२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक कर्मचारीको भागमा ११ शाखा



अ+ अ-

पशुपतिनगर । दक्षिणी इलामको माई नगरपालिकामा ९६ कर्मचारीको आवश्यक भए पनि नौ जना मात्रै कार्यारत छन् ।

जम्मा १० वडा रहेको नगरपालिकाले आन्तरिक स्रोतबाट पाँच कर्मचारी थपे पनि कर्मचारीलाई कामको भार थपिने क्रम बढ्दो छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत नभएको १० महीना बितेको नगर प्रमुख दीपक थेवेले बताउनुभयो । अधिकार र काम थपिए पनि नगरपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयन, अनुगमन र प्रशासनिक काम गर्ने समस्या रहेको हो । कर्मचारी अभावले माई नगरपालिकामा एक कर्मचारीले ११ वटा फाँटसम्म हेर्नुपर्ने र इञ्जिनीयरले वडासचिवको समेत काम गर्नुपर्ने अवस्था छ । योजना कार्यान्वयनमा लाग्नुपर्ने प्राविधिकले वडासचिवको काम गर्नुपर्दा विकास निर्माणका योजनाले गति लिन सकेका छैनन् ।

दक्षिणकै चुलाचुली गाउँपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयनको काम हुन सकेको छैन । गाउँपालिकामा प्राविधिक र प्रशासनिक कर्मचारी पर्याप्त नहुँदा कामको गति सुस्त छ । सङ्घीय सरकारले २९ कर्मचारी पठाउनुपर्ने भए पनि अहिले १० मात्रै कार्यरत छन् । वडासचिव सबै वडामा नहुँदा जनताको काम गर्न समस्या रहेको गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताउनुभयो ।

वडा कार्यालयमा योजना हेर्ने प्राविधिक सहायक र सचिव केन्द्र सरकारबाट आउनुपर्नेमा अहिले कुनै वडामा पनि प्राविधिक छैनन् । गाउँपालिकाको केन्द्रमा १७ को दरबन्दी भए पनि अहिले पाँच कार्यरत छन् । शाखाअनुसारको कर्मचारी नहुँदा बजेट भएर पनि काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताउनुभयो ।

कृषि, पशु, स्वास्थ्य र लेखा शाखामा प्रमुख भए पनि आठ वटा बढी शाखाको जिम्मा लिने कर्मचारी नहुँदा काम कसरी गर्ने भन्ने गाउँपालिकामा समस्या रहेको छ । उत्तरी सन्दकपुर गाउँपालिकामा समस्या उस्तै छ । सङ्घीय सरकारबाट २२ कर्मचारी समायोजन भएर आउनुपर्नेमा अहिले आठ जनाले गाउँपालिकाको काम धानिरहेका छन् । राँसस