३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको शपथ ग्रहण



अ+ अ-

साओ पाउलो । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले मङ्गलबार राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कार्यकालमा आमजनताले ठूलो आशा र भरोसा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका “फ्यान” बताउने ६३ वर्षीय बोल्सोनारो आफ्ना भ्रष्टाचार विरोधी अभियान र बन्दुक राख्न दिने नीतिको पक्षधरका कारण शक्तिमा पुग्नुभएको हो । पूर्व सैनिक बोल्सोनारोका नीतिलाई ब्राजिलका रुढीवादी र दक्षिणपन्थीहरुले खुलेर प्रशंसा गरेका छन् ।

यसअघि लगातार चार पटक बामपन्थी रुझानको वर्कर्स पार्टीका नेताहरु राष्ट्रपतिमा विजयी भएका थिए । सत्तारुढ दलमाथिको तीव्र विरोध गरेकै कारण बोल्सोनारो विजयी भएको बताइन्छ ।

ब्राजिलको राजधानी साओ पाउलोमा बोल्सोनारोको सपथ ग्रहणमा लाखौं मानिस भेला हुने अपेक्षा गरिएको छ । सपथ कार्यक्रममा भाग लिन विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख एवं प्रतिनिधि सहभागी हुँदैछन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ पनि साओ पाउलो पुग्नुभएको छ ।

ब्राजिलमा उच्च सुरक्षा व्यवस्था गरिएको छ । कार्यक्रमलाई सफल बनाउन तीन हजार प्रहरी खटाइएको छ । सैनिक ट्याङ्क, लडाकू विमान र विमानभेदी क्षेप्यास्त्र पनि प्रदर्शन गरिँदैछ ।

कार्यक्रममा सुरक्षा व्यवस्था उच्च पार्न बोल्सोनारोले नै आग्रह गर्नुभएको हो । सेप्टेम्बरमा चुनावी र्यालीमा छुरा प्रहार गर्दा बोल्सोनारो स्वयम् गम्भीर घाइते हुनुभएको थियो । बोल्सोनारोका छोराले अतिवादीले फेरि पनि बुबामाथि आक्रमण हुने खतरा औंल्याएका छन्, तर सुरक्षा अधिकारीहरुले यस बारेमा केही बोलेका छैनन् ।

बोल्सोनारोका वातावरण, विवाह र आर्थिक नीतिहरुमाथि चौतर्फी विरोध शुरु भइसकेको छ । संविधान र स्वतन्त्रताको अपहरण हुने र दक्षिणपन्थी अतिवाद हावी हुने अनुमान केही विश्लेषकले गरेका छन् ।

बोल्सोनारोको २२ सदस्यीय मन्त्रिपरिषदमा सात जना पूर्व सैनिक रहेकाले पनि त्यो आशंका व्यक्त गरिएको हो । सन् १९६४ देखि १९८५ सम्मको प्रशासन बाहेक अरु समयमा यति ठूलो संख्यामा सैनिकहरु मन्त्रिपरिषदमा सामेल थिएनन् । विपक्षीहरुले सैनिक तानाशाही शासन व्यवस्थाको पुनरागमन हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । तर, बोल्सोनारोले मुलुकको संविधानलाई पूर्ण सम्मान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

रासस