२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्मा पहिलोपटक प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उनले सरकार कुनै पनि प्रकारको अनियमितताप्रति सहिष्णुता नहुने बताए ।

पहिलो प्रश्नकर्ता सांसद खगराज अधिकारीले कालो धनलाई सेतो बनाउने र गैरकानूनीरुपमा विदेशमा लगानी भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारका बारेमा सरकारको जवाफ माग गरेका थिए ।

उत्तरमा प्रधानमन्त्री ओलीले भने, “देशलाई घाटा र नोक्सान पार्ने काममा कुनै सहिष्णुता हुँदैन, यस्ता कार्य नियन्त्रण गर्न कानून कार्यान्वयनमा सरकार प्रतिबद्ध छ । समाचारबाट त्यसबारेमा जानकारी पाएका छौँ ।” यस सम्बन्धमा आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाइ सरकार कानूनबमोजिम अघि बढ्नेछ । कानूनविपरीत लगानी गरेको सम्बन्धमा सरकार सजग रहेको र यसमा सरकारको ध्यान गएको प्रधानमन्त्री ओलीले बताए।

दोस्रो प्रश्नकर्ताका रुपमा सांसद डा मीनेन्द्र रिजालले नेपालको राजनीतिमा महत्वपूर्ण योगदान पुर्याउनुभएका पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल सरकारले विघटन गर्ने तयारी गरेको हो भनी प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले आफूले यससम्बन्धी काङ्ग्रेसका नेतासँग छलफल भइरहेको बताउँदै सुशील कोइरालाको नामसँग जोडिएको बाँकेको अस्पतालमा केही विवाद रहेको र त्यसलाई समाधान गरी कसरी अघि बढाउने भन्नेमा सचेत रहेको बताए ।

साथै गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा रहेको अस्पताल श्वासप्रश्वासमा मात्रै नचल्ने देखिएकाले त्यसलाई राम्रो चल्ने गरी कसरी अघि बढाउने सम्बन्धमा आफूले छलफल अघि बढाएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले ती दुई अस्पताल मास्ने वा समाप्त पार्ने सरकारको कुनै योजना नभएको बताए।