३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

‘विदेश नजाऔं, पैसा यहीँ छ’

‘विदेश नजाऔं, पैसा यहीँ छ’
अ+ अ-

– तीर्थ भटृराई


आम्बासी, उदयपुर । हिजोआज धेरै युवा गरीबीका कारण धन कमाउन विदेश जान्छन् । आत्मविश्वास र लगनशीलता भए पैसा कमाउन विदेश जानुपर्दैन, देशमै राम्रो आम्दानी र इज्जतका साथ बस्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं १, आम्बासीका युवक कृष्ण बाँस्तोला ।

कृष्ण हिजोआज आम्बासीस्थित आफ्नै घरमा बसी केही जग्गा भाडामा लिएर पाते र डल्ले च्याउको खेती गर्छन् र सिन्धुली, बर्दिवास, काठमाडौँ, धरान, बसाहा, गाईघाटसम्म आफूले उत्पादन गरेको च्याउ बिक्रीका लागि पठाउँछन् । उनलाई बजारको कुनै समस्या छैन । यस पेशाबाट उत्साहित भएर उनी त अझै सुनसरी र धनकुटाको भेडेटारमा समेत आफ्नो च्याउखेती विस्तार गर्ने सुरमा छन् ।

आम्बासीमा भाडामा लिएको दुई ठाउँको दश/दश कट्ठा जग्गामा उनले २२ वटा टहरा बनाएर पाते र डल्ले च्याउको खेती गर्दैआएका छन् । उनको लगानी अहिलेसम्म १ करोड रुपैयाँ पुगिसक्यो र अझ विस्तार हँुदैछ । उनले उत्पादन गरेको डल्ले च्याउ रु ४०० प्रतिकिलो र पाते च्याउ प्रतिकिलो रु १५० मा बिक्री हुन्छ । उनी भन्छन् – “पूर्वाञ्चलमा डल्ले च्याउको खेती गर्ने त उनी नै पहिलो किसान हुन् ।”

पारिवारिक स्थिति दयनीय र केवल ५ कक्षासम्म मात्र पढेका उनी कोइलाखानीमा काम गर्न भारतको मेघालयस्थित खसिया हिल गइरहन्थे । यसबाट घरको आर्थिक अवस्था खासै सुध्रिएको थिएन ।

विसं २०६८ मा उनी कतार गए । त्यहाँ नेपालीले भोगेको हेपाइ, कष्ट, अन्याय, अत्याचार सबै देखेका उनी त्यहाँ एक वर्ष पनि टिक्न सकेनन् । यति दुःख गर्दा त आफ्नै देशमा धेरै काम गर्न सकिन्छ भनेर तत्काल नेपाल फर्के । उनी भन्छन् – “कतारमा बस्दा नेपालीले पाएको दुख देख्दा विरक्त लाग्यो ।”

घर फर्कंदा ऊसँग पैसा होइन कतार जाँदाको ऋण मात्र थियो । उनको अनुभव छ, ५०० रुपैयाँ पनि कसैले ऋण पत्याएनन् । कतारबाट फर्केर उनले कुखुरापालन व्यवसाय पनि गरे तर, धेरै कुखुरा मरेपछि त्यसबाट पनि खासै लाभ भएन । ऋण धेरै लागेकाले त्यो ऋण तिर्न २०७० जेठमा फेरि उनी मेघालय गए । त्यहाँ खानी भित्रै लडे र संयोगले बाँचे । कसैले उद्धार गरेर बाहिर ल्याइदियो । पछि उनका बुबा पनि भारतमै भएकाले आएर उपचार गराइदिए । घर फर्केपछि उनलाई ८० वर्षीय हजुरबुबाले पनि धरानको घोपामा थप उपचारको प्रबन्ध गरिदिए ।

यसैबीच, मलेशियाको प्रवेशाज्ञा नमिलेकामा उड्ने बेलामा ३० जनामध्ये उनको मात्र टिकट रद्द गरियो । टाउकोमा तथा हातमा चोट भएकाले यस्तो मान्छेले काम गर्न सक्दैन, पठाउन मिल्दैन भनेर मेनपावरले उनलाई रोकिदियो । उनले गोजीमा रु १० नहुने दिन पनि गुजारे । “साइकल मर्मत गर्न रु ५० पनि हुँदैनथ्यो, दुःख पर्दा रु ५ पनि कसैले पत्याउँदैनथ्यो,” उनी सम्झन्छन् ।

उनले २०६९ सालदेखि च्याउखेती शुरु गरे तर शुरुमा खासै राम्रो भएन । पछि २०७१ चैतमा पुनः ऋण गरेर अशक्त हातले रु ९ हजार लगानी गरेर २०० पोका च्याउ लगाएपछि भने त्यसबाट पहिलो चोटि रु ६५ हजार नाफा भयो ।

