७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाँचबुझ आयोगले भ्रष्टाचार अनुसन्धान गर्ने होइन



अ+ अ-

गाैरी बहादुर कार्की

काठमाडौँ — सार्वजनिक लेखा समितिको छानबिन उपसमितिले प्रतिवेदन दिन के भ्याएको थियो सरकार हडबडायो । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी विमान खरिद प्रकरणबारे उपसमितिको प्रतिवेदन समितिमा छलफल हुँदा नहुँदै सरकारले हतास मनस्थितिवश: हतारमा जाँचबुझ आयोग गठन गर्‍यो । 

भ्रष्टाचार छानबिन तथा जाँचबुझ गर्ने काम सरकार वा जाँचबुझ आयोगको होइन । आन्तरिक रूपमा प्रशासकीय तबरले सरकारले प्रारम्भिक छानबिन भने गराउन सक्छ । भ्रष्टाचारमा कुनै कानुनी कारबाही चलाउन मिल्दैन र सक्दैन पनि ।
प्रधानमन्त्री केपी ओलीले नै संविधान बुझेको देखिएन । उनी जंगिए, ‘उपसमितिको प्रतिवेदन किन बाटा–बाटामा चुहाइयो ? उपसमिति सर्वेसर्वा होइन । समितिले छलफल गर्ला । भोलि अख्तियारले हेर्ला । सरकारले पनि हेर्ला ।’ खासमा सरकारले ‘हेर्ने’ होइन । प्रशासनिक कारबाही गर्ने हो । भ्रष्टाचारबापत अनुसन्धान र कानुनी कारबाही भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने हो ।
संविधानत: भ्रष्टाचार अनुसन्धान गर्ने अधिकार अख्तियारले पाएको छ । अन्य निकायलाई त्यसको अधिकार छैन । जाँचबुझ आयोग ऐन, २०२६ अनुसार आयोग गठन गरेर कुनै निकायको भ्रष्टाचार जाँचबुझ र छानबिन गराउन मिल्ने अवस्था छैन । जाँचबुझ आयोग सार्वजनिक महत्त्वका विषयमा जाँचबुझ गर्न गठन गरिन्छ । जस्तो दासढुंगा दुर्घटना, जनआन्दोलन २०४६ को अनियमितताजस्ता महत्त्वपूर्ण विषयमा हिजो सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा गठन गरिए ।
त्यस्तै आयोग जहाज खरिद सम्बन्धमा पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पुस १९ गते तीन सदस्य जाँचबुझ आयोग गठन गरिएको छ । त्यसमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य तोकिएका छन् ।
सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी आयोग गठन गरिएको भनिएको छ । आयोगले जाँचबुझपछि देखिएको निचोड र सरकारले मागेको भए सुझावसमेत प्रदान गर्छ । आयोगले भ्रष्टाचार भए/नभएको जाँचबुझ गरेर सरकारलाई सुझाव दिन्छ । भ्रष्टाचार देखिए पनि यो आयोगले केही कारबाही गर्न सक्दैन । प्रतिवेदन पाएपछि सरकारले भ्रष्टाचार गर्ने भनेर तोकिएकामाथि कुनै काम कारबाही गर्न सक्दैन । प्रशासकीय छानबिन गरी दोषी पाएमा विभागीय कारबाही मात्र गर्न सक्छ ।
भ्रष्टाचार भएको किटान भए पनि कानुनी कारबाही बढाउन अख्तियारलाई गुहार्नुपर्छ । सरकारको अनुरोधपत्र पुगेपछि अख्तियारले प्रक्रियागत काम सुरु गर्न सक्छ । भ्रष्टाचार प्रारम्भिक रूपमा देखिँदा मात्रै पनि अख्तियार नै गुहार्नुपर्छ । अख्तियारले सिधै अनुसन्धान गर्दा हुने ठाउँमा आयोग गठनले एउटै काममा दोहोरोपना आउँछ । सरकारी स्रोतसाधन दुरुपयोग हुन्छ । छानबिनमा ढिलाइ हुँदा प्रमाण हराउन सक्छ ।
पहिले पनि समाज कल्याण परिषद्मा भएको भ्रष्टाचार छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरिएको थियो । भ्रष्टाचार भएको भनी कारबाही अगाडि बढाउन प्रतिवेदन दिएको पनि थियो ।
सरकारका अहिलेसम्मका कामकारबाही हेर्दा तत्काल उठेका विवाद सामसुम पार्न मात्र यस्तो आयोग गठन गर्न लागेको देखिन्छ । जनउभार र व्यापक विरोध शान्त पार्न प्राय: यस्ता उपाय खोजिन्छन् । अहिलेको सन्दर्भमा संविधान र कानुन मिचेर भ्रष्टाचारी बचाउन संविधानविपरित आयोगलाई जाँचबुझ गर्न दिइन लागेको शंका उठेको छ ।
वाइडबडी विमान खरिदबारे महालेखा परीक्षकको ५५ औं प्रतिवेदनमै अनियमितता देखाइएको थियो । खरिद प्रक्रियामा कानुन छलेका/मिचेका, विमानको भार वहन क्षमता २ लाख ४२ हजार केजीबाट २ लाख ३० हजारमा झारेका लगायत पाइला–पाइलामा भएको भनिएका अनियमितता उदांग भएका थिए । त्यसबारे सरकार र संसद्ले सूचना दिए पनि/नदिए पनि अख्तियार आफैंले अनुसन्धान तहकिकात गर्न सक्छ । गर्न‘ पनि पर्छ । अख्तियारले संवैधानिक अधिकार प्रयोग गर्न ढिलाइ गर्नु हुँदैन ।
तसर्थ महान्यायाधिवक्ता, कानुन मन्त्रालयका विज्ञहरूले संविधान र प्रचलित कानुनभन्दा बाहिर गएर जाँचबुझ आयोगलाई भ्रष्टाचार छानबिन गर्न लगाउन हुँदैन भन्न सक्नुपर्छ । संविधान र कानुन मिच्ने अधिकार प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्लाई पनि छैन । कानुनको शासनको संविधानको प्रस्तावनाको परख सरकारका यस्तै कामकारबाहीबाट देखिने हो ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता दर्शाउने सरकारले भ्रष्टाचार आशंका लागे अख्तियारलाई गुहार्नुपर्छ । अर्कै प्रयोजनका लागि बनेको ऐनको दुरुपयोग गरेर जाँचबुझ आयोग गठन गर्न मिल्दैन । यसरी भ्रष्टाचारको जाँचबुझ गर भन्न मिल्दैन । यो जाँचबुझ आयोग गठन गर्ने नाटक अनियमितता गर्नेलाई केही समय बचाउने वा कारबाही ढिलो गराउने र जनताको आँखामा छारो हाल्ने दुराशय हो भन्न किन नमिल्ने ? (कान्तिपुर दैनिकबाट साभार)


लेखक विशेष अदालतका पूर्वअध्यक्षहुन् । उनी चिकित्सा शिक्षा जाँचबुझआयोगका पनि अध्यक्ष थिए ।