९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

बन्दीपुरको मौलिकता जोगाउन गुरुयोजना

बन्दीपुरको मौलिकता जोगाउन गुरुयोजना
अ अ+ अ-


दमौली । कोलाहल र धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाउनु भएको छ भने तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्छ ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर पूर्व डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिरलगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको पहिलो रोजाइ बन्ने गरेको छ ।

सुन्दर हिमशृङ्खलाहरुको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकहरुको पहिलो रोजाइमा बन्दीपुर पर्ने गर्छ । तर, संरचना विकासमा नेपाल सरकारले खासै ध्यान नदिएको भन्दै बन्दीपुरेहरुले नयाँ–नयाँ कार्यक्रम छनोट गरेका छन् । अहिले बन्दीपुर वरपर नयाँ गन्तव्यहरुको खोजी भइरहेको छ । बन्दीपुरेहरुले पर्यटकहरुका लागि होमस्टेको व्यवस्था पनि गरेका छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई आकर्षण गर्न बन्दीपुरमा सुविधासम्पन्न होटलहरु रहेका छन् । बन्दीपुर आउने पर्यटकहरु यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “दुई/तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटकहरु पनि यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किंदैनन् ।” बन्दीपुर घुम्न भनेर मात्रै आउनेमध्ये अधिकाँश बन्दीपुरमा बास बस्ने गरेको गुरुङ्ग बताउनुहुन्छ । बन्दीपुर पर्यटन विकास समितिले बन्दीपुरको प्रचारका लागि बेला–बेला महोत्सवको समेत आयोजना गर्ने गरेको छ ।

जाडो मौसम शुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको ओइरो लाग्ने गर्दछ । बन्दीपुर घुम्न आउने पर्यटकहरुलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलका बारेमा जानकारी दिने गरिएको छ । बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको छ । यहाँका पुराना घरहरु विदेशीहरुका लागि आकर्षण बन्ने गरेको छ ।


मौलिकताको नमूना शहर

बन्दीपुरमा रहेका परम्परागत घरहरु यहाँको पर्यटन उद्योगको टेवा बनेको स्थानीय राजु बानियाँ बताउनुहुन्छ । काठका बुट्टा कुँदिएका झ्याल तथा ढोकाहरु, ईंटाबाहिर देखिने मन्दिर शैलीका घर बन्दीपुरको मुख्य आकर्षणको रुपमा रहेको उहाँ बताउनुहुन्छ ।

अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याई बाटो निर्माण गरेको स्थानीय बासिन्दा बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।

बन्दीपुर बजारमा भएका पुरानो घरहरुको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउनुहुन्छ ।

गाउँपालिकाले बन्दीपुर चक्रपथ भित्र र चक्रपथ बाहिर ५०० मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । यस क्षेत्रभित्र घर बनाउँदा बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ का साथै गाउँपालिकाले बनाएका केही नियमहरु पालना गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ – “बन्दीपुरको प्राचीन कला तथा संस्कृति झल्किने घरका कारणले नै आज बन्दीपुर विश्वभर प्रख्यात भएको छ । बन्दीपुरको मौलिकता जोगाउन आधुनिक घर निर्माणमा रोक लगाएका छौं ।” बजार क्षेत्रमा प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा गाउँपालिकाले नक्सा स्वीकृतिमा पचास प्रतिशत छुट दिने व्यवस्थासमेत गरेको छ ।

