२७ मंसिर २०८२, शनिबार
,
Latest
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवेणीघाटमा एक महीने माधवनारायण मेला आजबाट शुरु



अ+ अ-

भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको एक महीने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको छ ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना लाग्ने माधवनारायण मेला आज बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी दिनुभयो ।

यो मेला भक्तपुरमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको मानिन्छ । साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको उहाँको भनाइ छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पूजारी शर्माले जानकारी दिनुभयो ।

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख गरिएको बताउँदै उहाँले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको उहाँको भनाइ थियो ।

बर्तालुले खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एक महीने व्रत समापन गर्ने परम्परा रहेको छ ।

बर्तालुहरू त्रिवेणीघाटमा महीना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने परम्परा रहेको छ । भूकम्पले भत्काएको यहाँको भौतिक संरचना पुनःनिर्माण जारी रहेकाले बर्तालुलाई यही बस्ने व्यवस्था यस वर्ष गर्न नसकिएको माधवनारायण व्यवस्थापन समितिले जनाएको छ ।

बर्तालुहरूले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणी खोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ ।

राम, लक्ष्मण वनबास आउँदा दही चिउरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवं हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाट भन्ने प्रचलन रहेको छ ।