२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिकामा पक्की सडक निर्माण शुरु



अ+ अ-

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा भित्री सडक निर्माणको कामलाई तीब्रता दिन थालिएको छ । गाउँपालिका–६ पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहर चोक जोड्ने लिङ्करोड निर्माण शुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष रामनिवास यादवका अनुसार नेपालगञ्ज–गुलेरिया हुलाकी सडकमा जोड्ने गरी सात मिटर चौडा र सातै किलोमिटर लम्बाइको पक्की भित्री सडक निर्माण गर्न लागिएको हो । “गाउँपालिकाको गनापुर क्षेत्रमा उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालवाहक सवारीसाधन हिँड्न कठिनाइ हुँदै आएको छ”, अध्यक्ष यादवले भन्नुभयो, “यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारीसाधन आवागमनमा सजिलो हुनेछ ।”

गनापुरको पूर्वी क्षेत्रमा रहेका उद्योगले नेपालगन्ज–कोहलपुर सडक प्रयोग गर्दै आएपनि पश्चिमतर्फ भित्री भागमा रहेका उद्योगलाई यो सडक निर्माणपछि सवारी साधन आवागमनमा सहज हुनेछ ।

सिक्टा सिँचाइको नहरसमेत यही सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गाधनीबाट चार मिटर जमीन प्राप्त गरी सात मिटर चौडाइको सडक निर्माण शुरु भएको उहाँले बताउनुभयो । “हामीले यो सडकलाई गाउँपालिकाको चक्रपथका रुपमा प्रस्ताव गरेका थियौँ, तर चक्रपथको मापदण्डमा १२ मिटर चौडाइको हुनुपर्ने भएकाले अहिलेलाई भित्री सडकका रुपमा निर्माण शुरु गरेका छौँ”, अध्यक्ष यादवले भन्नुभयो ।

गाउँपालिकाको करीब रु डेढ करोड र सङ्घीय सरकार सांसद विकास कोषको रु डेढ करोड गरी रु तीन करोडको लागतमा यो सडकको निर्माण शुरु भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले जानकारी दिनुभयो ।