बजार क्षेत्रभित्र बनिसकेका घरहरुको अग्रभाग प्राचीन शैलीमा निर्माण गर्न स्थानीयवासीलाई गाउँपालिकाले अनुरोधसमेत गरेको छ । उपक्षेत्रभित्र घर निर्माण गर्दा परम्परागत नेपाली शैली एवं आकारप्रकारका काठका झ्याल, ढोकाहरु पसलको कवलमा समेत राख्नुपर्ने, चोकमाथि पर्ने गरी क्यान्टिलिभर, बार्दली, कोठा निकाल्न नपाइने, बाहिरी गारोमा प्लाष्टर नगरी प्रष्टसँग ईंटा देखाउनुपर्ने, बाटो वा चोकतर्फ देखिने भागमा भिरालो छाना हुनुपर्ने लगायतका नियम बनाइएको छ । साथै, कला, वास्तुकला एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण ठाउँमा, स्मारक वा स्मारक परिसर वरपर पहिलो पङ्क्तिका घरहरु स्मारक भन्दा होचो हुने गरी निर्माण गर्नुपर्नेछ ।

सुविधासम्पन्न होटल खुल्दै

बन्दीपुरमा पर्यटकको आगमन वृद्धि हुन थालेपछि व्यवसायीले सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका छन् । विसं २०५६ मा सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यको रुपमा स्वीकृति दिएपछि यस क्षेत्रमा होटल निर्माण शुरु भएको हो ।

पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले करोडौं रुपैयाँको लगानीमा बन्दीपुर माउन्टेन रिसोर्ट स्थापना गरेपछि यस ठाउँमा चहलपहल बढेको हो । विसं २०५७ मा श्रेष्ठले पहिलो पटक रिसोर्ट स्थापना गरेको बन्दीपुरमा हाल हिमालय दरबार, ग्रीनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक १ हजार ४ सय पर्यटकले रात बिताउन सक्ने क्षेत्रीय होटल सङ्घका अध्यक्ष विपीन प्रधान बताउनुहुन्छ ।

पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले हालै मात्र रु आठ करोडको लागतमा होटल सञ्चालनमा ल्याउनुभएको छ । सोही ठाउँमा मगर भिजेल रिसोर्ट सञ्चालन गरिहनुभएका उहाँले विदेशी पर्यटकलाई लक्ष्य गरी सुविधासम्पन्न होटल खोल्नुभएको हो । उहाँ भन्नुहुन्छ – “होटलमा सबै कोठा डिलक्स छन् । पर्यटकले होटलमा सुविधासम्पन्न सेवा सुविधा खोज्छन् ।”


गुरुयोजना निर्माणको प्रयास

गाउँपालिकाले बन्दीपुरको विकासका लागि २० वर्षे दीर्घकालीन गुरुयोजना निर्माणको प्रयास थालिसकेको छ । सबै सरोकारवालासँग समन्वय गरी २० वर्षे दीर्घकालीन गुरुयोजना निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष थापा बताउनुहुन्छ ।

गुरुयोजना निर्माणका सन्दर्भमा हरेक वडामा समेत सुझाव सङ्कलन गर्ने कार्यक्रम भइरहेको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरिसकेको सन्दर्भमा उक्त वर्ष बन्दीपुरले गर्न सक्ने योगदानका बारेमा समेत छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ – “बन्दीपुर नेपालकै मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीय स्थल हो । यसको थप विकासका लागि दीर्घकालीन गुरुयोजना आवश्यक भएको महसुस गरेर काम शुरु गरेका हौं ।” उहाँका अनुसार गुरुयोजना अनुरुपका नीति तयार गरी विकासका कार्यक्रमहरुलाई कार्यान्वयन गर्दै लगिनेछ ।

उहाँका अनुसार बन्दीपुरको विकासका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका गैरआवासीय बन्दीपुरवासीको सहयोग लिइनेछ । यस अतिरिक्त बन्दीपुरवासीको सञ्जाललाई सक्रिय बनाई उनीहरुको आर्थिक, भौतिक तथा बौद्धिक क्षमतालाई यहाँको विकासमा प्रयोग गरिने छ ।

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैंमा एउटा प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो र यही विशेषतालाई जगेर्ना गर्दै यस क्षेत्रको प्रमुख आयस्रोतको माध्यम नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रमहरु अगाडि बढाउन खोजेको छ ।