८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो कस्तो ज्यादती ? नेपाली भूमिमा भारतीय प्रचार बोर्ड



अ+ अ-

लुम्बिनी — लुम्बिनी गुरुयोजनाभित्रै भारतीय ठेगाना उल्लेख भएका बोर्ड झुन्ड्याएर बिहार निर्माणको काम धमाधम भइरहेको छ । त्यसले राष्ट्रियताकै खिल्ली उडाए पनि लुम्बिनी विकास कोष मौन छ । जापानको सोक्यो संस्थाद्वारा डब्लूए २ प्लट नम्बरको १ सय ६० वाई, १ सय ६० मिटर जग्गामा रहेको निर्माणस्थल अगाडि नै बोर्ड राखिएको हो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा मन्दिर निर्माण भइरहेको छ । तर, बोर्डमा भारतीय झन्डासहित ठेगाना पनि भारत नै लेखिएको छ । सोक्यो कोअपरेसन ट्रस्ट लेखिएको बोर्डमा जापान र भारतको संयुक्त झन्डा छ । ६ महिनादेखि झुन्डयाइएको बोर्डमा ककरहवा, सिद्धार्थनगर यूपी उल्लेख छ ।


सार्वजनिक रूपमा राखेको राष्ट्रियताविरोधी बोर्ड कोष कर्मचारीले हटाउन नसक्नु उसको गैरजिम्मेवारी भएको स्थानीय बताउँछन् । लुम्बिनीमा ६ सुरक्षा दस्ता परिचालित छन् । नेपाल, सशस्त्र, दंगा र पर्यटक प्रहरी । त्यसमाथि लुम्बिनी विकास कोष र वीर गोर्खा सेक्युरिटीका सुरक्षाकर्मीसमेत गरी २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालित छन् ।

तर, कसैले पनि भारतीय बोर्ड हटाउनेतर्फ ध्यान नदिँदा शंका उब्जिएको छ । ‘कुन देशमा काम गर्दैछौं भन्ने जानकारी नै नहुनेलाई किन काम गर्न दिनू,’ कोषकै एक कर्मचारीले भने, ‘कोष पनि निरीह बनेको छ ।’ राष्ट्रियतासँग जोडिएको कुराबारे हेलचेक्र्याइँ गर्नेलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

लुम्बिनीका विहार/मन्दिरभित्र कुनाकुनामा दलाई लामाका तस्बिर राखे हटाउन पुग्ने कोष अधिकारीले सार्वजनिक रूपमा राखिएको बोर्ड देख्न नसक्नु विडम्बना भएको स्थानीले बताए । भ्रमणमा आउने पर्यटक भारतीय बोर्ड देख्दा अलमलमै पर्ने गरेका छन् । कान्तिपुर दैनिकमा यो समाचार छ ।