• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   टेरामक्स प्रविधिले कल बाइपास गरेर वार्षिक रुपमा हुने २५ अर्ब घोटाला रोकेको छ: सांसद बस्नेत ★   फिल्म ‘कल्की २८९८ एडी’ हलमा हेर्न जाँदा ठिक कि ओटीटीमा कुर्दा राम्रो ? ★   रथि सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधान सेनापतिले जवाफ दिनुपर्छ: प्रभु साह ★   मधेसका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने ★   स्मृतिमा मदन भण्डारीसँग बितेका पल ★   पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’ ★   सहीदहरूको नाममा कार्यक्रम गरौँ भन्दा एमाले–कांग्रेसका साथीहरु नगरसभा बैठक रोकेर जानुभो – बालेन ★   साँच्चिकै कम्युनिष्ट शक्ति भए एमालेजस्तै जबजभित्र रहिहाल्छ, नक्कलवादीहरुको चिन्ता लिने कुरा छैन : अध्यक्ष ओली… ★   रोहित सबैभन्दा सफल कप्तान, तोडे बाबर आजमको कीर्तिमान ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जनप्रतिनिधिको तलब सामाजिक कार्यमा



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ ।

राज्यले जनप्रतिनिधिको तलबको रूपमा उपलब्ध गराएको रकम गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग माविले ६०औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरेको समारोहमा अध्यक्ष पुनले हालसम्म तलबभत्तावापत प्राप्त भएको रु सात लाख ३५ हजार कोषमा जम्मा गरेको जानकारी दिनुभयो ।

कोषबाट गत वर्ष पाउद्धार माविबाट एसइई उत्तीर्ण गरेका पाउद्धारका काजल रोकालाई इञ्जिनीयरिङ विषयको अध्ययनका लागि रु एक लाख पचास हजार सहयोग गरिसक्नुभएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण राम्रो जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका रोका आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न क्याम्पस भर्ना हुन नसकेर समस्यामा परेका थिए ।

यसैगरी कालीगण्डकी नदीमा आएको बाढीले बगाएको अन्नपूर्ण–४ कोप्चेपानीको धौलागिरि आधारभूत विद्यालयको भवन पुनःनिर्माण र ज्ञानप्रकाश माविलाई रु ५०÷५० हजार सहयोग गर्नुभएको छ । गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सर्वोकृष्ट जिपिए ल्याउने एक÷एक जना छात्रछात्रालाई रु ५०÷५० हजार पुरस्कार उपलब्ध गराउने अध्यक्ष पुनले बताउनुभयो ।

विकट र दुर्गम क्षेत्रका विपन्न बालबालिकाको उच्च शिक्षामा पहुँच बढाउन गरीब, विपन्न र अनाथ बालबालिकालाई सघाएको अध्यक्ष पुनको भनाइ छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक रु ३० हजार तलब तोकेको छ ।

तलबका अतिरिक्त विभिन्न बैठक, कार्यक्रममा सहभागी हुँदा प्राप्त गरेको भत्तालाई पनि उहाँले कोषमा जम्मा गर्नुभएको छ । पारिवारिक समस्याका कारण पढ्ने उमेरमा कक्षा ८ उत्तीर्ण भएपछि भारतीय गोर्खा सैनिकमा भर्ती हुन जानुपरेको आफ्नो जस्तो बाध्यता अरुलाई नपरोस् भनेर तलबलाई शिक्षामा परिचालन गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताउनुभयो ।
भारतीय गोर्खा सैनिकका सेवानिवृत्त क्याप्टेन पुनले सेवानिवृत्त भएपछि म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उहाँ नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो । रासस