर्ण महिलाहरूको प्रेरणाको स्रोत बनेका छन् । इतिहास र राजनीतिक अध्येताहरूका लागि उहाँको सक्रिय जीवन एक खुल्ला विश्वविद्यालय मान्न सकिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको जीवन हामी सबै नेपालीका निम्ति प्रेरणा र गर्वको विषय बन्न पुगेको छ ।

– राष्ट्रपति कार्यालयले तयार गरेको बृत्तचित्रको सहयोगमा