• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

नेपाल–जापान सिधा हवाई सेवा सञ्चालनका निम्ति समझदारी, नेपाल एयरलाइन्सले सिधा उडान गर्न पाउने



जापानका विदेशमन्त्री तारो काेनो र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली परस्पर सहयाेगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पश्चात दस्तावेज अादानप्रदान गर्दै । तस्वीरः प्रदीपराज वन्त, रासस

काठमाडौँ : करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।

हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा हवाई सम्पर्क स्थापना गर्न मार्ग प्रशस्त भएको छ । अब दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् ।

त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भएको छ । दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र साझेदारी प्रवद्र्धनका निम्ति उक्त संयन्त्रले मार्गनिर्देश गर्नेछ ।

नेपाली श्रमिक जापानमा रोजगारीमा पठाउनेसम्बन्धी श्रम समझदारी शीघ्र सम्पन्न गर्न पनि दुवै मुलुक सहमत भएका छन् । परामर्श संयन्त्रले नेपाल–जापान सम्बन्धका सबै पक्ष र आयाममा बृहत् छलफल गर्नुका साथै सहायताका नयाँ क्षेत्र पहिल्याउनेछ । साथै आपसी हित र स्वार्थका साझा मामिला तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदानका लागि सेतुको भूमिका निर्वाह गर्नेछ ।

मन्त्रिस्तरीय परामर्श संयन्त्र स्थापनासम्बन्धी सहमतिपत्रमा दुवै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षरपछि आदानप्रदान गर्नुभयो भने मन्त्रीद्वयको उपस्थितिमा हवाईसेवा सम्झौता पुनरावलोकनसम्बन्धी सहमतिपत्रमा परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्नुभएको थियो ।

बैठकपछि पत्रकारहरूलाई संयुक्तरुपमा सम्बोधन गर्दै दुवै देशका परराष्ट्रमन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासका मेरुदण्ड मानिएका भौतिक पूर्वाधार निर्माणमा जापानी सहायताको निरन्तरता, प्राथमिकताका क्षेत्रमा जापानी लगानी तथा आगामी चैतको अन्त्यमा आयोजना हुने लगानी सम्मेलनमा जापानी लगानीकर्ता र उद्यमीको सक्रिय सहभागितालगायत विषयमा विचारविमर्श भएको जानकारी दिनुभयो ।

जापान सरकारको नयाँ आप्रवासन नीतिअनुरुप त्यहाँको श्रम बजारमा नेपाली कामदार पठाउनेबारेमा पनि आफूहरूबीच छलफल भएको मन्त्रीद्वयले बताउनुभयो ।

पर्यटन प्रवद्र्धन तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन जापान र नेपालले साझेदारी गर्नेबारेमा पनि बैठकमा छलफल भएको मन्त्री ज्ञवालीले बताउनुभयो ।

मन्त्री कोनोले नेपाल र जापानबीच चाँडोभन्दा चाँडो हवाई सम्पर्कबाट जोडिने विश्वास व्यक्त गर्दै त्यसले जापानी पर्यटक नेपाल भित्र्याउन तथा व्यापार–वाणिज्य प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन प्रत्यक्ष हवाई सेवाबाट मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


नेपाल सरकारका विकास–निर्माणका प्राथमिकता, आर्थिक विकासको लागि सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरू, कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, ऊर्जा उत्पादन‚ पूर्वाधार विकास, पर्यटन तथा मानव स्रोतको विकासमा जापानी सरकारको सहयोगबारे पनि बैठकमा छलफल भएको थियो ।

वर्तमान सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई सफल पार्न तथा आर्थिक रुपान्तरणका कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्न जापानी सहयोगको अपरिहार्यतामा बैठकमा जोड दिइएको थियो भने अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति गर्ने अर्को लक्ष्य साकार पार्न पनि जापानी सहायता अभिवृद्धिमा नेपालले जोड दिएको थियो ।

सन् २०३० सम्ममा मध्यमआययुक्त देशका रुपमा विश्व मानचित्रमा नेपाललाई चिनाउन जापानले निःशर्त निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरेको बैठकमा सहभागी एकजना अधिकारीले राससलाई बताए ।

बैठकमा भूकम्पपछिको पुनःनिर्माण, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार, प्रविधि हस्तान्तरण, गरीबी निवारण, जलवायु परिवर्तन, सूचना प्रविधि, पर्यटन, विपद् व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।