एक वर्ष अगाडि सप्तकोशी एफएम सुन्दै गर्दा त्यहाँ च्याउको बीउ चाहिएमा सम्पर्क गर्नू भनी बजाइएको विज्ञापन सुने र बुझ्दै जाँदा काठमाडौँको नागार्जुन नगरपालिकामा ऋषिलाल तामाङको च्याउ फार्ममा पुगे । त्यसपछि भने उनको भाग्य बदलियो ।

उनी भन्छन् – “ऋषिलाल तामाङको सहयोगले आज म यो ठाउँमा छु । तामाङ च्याउखेती गरेर उत्कृष्ट किसानको पुरस्कार पाइसकेको हुनु हुँदोरहेछ । उहाँले मलाई धेरै कुरा सिकाउनुभयो । उहाँले १५/ १६ लाखको त बीउ नै दिनुहुन्छ, उहाँ धेरै हौसला दिनुहुन्छ ।” उनी तामाङलाई देवता सरह मान्छन् । तामाङले एकजना प्रविधिज्ञ पनि पठाइदिएको उनी सुनाउँछन् ।

कृष्ण भन्छन् – “काम गर्दा जोखिम हुने रहेछ तर, जोखिमसँग कसरी सामना गर्नुृपर्छ भन्ने बुझिसकेँ ।” उनले आम्बासीको वगाहा टोलमै हिमाली च्याउ उद्योग खोलेपछि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको लघुउद्यम विकास कार्यक्रममार्फत पनि च्याउ खेतीबारे तालीम प्राप्त गरेको युएनडिपीका प्रदेश १ र २ का संयोजक धनबहादुर चन्दले जानकारी दिए । “हाल बाँस्तोला बैँक तथा वित्तीय संस्थाको विश्वास प्राप्त एक असल ऋणी भैसकेका छन्, सबैले उनलाई विश्वास गर्दछन्,” उहाँ भन्नुहुन्छ ।

भोजपुरको देवन्टारमा जन्मेका ३० बर्षीय बाँस्तोलाको प्रगति अपत्यारिलो छ । उनी अब बोयर जातको बाख्रापालन, भैँसीपालन तथा वर्णशङ्कर घाँस पनि उत्पादन गर्ने योजनामा छन् । उनको खेतीमै उत्पादित च्याउबाट उदयपुरको गाईघाटमा च्याउको मो मो पनि बनाएर वेच्न थालिएको छ र ग्राहकले पनि त्यसलाई रुचाएका छन् ।

उनी भन्छन् – “अब त भिसा लागे पनि विदेश जान्न । मलाई त कोरिया, जापान, अमेरिका यहीँ छ ।” हुन पनि उनले २२ वटा टहरामा गरेको च्याउ व्यवसायबाट वार्षिक रु ६०÷७० लाख रुपैयाँ बराबरको उत्पादन हुन्छ । सबै खर्च कटाएर पनि वार्षिक रु १०÷१२ लाख आम्दानी हुन्छ । उनले १५÷१६ जनालाई प्रत्यक्ष र अन्य समेत गरी ३५ जना जतिलाई रोजगारी दिएका छन् ।

उनलाई विकास सहजीकरण सञ्जाल ९डिफान०, गाईघाटका अध्यक्ष सी एम गुरागाईंले पनि सहयोग गरे । माइक्रो फाइनान्सका विनयभूषण चौधरीले सहयोग गरेको उल्लेख गर्न पनि उनी भुल्दैनन् । उनलाई नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकले पनि घरेलु मार्फत सहयोग गरेका थिए । डिफानले पहिलो पटक उनलाई प्रशिक्षक बनाएर धनकुटा पठाई तालीम दिन लगाए । पहिलोपटक आफूलाई प्रशिक्षार्थीहरुले ‘सर’ भनेर सम्बोधन गर्दा धेरै खुशी लागेको अनुभव उनले सुनाए ।

सुनसरी जिल्लाको नरहामा पनि च्याउ खेती विस्तार गर्ने उनको योजना छ । भेडेटार जस्तो बा¥है महिना चिसो मौसम हुने स्थानमा पनि च्याउ खेती गर्न उनी चाहन्छन् ।

उनलाई बर्दिया जिल्ला बाँसगढी–३ का दिनेशकुमार थारुले प्राविधिक सहयोग गरेका छन् । बाँस्तोलालाई पत्नी बालकुमारी बस्नेतले पनि च्याउ खेतीमा सघाउँछिन् । उनी भन्छिन् – “उत्पादन गरेपछि बेच्न गाह्रो छैन ।”

दिनहूँ विदेश जाने युवालाई लक्ष्य गर्दै बाँस्तोला भन्छन् – “कामले नै विज्ञ बनाउँछ । यदि तपाई विदेश जाने सुरमा भौँतारिई रहनुभएको छ भने आउनुहोस् म सहयोग गर्छु । पैसा यहीँ हुँदोरहेछ, कृषिमै कमाइ हुन्छ । आश बोकेर जानेहरु लाश बनेर फर्केका छन्, विदेश नजाऔँ ।”