७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेलको इन्जिन कुर्दै महोत्तरीवासी



अ+ अ-

नयाँ पत्रिका दैनिकका लागि महाेत्तरीबाट रन्जन भण्डारीकाे रिपाेर्टिङ

जयनगरदेखि कुर्थासम्मको रेलमार्ग निर्माण लगभग सम्पन्न भएको छ । रेल विभागले जयनगर–बर्दिवाससम्मको रेलमार्गअन्तर्गत पहिलो चरणको काम सम्पन्न भइसकेकाले रेलसेवा सञ्चालन हुने गरी तयारी अवस्थामा रहेको जनाएको छ । नेपाल सरकारले आफैँले रेल किन्ने घोषणा गरेकाले इन्जिन आउनेबित्तिकै नेपालीको रेल चढ्ने धोको पूरा हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले निर्माणका सबै काम पूर्ण भइसकेकाले उद्घाटनका लागि जनकपुर रेल्वे स्टेसनलाई मिथिला चित्रकलाले दुलहीझैँ सिँगारिएको जानकारी दिए । तर, जयनगरदेखि कुर्थासम्मको रेलमार्ग उद्घाटन कसले गर्ने भन्ने निर्णय भने अझै भइसकेको छैन । नेपाल र भारतको केन्द्र सरकारकै उपस्थितिमा रेलमार्ग उद्घाटन गर्ने तयारी छ ।

नेपालमा ब्रोडगेज रेलसेवा सञ्चालन गर्न लागिएको हो । साबिकमा भारतको जयनगरदेखि महोत्तरीको विजलपुरासम्म सञ्चालनमा रहेको जनकपुर रेल्वेलाई विस्तारित गर्दै नेपाल रेल्वेले जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म सञ्जाल बढाएको छ । भारत सरकारको सहयोगमा निर्माण भइरहेको रेल्वे सेवा तीन चरणमा पूरा हुँदै छ, जसको पहिलो चरणको काम अन्तिममा पुगेको छ । 

पहिलो चरणअन्तर्गत जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सञ्चालन गर्ने योजना छ । जयनगरदेखि कुर्थासम्मको तीन हल्ट, पाँच स्टेसन र प्लेट फर्म तयार भइसकेको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालयका प्रमुख इन्जिनियर विनोद ओझाले बताए । जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरसम्मको रेलसेवा गत डिसेम्बरभित्र सञ्चालन गरिसक्ने लक्ष्य भए पनि हाल रोकिएको उनको भनाइ छ । 

त्यस्तै, दोस्रो चरणको कुर्थादेखिको भंगहासम्मको रेलसेवा आगामी मार्च या अप्रिलभित्र सञ्चालन गरिसक्ने इन्जिनियर ओझाले जानकारी दिए । दोस्रो चरणमा थप १७ किलोमिटर रेलसेवा सञ्चालन हुनेछ । दोस्रो चरणअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको खुट्टा हुँदै भंगहासम्म दुई स्टेसन र दुईवटा हल्ट निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ । दोस्रो चरणमा सञ्चालन हुने रेलसेवाको कार्यसमेत द्रुत गतिमा भइरहेको छ । 

तेस्रो चरणको रेलसेवा थप १७ किलोमिटर विस्तार गर्ने लक्ष्य रहेकोमा बर्दिवासमा जग्गा अधिग्रहण अझै टुंगिएको छैन । सरकारले निर्धारण गरेको मुआब्जा निकै कम भएको भन्दै स्थानीयले मुआब्जा रकम बढाउन माग गरेका छन् । स्थानीयको माग सम्बोधन गर्न इलाका प्रशासन कार्यालय बर्दिवासको नेतृत्वमा मुआब्जा निर्धारणका लागि उपसमिति बनाइएको छ ।  केन्द्रीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बर्दिवासमा निकै बढी मुआब्जाको माग भइरहेको र नेपाल सरकारले त्यति रकम दिन नसक्ने भन्दै बर्दिवासको स्टेसनको स्थान मुआब्जा विवाद नटुंगिए फेरबदल हुन सक्ने बताए । उनले हाल छलफल चलिरहेकाले तत्कालै केही भन्न नसक्ने भए पनि सरकारले आवश्यक देखे बर्दिवासको एक या दुई किलोमिटरपछाडि वा अगाडि स्टेसन बनाउन सक्ने जानकारी दिए । जयनगरदेखि बर्दिवाससम्मको रेलको दूरी ६९ किलोमिटर छ । 

