१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपतकाल घोषणा तत्काल नगर्ने राष्ट्रपतिको घोषणा



अ+ अ-

वासिंटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संघीय कार्यालयहरु आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने बताएका छन् ।

बजेट अभावमा धेरैवटा अमेरिकी संघीय कार्यालय बन्द भएको आइतबार २३ दिन पुगिसकेको छ । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न माग गरेको करिब ६ अर्ब अमेरिकी डलर बजेट संसदले पारित नगरे बजेट नै स्वीकृत नगर्ने अडान राख्दै आएका छन् ।

तर, अमेरिकी तल्लो सदनमा बहुमतमा रहेको विपक्षी डेमोक्र्याट पार्टीले पर्खाल निर्माणका लागि राष्ट्रपतिले माग गरेको रकम कुनै पनि हालतमा पारित गर्न नसक्ने बताएका छन् । उनीहरुले पर्खाल निर्माणको कार्य ‘अनुत्पादक र खर्चिलो’ भन्दै मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीबाट अमेरिकाको आन्तरिक सुरक्षामा कुनै खतरा नरहेको दाबी गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले भने मध्य अमेरिकी मुलुकबाट अमेरिका प्रवेश गरेका आप्रवासीका कारण अमेरिकाको आन्तरिक सुरक्षामा ठूलो खतरा रहेको बताएका छन् । उनले मध्य अमेरिकाबाट लागूऔषध भित्रिएको, हत्याहिंसा बढेको, सामाजिक विकृति र विसंगति बढेको आरोप लगाउँदै आएका छन् ।

आपतकालीन स्थिति घोषणा गरी बजेट छुट्याउन किन ढिलाई गरेको भनी फक्स न्यूजले राखेको जिज्ञासामा राष्ट्रपति ट्रम्पले भने, ‘म विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदलाई अझै केही समय दिन चाहन्छु । मेरो विचारमा उनीहरुले अवश्य जिम्मेवारीका साथ निर्णय लिनेछन् ।’

अमेरिकामा संघीय कार्यालयहरु बजेट अभावमा यति लामो अवधिसम्म बन्द भएको यो पहिलो घटना हो । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा सन् १९९५–९६ मा २१ दिनसम्म अमेरिकी संघीय कार्यालयहरु बन्द भएका थिए ।

राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्ताव ठीक रहेको भन्दै शनिबार धेरैपटक ट्वीट गरेका थिए । दक्षिणी सीमामा जारी ठूलो मानवीय सङ्कट अन्त्य गर्न पनि बजेट आवश्यक रहेको उनको भनाइ छ ।

‘डेमोक्र्याट सांसदहरुले यो समस्या १५ मिनेटमा सुल्झाउन सक्छन्,’ उनले एउटा ट्वीटमा भनेका छन् ।

लगत्तै अर्को ट्वीटमा उनले भनेका छन्, ‘डेमोक्र्याट साथीहरुलाई पर्खेर हामी ह्वाइट हाउसमा बसेका छौं । हामी पनि लामो छुट्टीमा जान चाहन्छौं । म पर्खाल सहितको बजेटमा हस्ताक्षर गर्न ह्वाइट हाउसमा प्रतिक्षारत छु ।’

बजेट स्वीकृत नभएको परिणामस्वरुप आठ लाख कर्मचारी तलबविहीन भएका छन् । बजेट अभावमा संघीय जाँच ब्यूरो, एयर ट्राफिक कन्ट्रोलर र संग्रहालयमा कार्यरत कर्मचारीले शुक्रबार तलब पाएनन् ।

ह्वाइट हाउसमा शुक्रबार भएको एक बैठकमा राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘यदि डेमोक्र्याटले बजेट पारित नगर्ने हो भने म राष्ट्रिय आपतकाल घोषणा गर्नेछु । मसँग त्यस्तो घोषणा गर्ने पूर्ण अधिकार छ ।’

ट्रम्पले उक्त कदम आफ्नै लागि घातक हुने थाहा पाएका छन् किनभने त्यस्तो कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्ने निश्चित छ । विपक्षी डेमोक्र्याट पार्टीले राष्ट्रपतिबाट बिना आधार आपतकाल घोषणा गरिए त्यो राष्ट्रपतिबाट संविधान उल्लङ्घनको घटना हुने बताउँदै आएका छन् । (एजेन्सी)