• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

सत्तारुढ दल नेकपामा किचलो, नेता-कार्यकर्ता जिम्मेवारी बिहीन



काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकताका लागि गठन भएको कार्यदलमा सहमति हुन नसक्दा झन् पर धकेलिँदै गएको छ । कार्यदलकै बीचमा सहमति नभएपछि कार्यदलले कुनै निर्णय गर्न नसक्दा एकता पर धकेलिँदै गएको हो । राजधानी दैनिकमा खबर छ ।

तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का बीचमा पार्टी एकता भई नेकपा भएको यही ३ माघमा आठ महिना पुगेको छ । पार्टी एकताको बाँकी काम टुंगो लगाउन १२ पुसमा सम्पन्न स्थायी कमिटीको बैठकले गठन गरेको कार्यदलले समयमै काम गर्न नसकेपछि हजारौं नेता–कार्यकर्ताले कुनै जिम्मेवारी पाउन सकेका छैनन् ।

बैठकले केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, जिल्ला कमिटीसहित जनवर्गीय संगठन, विभाग एवं आयोगको एकता टुंगो लगाउने जिम्मेवारी कार्यदललाई दिएको थियो । पार्टी एकता भएको आठ महिनामा केन्द्रीय कमिटी, सचिवालय र प्रदेश कमिटी गठन भएको थियो । स्थानीय तहसहित विभिन्न कमिटीको टुंगो लाग्न नसक्दा हजारांै नेता–कार्यकर्ता जिम्मेवारीविहीन भएका छन् । नेता–कार्यकर्ता जिम्मेवारीविहीन मात्रै भएका छैनन्, पार्टीको कामसमेत स्थानीय स्तरमा हुन सकेको छैन ।

कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्न पुस मसान्तसम्मको समय दिइएको थियो । तर, पुस मसान्तभित्रै पार्टी एकताको काम कार्यदलले टुंगो लगाउन सकेन । प्रदेश कमिटी हेरफेर विषयमा विवाद भएपछि कार्यदलले केही निर्णय गर्न सकेको छैन । कार्यदलका एक सदस्यका अनुसार कार्यदलले पाएको जिम्मेवारी पूरा गर्न अझै समय लाग्ने जनाएका छन् ।

बैठकमा भएका कुरा मिडियालाई जानकारी नगराउने सहमति गरेपछि कोही खुलेर मिडियासमक्ष प्रस्तुत हुन सकिरहेका छैनन् । बैठकका छलफलका विषय गोप्य राख्ने सहमति उनीहरूले गरेका छन् । सहमति पछि टुंगो लागे मात्रै मिडियालाई जानकारी गराउने उनीहरू बताउँछन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा सचिवालयले पार्टी एकता टुंगो लगाउन नसकेपछि स्थायी कमिटी बैठकबाट छुट्टै कार्यदल गठन भएको थियो । १२ पुसमा सम्पन्न पार्टी स्थायी कमिटी बैठकले नौ सदस्यीय कार्यदल गठन गरेको थियो । तर, कार्यदलको बैठक बस्दा एकताको टुंगो लगाउने विषयमा सहमति हुन नसकेको एक सदस्यले बताए ।

नौ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ छन् । यो कार्यदलले पुस मसान्तभित्रैमा पार्टी एकताको गृह कार्य गरी प्रतिवेदन बुझाउने गरी पटक–पटक बैठक ग¥यो । तर, माघमा सुरु भए पनि एकता टुंगो लगाउने मिति कार्यदलले फेला पार्न सकेको छैन ।

अहिलेसम्म केन्द्रीय कमिटी, सचिवालय, स्थायी कमिटी र प्रदेश कमिटीको मात्रै टुंगो लागेको छ । बाँकी कमिटीको टुंगो लगाउने विषयमा छलफल चलिरहेको छ । तर, कार्यदलकै नेताका बीचमा सहमति हुन सकेको छैन । प्रदेश कमिटीमा हेरफेर गर्ने प्रस्ताव आएपछि बैठकमा टुंगो लाग्न नसकेको हो । कार्यदलमा सहभागी एक सदस्यका अनुसार कार्यदलको बैठक बसे पनि एकताको विषयमा कुनै टुंगो लाग्न सकेको छैन ।

कार्यदलको बैठकमा पार्टी महासचिव समेत रहेका पौडेल र प्रदेश ५ का मुख्यमन्त्री एवं पार्टी इन्चार्ज रहेका शंकर पोखरेल प्रदेश कमिटी हेरफेर प्रस्तावमा सहमत नभएपछि कार्यदल अलमलमा परेको छ । पौडेल र पोखरेललाई तत्कालीन माओवादीतर्फका थापा, पुन र भट्टले समर्थन जनाउँदै प्रदेश कमिटी हेरफेर नगर्न सुझाव दिएका छन् ।

तर, अन्य सदस्यले प्रदेश कमिटीमा मापदण्ड, विधि एवं पद्धतिद्वारा योग्यलाई जिम्मेवारी नदिएको, केही नेतालाई दोहोरो जिम्मेवारी दिएकोलगायतका विषय राख्दै प्रदेश कमिटी हेरफेर गर्नुपर्ने अडान लिएका छन् । प्रदेश कमिटी हेरफेर विषयमा कुनै निर्णय गर्न नसकेको कार्यदलले अन्य तहको कमिटी निर्माणबारे टुंगो लागेको छैन । गृहमन्त्रीसमेत रहेका थापाले पुस मसान्त वा ढिलोमा माघको पहिलो साताभित्रमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने बताएका थिए । पार्टी एकता कार्य टुंगो लगाउनमा ढिलाइ भएको बताउँदै उनले एकताको बाँकी काम छिट्टै टुंगो लाग्ने बताए ।

कार्यदलले तीव्र गतिमा काम गरिरहेको बताउँदै उनले छिट्टै नै केन्द्रदेखि स्थानीय तहसम्मका नेताले जिम्मेवारी पाउने बताए । विभिन्न कमिटीको टुंगो लाग्न नसक्दा कतिपय नेता जिम्मेवारीविहीन भएको बताउँदै उनले पार्टीले सबै नेतालाई जिम्मेवारीसहित पार्टी र जनताको काममा खटाउने बताए ।

कार्यदल सदस्य बेदुराम भुसालले एकताको बाँकी काम छिट्टै टुंगो लाग्ने बताए । कार्यदलमा छलफल चलिरहेको बताउँदै उनले छिट्टै नै टुंगो लाग्ने बताए । कार्यदलले आफ्नो काम गरिरहेको र कुनै समय सीमा नतोकिएकाले काम गर्दै जाँदा टुंगो लाग्ने उनले बताए ।