ब्रोडगेज रेलको स्टेसन निर्माणमा चाहिने जग्गाको अभाव भएपछि जनकपुर स्टेसनलाई हल्ट बनाइएको छ । कुनै वेला मिथिलाकै राजधानीसमेत रहेको जनकपुर स्टेसनलाई विशेष आकर्षक बनाउन मिथिला पेन्टिङ भइरहेको छ । विश्वमै ख्याति कमाएको मिथिला पेन्टिङको थप प्रचार–प्रसार र राजधानीकै एक महत्वपूर्ण कलालाई विशेष रूपमा जनकपुरस्थित स्टेसनमा दर्शाइँदै छ । 

जयनगर–बर्दिवास रेलसेवा पूर्ण सुचारु भएपछि यस भेगका लाखाैँ जनता लाभान्वित हुनेछन् । जयनगरदेखि जनकपुर आउन रेलसेवा नहुँदा  विभिन्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हट्ने स्थानीय गणेशकुमार यादवले बताए । महिनाथपुर दर्जनौँ गाउँलाई जोड्ने केन्द्र भएको र यहाँका लाखौँ जनताको यातायातको मुख्य साधन रेल नै रहेकाले यस क्षेत्रको आर्थिक तथा अन्य विकासमा रेलसेवाले मद्दत पुग्ने उनको भनाइ छ । राम्रो बाटो नहुँदा बिरामीलाई जनकपुर तथा भारतका अस्पतालसम्म समयमै पु-याउन नसक्दा अकालमै दर्जनौँको मृत्यु हुने गरेको यादवले बताए ।

जयनगर–बर्दिवास रेल्वेले यात्रुहरूका साथै यस क्षेत्रको आर्थिक विकास गर्न सक्ने प्रचुर सम्भावनालाई मध्यनगर गर्दै इनरवामा मुख्य भन्सार कार्यालय स्थापना गर्नुपर्ने स्थानीयको माग छ । हाल छोटी भन्सार कार्यालय रहेकोमा त्यसले यस क्षेत्रको विकासमा सहयोग गर्न नसक्ने भन्दै मुख्य भन्सार भए भारतबाट ठूलो परिमाणमा सामग्री ल्याउन र व्यापार गर्न सहयोग पुग्ने खजुरीका स्थानीय रामपृत कापर बताउँछन् ।

जनकपुर रेल्वे नेपाल रेल्वेमा परिणत भइसक्दा विगतमा सञ्चालन भएको कोइला इन्जिन र डिजेल इन्जिन तथा पुरानो बोगीहरूलाई संरक्षित गर्नुपर्ने स्थानीयको भनाइ छ । प्रायः दुर्लभ कोइला इन्जिन इतिहास बोकेकाले तिनलाई प्रदर्शनीमा राख्न सके प्रदेश–२ मा धेरै पर्यटक भिœयाउन सकिने सम्भावना पनि छ । 
याज्ञवल्क लक्ष्मीनारायण विद्यापीठका मैथिली विभाग प्रमुख उपप्राध्यापक मुक्तिनाथ झा नेपालमा जनकपुर रेल्वेको आफ्नै इतिहास रहेको बताउँछन् । उनले मिथिलामा आउने पर्यटक र यहाँको भावी सन्ततिका लागि पुराना कोइला तथा डिजेल इन्जिनहरूको संरक्षण अति आवश्यक रहेको बताए । ‘यसले विगतमा कुन रूपमा नेपालको रेलको विकास भएको हो ? त्यो अध्ययनमा समेत सघाउ पुर्‍याउने भएकाले संरक्षण गर्न आवश्यक छ,’ उनले भने । प्रदेश सरकारले संग्रहालय बनाएर यसको संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

नेपाललाई रेलमार्गसँग जोडी यहाँको यातायात सहज बनाउन संघीय सरकारले भारत र चीनसँगको सहयोगमा विभिन्न रेलमार्गको सञ्जाल निर्माण गर्न लागेको छ । केन्द्रीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विभिन्न योजनामार्फत नेपालमा रेल सञ्जाल निर्माण भइरहेको र केही आयोजनाको डिपिआरसमेत भइरहेको बताए । आउँदो चार वर्षभित्र नेपालमा २८ सय किलोमिटर रेलमार्ग निर्माण गर्ने र १२ सय किलोमिटर सञ्चालनमै ल्याइसक्ने उनको भनाइ छ ।

