![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/japanese-ambassador-saigo-with-minister-gokarna-bista.jpg)
काठमाडाैंः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
नेपालका लागि जापानी राजदूत मासामिची साइगोले साेमबार मन्त्री विष्टसँग गर्नुभएको शिष्टाचार भेटमा मन्त्री विष्टले कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रकृयाद्वारा कामदारको छनोट पारदर्शी रुपमा हुनुपर्ने बताउनुभएकाे मन्त्रीकाे निजी सचिवालयले जनाएकाे छ ।
नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा विचौलियाको ठगीमा नपरून् भन्ने विषयमा सरकार सजग रहेको समेत उहाँले बताउनुभयो । सो अवसरमा उहाँहरुबीच दुवै देशको पारस्पारिक हित अनुकूल उपयुक्त विधि, प्रकृया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापान कामदार पठाउने प्रकृया अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।
भेटमा राजदूत साइगोले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रकृयाद्वारा जापान पठाउने सन्दर्भमा जापान सरकारको धारणा सकारात्मक रहेको बताउनुभएको थियो । उहाँले नेपाली कामदारलाई जापान लैजाने विषयमा कार्य अघि बढिसकेको जानकारी गराउनुभएको थियो ।
नेपाली कामदारलाई जापान लैजाने विधि र प्रकृयाका बारेमा छलफल गर्न जापानबाट प्राविधिक समूह आगामी माघमा नेपाल आउँदैछ ।