नेपालमा सन् १९२७ मा ४६ किलोमिटर रक्सौल–अमलेखगन्ज सञ्चालन भएको पाइन्छ । यो रेल सन् १९६५ मा बन्द भएको थियो । त्यसपछि सन् १९३७ मा ५३ किलोमिटर जनकपुर–विजलपुरा रेललाइन सुरु भयो, जसको नाम जनकपुर रेल्वे राखियो । यसमा भारतमा तीन किलोमिटर र नेपालमा ५० किलोमिटर रेल लम्बाइ थियो । तत्कालीन ब्रिटिस सरकारले भारतमा शासन गरिरहेका वेला महोत्तरीको जंगलबाट सखुवा तथा अन्य काठ ओसार्न यो रेलसेवाको सुरुवात गरेको थियो । यसलाई पछि यात्रुहरूका लागि खुला गरिएको थियो । ०५९ सालको बाढीले विग्ही पुल क्षतिग्रस्त भएपछि जयनगरदेखि विजलपुरासम्मको रेलसेवा प्रभावित बन्यो । त्यसपछि जनकपुर–जयनगरसम्म सञ्चालन हुँदै आएको थियो । विगत ६ वर्षदेखि यो रेलसेवा पनि पूर्ण रूपमा बन्द छ । हाल सोही पुरानो सिंगल गेज संरचनालाई हटाएर ब्रोडगेज रेल विस्तार भइरहेको हो । 

कुन–कुन योजना बन्दै छन् ?
१. जयनगर–जनकपुर–बर्दिवास : ६९ किलोमिटरको जयनगर–जनकपुर–बर्दिवास रेलसेवा तीन चरणमा सम्पन्न गर्ने । यो रेलसेवा भारत सरकारको सहयोगमा निर्माण भइरहेकोमा इन्जिन र बोगी नेपाल सरकारले आफैँले किन्ने भएको छ ।
२. बथनाहा–जोगवनी–विराटनगर : १३ किलोमिटर रेल निर्माणको अन्तिम चरणमा रहेको छ । भारत सरकारको अनुदानमा उक्त रेललाइनको काम 
भइरहेको छ । 
३. पूर्व–पश्चिम लाइन : नेपाल सरकारले आफ्नै लागतमा मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्दै छ । यसलाई पूर्व–पश्चिम रेल नामले समेत चिनिएको छ । नौ सय ४५ किलोमिटरको यो रेलले नेपाललाई आर्थिक रूपले विकसित गर्न ठूलो सहयोग गर्नेछ । हाल बर्दिवास–सिमरा खण्डअन्तर्गत बर्दिवासदेखि सिमरासम्मको करिब ३५ किलोमिटर माटोको काम हुँदै छ भने प्याकिङ, पुल, कल्भर्ट निर्माण भइरहेको छ । 
४. रक्सौल–वीरगन्ज–काठमाडौं लाइन :  भारत सरकारको सहयोगमा हाल डिपिआर भइरहेको छ । यो योजनाले राजधानीलाई रेलको माध्यमले वीरगन्जसँग जोड्नेछ । यो रेमार्गले व्यापारिक दृष्टिकोणले नेपालको समृद्धिमा टेवा पु-याउनेछ । यसको कुल लम्बाइ एक सय ४२ किलोमिटर छ । 
५. नेपालगन्ज–रूपडिया : भारतीय बजार रूपैडियादेखि बाँकेको कोहलपुरसम्मको रेल्वे लाइन निर्माणको प्रक्रियामा छ । १६.५ किलोमिटर दूरी भएको रेल भारत सरकारको सहयोगमा निर्माण भइरहेको हो । पूर्वोत्तर रेल्वे गोरखपुरले खटाएको आके टेक्नो कन्सल्टेन्सीका प्राविधिक टोलीले यसको सर्भे सम्पन्न गरेर केही महिनाअघि नै सर्भे रिपोर्ट बुझाएको थियो । यो सिंगल लाइन रेल हुनेछ ।